ज्योतिष निरूपण : भ्रमका हिमायती र यथार्थबीचको दूरी

सृष्टिका दुई मूल तत्त्व छन् सूर्य र प्रकृति । सूर्य प्रकाशको मुख्य स्रोत हो र प्रकृति गुणहरूको (सत्त्व, रज र तम) आधार हो । “द्युतते इति ज्योतिः” अर्थात् जुन कुरा आफैं चम्किन्छ, त्यो ज्योति हो । वेदमा भनिएको छ “सूर्यो ज्योति:” । ज्योति र ज्योतिषबीच कुनै भिन्नता छैन, जसरी सूर्य र उसको प्रकाशमा भिन्नता छैन । जसले सूर्यलाई बुझ्छ, ऊ साँचो ज्योतिषी हो । जसले प्रकृतिलाई बुझ्छ, ऊ पनि ज्योतिषी हो । सूर्यमा ज्योति (स्वप्रकाश) छ भने चन्द्रमाबाट परप्रकाश (ज्योत्स्ना) पाइन्छ । ज्ञान पनि त्यस्तै ज्योति हो जसले अन्धकार अर्थात अज्ञान हटाउँछ ।

प्रकृतिले निरन्तर रूपमा कर्मद्वारा बोल्छ, उसको भाषा क्रियात्मक हुन्छ । ऋषि–मुनिहरूले प्रकृतिका यस्ता कार्यहरूको अध्ययन गरी त्यसलाई शास्त्रीय रूपमा प्रस्तुत गरे, त्यो नै ज्योतिषशास्त्र हो । जसले मन र बुद्धिलाई संयमित गर्न सक्छ, त्यही शास्त्र कहलिन्छ । त्यसैले ज्योतिष सबै शास्त्रमध्ये अग्रस्थानमा मानिन्छ ।

सूर्य, चन्द्र, पृथ्वी, बुध, शुक्र, मंगल, गुरु, शनि र राहु–केतुका प्रभावहरूलाई आधार मानेर प्राचीन ऋषिहरूले ग्रह-नक्षत्रजन्य ज्योतिषको आविष्कार गरे । यसको मूल सिद्धान्त बीजजस्तै हो, संहिता तना (वर आदि रुखका हाँगादेखि फेदसम्म झरेका वा लट्केका जरा) हो र फलित (भविष्यवाणी) त्यसको फल हो । फलविहीन वृक्षजस्तै फलितविनाको ज्योतिष पनि व्यर्थ हुन्छ । फलित नै व्यवहारिक ज्योतिष हो, जसले मानिसको जीवनमार्ग देखाउँछ ।

ज्योतिषको उद्देश्य केवल बाह्य ऐश्वर्य होइन, आत्मज्ञान हो । मानिसले सबैभन्दा पहिले आफ्नो लग्न जान्नुपर्छ (जन्मसमयमा पूर्वक्षितिजमा उदाएको राशि ।) त्यस्तै चन्द्रमा रहेको राशिलाई चन्द्रलग्न भनिन्छ । यी लग्नहरूको अध्ययनबाट मानिसले आफ्नै प्रकृति र कर्मको ज्ञान पाउँछ र त्यसअनुसार जीवनमा मोक्षमार्ग प्रशस्त हुन्छ ।

नवग्रह, द्वादशभाव र द्वादश राशिहरू मिलेर ज्योतिष पुरुषको शरीर बन्ने गर्छ । सूर्य आत्मा हो, चन्द्रमा मन हो अनि यी सबै ग्रहहरूको गति कालका रूपमा अनुभव हुन्छ । राहु-केतु वक्री (उल्टो दिशा)मा चल्ने छायाग्रह हुन्, जसले गहिरो प्रभाव पार्छन् । केतु प्रकाश र ज्ञानको प्रतीक हो भने राहु अन्धकार र भ्रमको प्रतीक हो ।

देवग्रह र दैत्यग्रह गरी ग्रहहरू दुई वर्गमा विभाजित छन् । सूर्य, मंगल, बृहस्पति, शुक्लपक्षको चन्द्रमा र केतु देवग्रह हुन् भने शुक्र, शनि, बुध, राहु र कृष्णपक्षको चन्द्रमा दैत्यग्रह हुन् । चन्द्रमा मनको प्रतीक भएकाले कहिले देवतुल्य त कहिले दैत्यगुणयुक्त हुन्छ ।

ज्योतिषको मुख्य ध्येय आत्म-परिचय हो । सुपात्रलाई सबै प्राप्त हुन्छ, कुपात्रलाई केही पनि हुँदैन । यो सत्यलाई कसैले अस्वीकार गर्न सक्दैन ।

आयु र ग्रहहरूको सम्बन्ध
मानवको औसत आयु १२० वर्ष मानिएको छ । प्रत्येक ग्रहले निश्चित वर्ष प्रदान गर्छ – सूर्य ६, चन्द्र १०, मंगल ७, राहु १८, गुरु १६, शनि १९, बुध १७, केतु ७ र शुक्र २० । यी सबैको योग १२० वर्ष हुन्छ । आयुको विस्तार र संकुचन कर्मअनुसार हुन्छ – सुकर्मले आयु बढाउँछ र विकर्मले घटाउँछ । उदाहरणका लागि फ्रान्सका आर्ल्समा जन्मिएकी जिन लुइज काल्माँ (Jeanne Louise Galment) जो १२२ वर्षसम्म बाँचिन् ।

विवाह केवल शरीरको मिलन होइन, संस्कार र मनको मिलन हो । अहिलेको समयमा ज्योतिषलाई गलत रूपमा प्रयोग गरेर विवाह रोक्ने साधन बनाइएको छ तर ज्योतिषको उद्देश्य जीवनलाई सन्तुलन र समझदारीका साथ अघि बढाउनु हो । नाडी दोष वा कालसर्पजस्ता विषयमा भय सिर्जना गर्ने र अन्धविश्वासजन्य भ्रम फैलाउने वास्तविक ज्योतिष होइनन् र हुन सक्दैनन् पनि ।

जीवनमा जे हुन्छ, त्यो पूर्वनिर्धारित हुन्छ । कुण्डलीले केवल सङ्केतमात्र दिन्छ । दाम्पत्य सुख पारस्परिक सहयोग, संयम र सेवा भावबाट हुन्छ, कुण्डलीका उपायबाट होइन । ज्योतिष जीवनको ‘नुन’ हो, मुख्य भोजन होइन ।

आजकल धेरैले तन्त्र, टोना-टोट्का, प्रेतविद्या आदिलाई “ज्योतिष”को नाममा प्रयोग गर्छन्, जुन भ्रमपूर्ण हो । यस्ता छद्म ज्योतिषीहरू लोभ, क्रोध र मोहमा फसेका हुन्छन् । साँचो ज्योतिषी सत्य, निर्लोभ र धर्मनिष्ठ हुन्छ ।

सुख-दुःख कसैले बाहिरबाट दिदैन; हामी आफैंले आफ्ना कर्मबाट निर्माण गर्छौं । रामचरितमानसमा भनिएको छ –
“काहू न कोउ सुख दुःख करदाता,
निज कृत कर्म भोग सब भ्राता ।”
अर्थात्, प्रत्येक मानिसले आफ्नो कर्मको फल भोग्नै पर्छ । कर्म नै कुण्डलीको सूत्र हो ।

ज्योतिष धर्म आधारित शास्त्र हो; कर्मफल सूचक विद्या हो । यसले मानिसलाई आत्मबोध, सत्यचर्या र धर्मपालनको मार्ग देखाउँछ । साँचो ज्योतिष आत्मज्ञान हो । जसले आफ्नो (न कि अरूको) अन्तर्यात्राको ज्योति देख्छ, ऊ नै ज्योतिषी हो ।
ज्योति बाहिर पनि छ, भित्र पनि । सूर्य त्यस ज्योतिको प्रतीक हो जसको किरणले अन्धकार नष्ट गर्छ ।
गीता (१५।१) मा भनिएको छ –
“ऊर्ध्वमूलमधः शाखमश्वत्थं प्राहुरव्ययम् ।”
अर्थात्, सूर्यको मूलमाथि (आकाशमा) छ, उसका प्रकाशरूपी शाखा पृथ्वीमा फैलिएका छन् । यही शाश्वत ज्योति ब्रह्मरूप सत्य हो ।

ज्योतिष केवल ग्रह-गणनाको विद्या होइन, जीवन दर्शन हो । यसको मूल उद्देश्य आत्मज्ञान र सत्य-जीवन हो । जसले सूर्य, आत्मा र कर्मको सम्बन्ध बुझ्छ, जसले प्रकाश र अन्धकार दुवैलाई तौलन जान्दछ, उही साँचो “ज्योतिषी” हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट