चितवन, ९ असोज ।
हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बडादशैँ – २०८२ को पावन अवसरमा आपसी सद्भाव, एकता र सहकार्यलाई अभिवृद्धि गर्ने उद्देश्यका साथ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार शहीदचोक, नारायणगढस्थित संस्थाको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सेयर सदस्य, सञ्चालक समिति, उपसमिति तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रमका विशेष अतिथि संस्थाका सेयर सदस्य एवम् संविधानसभा सदस्य गीता वाग्लेले सहकारी संस्था केवल आर्थिक क्रियाकलापमा सीमित नभई समाजमा एकताको आधार निर्माण गर्ने केन्द्र बन्न सक्ने धारणा राखिन् ।
सो अवसरमा लेखा समितिका संयोजक गोविन्दप्रसाद पौडेलले सहकारी संस्था सदस्यबीचको पारस्परिक सहयोगलाई अझ मजबुत बनाउन यस्ता सांस्कृतिक कार्यक्रमहरू महत्त्वपूर्ण हुने बताए ।
संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले सहकारीको सामाजिक उत्तरदायित्वलाई जोड दिँदै विजयादशमीजस्ता पर्वहरूले सदस्यहरूबीच आत्मीयता र सहकार्यको वातावरण निर्माण गर्ने उल्लेख गरे ।
भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाकी अधिकृत एवम् संस्थाकी सेयर सदस्य रोजी केसीले सहकारी र स्थानीय सरकारबीचको सहकार्य अझै सुदृढ हुनुपर्नेमा जोड दिइन् ।
यस्तै, सेयर सदस्य एवम् पत्रकार शान्ता अधिकारीले सहकारी संस्था समाजलाई सकारात्मक सन्देश दिने माध्यम बनेकोमा खुशी व्यक्त गरिन् ।
संस्थाका प्रबन्धक नारायणप्रसाद सापकोटाले सहकारी संस्था केवल वित्तीय कारोबारमा सीमित नभई समाजमा सांस्कृतिक एकता र साझा भावना विकास गर्ने महत्वपूर्ण निकाय भएको बताउँदै, संस्थाले सदस्यहरूमाझ आत्मीयता र सहकार्यको संस्कार फैलाइरहेको धारणा राखे ।
कार्यक्रममा सञ्चालक प्रा.डा. होमनाथ सापकोटा, षडानन्द लामिछाने, अनिता मैनाली र सूर्य बरालसहित अन्य पदाधिकारीहरूको पनि विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले गरेका थिए । उनले सहकारी संस्था हरेक सदस्यलाई समेट्ने साझा परिवार भएकाले यस्ता अवसरहरूलाई सामाजिक एकता र सहकार्य प्रवर्द्धन गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिँदै, संस्थाले अब जितपुर र विजयनगर क्षेत्रमा कृषि व्यवसायलाई प्राथमिकताका साथ अघि बढाउने योजना बनाइरहेको बताए ।