`अनायास´ यात्रामा मकवानपुरगढीसम्म

• कमल सर, नारायणम् ! कता हुनुहुन्छ ?
• नारायणम्। लौरी घोल ।
• घोलमा बाढी आएको छैन होला त ? आज पानी परेको छैन क्यारे ।
• हजुर, धमिलो हुने लक्षण पनि देखिएको छैन । आकाश निखर निलो छ । बाढी आएछ भने भनौँला ।
• हस् ।
यो सम्पूर्ण किताब नारायणगढका प्रोप्राइटर लेखराम सापकोटासँग गरिएको वार्तालापको पहिलो चरण हो । खासगरी उनीसँग सधैं यस्तै ठट्यौलीबाट कुराकानी सुरु हुने गर्छ ।

शनिबार कुनै प्रोग्राम त बनाउनुभएको छैन ?
• छैन । केही थियो र ?
• त्यसो भए हामी शनिबार हेटौंडा जानेछौँ । तपाईं बिहान ८:३० बजे सौराहा चोक आउनू ।
• किन ? त्यस्तो केही प्रोग्राम बनेको छ र ?
• हो, हामी पाँचजना रामकृष्ण अनायासको `अनायास´ गजलसंग्रहको विषयमा विमर्श कार्यक्रममा हेटौंडा जानेछौँ । गजल मञ्च हेटौंडाले रामकृष्ण अनायासको अनायास गजलसंग्रहका विषयमा विमर्श कार्यक्रम राखेको छ ।
• हुन्छ, म शनिबार ठिक ८:३० बजे सौराहा चोक आइपुग्ने छु ।
वार्ता सकियो । यो वार्ता बिहीबार दिउँसोको हो ।

२०८२ असार २१ गते गजलकार किसानप्रेमीको `अन्जानमा गयौ कि !´, रामकृष्ण अनायासको `अनायास´, र सरस्वती पौडेलको `प्रत्यूष´ गरी तीनवटा गजलसंग्रह एकैसाथ गजल मञ्चले विमोचन गरेको हो । हामी तिनै विमोचित सङ्ग्रहमध्ये अनायासको विमर्श कार्यक्रममा हेटौंडातर्फ जाने तयारीमा थियौँ ।

साथीहरू ८ बजे नै सौराहाचोकस्थित न्यू नेशनल बुक्स एन्ड स्टेसनरीमा आएर बसेका रहेछन् । म पनि पुगेँ । पसलका साहुजी डिलिन्द्र पौडेलले हामीलाई शुभयात्राको कामना गर्दै मीठो दहि खुवाए । सौराहाचोक आएर दही खाने योजना डिलिन्द्र र लेखरामले अघिल्लो दिनमै बनाएका रैछन् ।
दही खाइसकेपछि थाहा भयो आज डिलिन्द्रको जन्मदिन रैछ । हामी सबैले संयुक्तरूपमा उहाँलाई शुभकामना व्यक्त गर्दै एउटा सामुहिक तस्बिर बनायौँ र तोकिएको समयमै सौराहा चोकबाट हेटौंडाका लागि छुट्टियौँ । यात्रामा हामी पाँचजना थियौँ—गजल मञ्च चितवनका पूर्व अध्यक्षहरू रमेश प्रभात र लेखराम सापकोटा, वर्तमान अध्यक्ष रामकृष्ण अनायास, सक्रिय सदस्य सुमन घिमिरे र म स्वयं, उपाध्यक्ष कमल अर्याल ।

हामी सबै गजल मञ्चसँग जोडिएका थियौँ ।
टाँडीबाट हेटौंडासम्मको यात्रामा के-के कुराहरू भए म सबै बेलिबिस्तारमा भन्न चाहन्नँ, र भन्दिन पनि । नडराउनुहोस्, हामीले तपाईँहरूका कुरा काटेनौँ ।

मनहरी-९, ज्यामिरेमा रहेको एउटा चर्चित होटलसँग मेरा साथीहरू पूर्वपरिचित रहेछन् । घडीले ९:३० बजाएको थियो। `यहाँको खाना अलि स्वादिलो छ´, सुमनले भने । हामीले सुमनको आशय बुझ्यौँ र सहमति जनायौँ । सुमनले गाडी सोही होटलको आँगनमा तेर्स्याए । रमेश प्रभातको कुखुराको झोलसँग ढिँडो खाने इच्छा थियो । लेखरामको कुखुराको तातो झोलसँग चामलको भात खाने इच्छा थियो भने सुमनको माछाको परिकारसँग । मेरो रमेश प्रभातको विचारसँग आधाआधि बिचार मिल्यो । मासुका परिकारबाहेक मेरो भागमा पनि ढिँडोको एउटा सिङ्गो डल्लो, दही,लगायत अन्य स्वादिला परिकारहरू आए । यहाँको खानामा भेटिने स्वादका प्रशंसक मेरा साथीहरू अझ बढी प्रशंसक भएर होटलबाट निस्किए ।

कार्यक्रमको ब्यानरमा ११ बजे लेखिएको थियो । ११ बज्न बाँकी भएकोले हामी नजिकैको किताबघर पुग्यौँ । साहुजी छवि अनित्यले हामीलाई स्वागत गरे । लेखराम व्यापारी मान्छे एक कार्टुन किताब बोकेर गाडीमा हाले । त्यसपछि हामी निश्चित समयमा कार्यक्रम हलमा प्रवेश गर्‍यौँ । ब्यानरमा `२२६औँ गजल यात्रा तथा गजलकार रामकृष्णको अनायास यात्रा (गजल वाचन तथा विमर्श)´ लेखिएको थियो । विमर्शकर्तामा विश्वनाथ सन्जेल र रमेश प्रभातको नाम र फोटो थियो । साथमा अनायास गजलसंग्रह र रामकृष्ण अनायासको फोटो ।

केही समय ढिलो गरी सुरु भएको कार्यक्रमको अध्यक्षता गजल मञ्च हेटौंडाका अध्यक्ष सञ्जित श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष हरि पौडेलले गरेका थिए । सो अवसरमा केही गजलकारहरूले गजल वाचन गरे भने अनायासले आफ्नो नवीनतम कृति अनायासबाट करिब आधा दर्जन गजल वाचन गरे ।

विमर्शकर्ता विश्वनाथ सन्जेलले अनायासमा भएका गजलहरूको चिरफार गरे भने प्रभातले गजलको पहिलेको अवस्था र हालको अवस्थाका बारेमा खोतलखातल गर्दै अनायासमाथि शुभकामनाका शब्दहरू राखे ।

कार्यक्रममा धेरै साथीहरूसँग भेट भयो । अनायास खुसी भए, हामी पनि खुसी भयौँ । तातो चियाको चुस्की मारेर हामी मकवानपुर गढीका लागि सबैसँग बिदा मागेर छुट्टियौँ ।

आकाश खुलेको थिएन । यसो त पानी परिहाल्ला जस्तो पनि थिएन । सुमनले गाडी गढीतर्फ मोडे । हामीले कार्यक्रम अत्यन्तै राम्रो र उत्कृष्ट भएको निष्कर्ष निकाल्यौँ । गाडी हाम्रो कुरा सुन्दै बिस्तारै ऐतिहासिक गढी दरबारतर्फ हामीलाई तान्दै रह्यो ।
हेटौंडा रंगशाला, माछापोखरी, चुच्चे खोला (जुन खुवाका लागि प्रसिद्ध ठाउँ पनि हो) हुँदै हामी शिखर कटेरीको जङ्गल र घुम्ती बाटो हुँदै अगाडि बढ्दै रह्यौँ । पानी सिमसिम परिरहेको थियो । शिखर कटेरी बजारका गुचुक्क परेका घरहरूलाई छाडेर गढी दरबारका लागि पश्चिम गेटतर्फको उकालो र साँघुरो घुम्तीहरूमा रमेश प्रभातका ठट्यौली गफ सुनेर मोहित थियौँ ।

पानी निकै ठूलो पर्‍यो । गाडीलाई बाटोको छेउमा पार्किङ गरेर हामी हतार-हतार बाहिरी गेटको अगाडि रहेको सानो पसलमा छिर्‍यौँ । पानी झन् बढ्यो । रमेश प्रभात होटल मालिकसँग साउती मार्दै थिए । यहाँको मौसम यसै पनि चिसो, त्यसमाथि पानी परिरहेकाले शरीरले तातो खोज्नु स्वाभाविकै हो ।

तीनवटा चाउचाउ पाके । जुन ठाउँमा जे कुराको चलनचल्ती छ, त्यसैमा रमाउन सक्नु नै त्यस स्थान प्रतिको न्याय हो । रमेश प्रभातले न्याय गरे ।

पानी सिँढीबाट आफ्नै लयमा तलतिर झर्दै थियो । पानीका लयबद्ध स्वरहरू हाम्रो कानमा मात्र होइन, मन–मस्तिष्कमा पनि प्रवेश गरिरहेका थिए । पानी हराएन, केही कम भयो । हामी गढी हाताभित्र प्रवेश गर्‍यौँ । बाटामा बिछाइएका ढुङ्गाका छपनीहरूमा पानी सुलुलु बग्दै रहे । मसँग लेखराम थिए । सुमन र रामकृष्ण अघि नै गढीभित्र प्रवेश गरिसकेका थिए । रमेश प्रभात होटलमै छुटेका थिए, सायद त्यतिबेला निस्किसकेका थिए होलान् ।

गढीको पर्खाललाई मैले छोएँ । शीतल, कठोर र मौन ती पर्खालहरूले हजारौं पाइतालाहरूको स्पर्श बुझेका छन् । तिनीहरू चिच्याउन सक्थे भने भनिरहेका हुन्थे —
`ए यात्री, हामी भत्कँदै गएका छौं, तर हाम्रो इतिहास अझै बाँचेको छ । तिमी सुन्दैनौ तोप पड्केको आवाज । यो मगजमा ताजा भएर अझै म भित्र गुन्जिन्छ ।´

गढीले आज पनि चुपचाप पर्यटकको प्रतीक्षा गरिरहेछ । हामी काठको सानो पुल तरेर गढीको मूलद्वारबाट भित्र प्रवेश गर्‍यौँ । गढीभित्र मान्छेहरू तस्बिर खिच्न व्यस्त थिए । भलै रुझियोस् । रामकृष्ण र सुमन `अनायस´ बोकेर ठाउँ–ठाउँमा फोटो खिच्दै थिए । लेखराम पनि आफ्नै सुरमा फोटो र भिडियो बनाउँदै थिए । केहीबेरमा रमेश प्रभात पनि हामीसँग जोडिए ।
केही स्थानीय केटाकेटीहरू ढुङ्गामा टेकेर मुस्कुराउँदै फोटो खिच्दै थिए । तर कसैले ध्यान दिएको थिएन गढीको भित्तामा कोरिएका निशानहरूलाई, युद्धको घाउलाई ।

हावाका झोकाले परिरहेको सिमसिमे पानीलाई शरीरका अंग स्पर्श गर्न सहज बनाइरहेको थियो ।

गढीको शिरबाट देखिने फाँट, वरपरका हरिया पहाड, हेटौंडा बजारका बाक्ला घरहरू र टाढाका सेता हिमालहरू हामीले देख्न पाएनौं । आँखाले देखिएको जति सबै सेताम्मै थियो । यहाँबाट देखिएको यो कपासको बस्ती पनि कम रोचक थिएन ।
गढीकै एक कुनामा ६५–७० वर्षका देखिने एकजना वृद्ध थिए । मैले उनीसँग छोटो कुराकानी गरेँ । मोडभन्ज्याङ घर भएका चन्द्रप्रसाद घिमिरे अहिले गढीमा भएका मठ–मन्दिरहरूको सरसफाइ र रेखदेख मात्र गर्दैनन्, उनी पुजारी पनि हुन् ।

उनी गढी संरक्षण समितिका आजीवन सदस्य भएको २८ वर्ष भयो । उनलाई गढीका विषयमा सबै कुरा थाहा छ । यहाँ बालगोपाल कृष्णजीको मन्दिर र शिवजीको मन्दिर छ ।
उनको भनाइ अनुसार, यहाँ पुरानो चिज भनेका ढुङ्गाहरू मात्रै हुन् ।

`यहाँ कालीतोप, लालीतोप, गाजलितोप लगायत ३६ वटा तोपहरू थिए । ती सबै अहिले सुपारेटार ब्यारेकमा राखिएका छन् । ती तोपहरू सबै मेरा आँखाले देखेका हुन् ।
पर्यटकहरू आउने क्रम बिस्तारै बढिरहेको छ । म बेलुका बस्दिनँ, दिनभरि यहीँ बस्ने गर्छु। यही गढीभित्र रहेका मठ–मन्दिरहरूको संरक्षण र पूजापाठ गर्छु ।´

उनी तलबमा यहाँ बसेका होइनन् । देवी–देवताको पाउमा चढेको पैसा मात्र उनी लिन्छन् । बाकसमा जम्मा भएको पैसा समितिले लिन्छ । उनले मलाई पुराना कुराहरू पनि थाहा छ भन्दै भने—
`यो गढी तेह्रौं शताब्दीभन्दा अगाडि बनेको हो ।
३०० वर्ष सेन राजाहरूले राज्य चलाए । त्यसपछि पृथ्वीनारायण शाहले कूटनीतिक लडाइँ लडेर यो राज्य हात पारेका हुन् ।
यहाँ आपतकालीन द्वार, कारागार (कैदीहरू राख्ने जेल), दरबार—जुन दरबारमा बसेर सेन वंशका राजाहरूले राज्य चलाउँथे, सेनवंशले मानेका इष्टदेवता बालगोपाल कृष्ण भगवानको मन्दिर, पालेपहराको हातहतियार राख्ने दरबार, पानीको स्टोर र शिवजीको मन्दिर छन् ।´

सानो गढी यहाँबाट करिब ३०० मिटर टाढा पर्छ भने ढुङ्गेगढी २ किलोमिटर टाढा पर्छ । हामीले ति दुई गढी स्पर्श सम्म गर्न पाएनौं ।

मकवानपुर गढी केवल एउटा किल्ला होइन । यो स्थान इतिहासको आँखाले हेर्ने चस्मा हो । यहाँ ढुंगाहरू बोल्छन्, भित्ताहरूले समयको भार बोकिरहेका छन्, र हावाले त्यतिबेलाको युद्धको गन्ध अझै बोकेको छ । नेपालको एकीकरण, भू–रणनीति, सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावना सबै एकसाथ बोकेको मकवानपुर गढी आज पनि हाम्रो गौरव हो—निरन्तर संरक्षण र सम्मान चाहिने एउटा सजीव इतिहास ।

हामीले गढीको थाप्लोमा केही भिडियो बनायौँ, केही फोटाहरु खिच्यौं । पानी रोकिएला जस्तो थिएन। अझै बिरबिराई रहेको थियो ।

आकाश खुला भएको भए घाम डाँडामा बस्ने तरखर गरेको देखिन्थ्यो होला । घडीले समय घड्किरहेको छ भन्दै थियो । रमेश प्रभात लोकल कोसेलीको झोला च्यापेर हामीसँगै गाडीमा उक्लिए ।

हाम्रा लुगाहरू निचोर्दा पानी नचुहिए पनि चिसोले शरीरमा टाँसिएका थिए । केही बेरअघि छाडेका परिचित घुम्ती र साँघुरो बाटोलाई पीठ फर्काउँदै हामी ओरालो झर्यौँ ।

सुमनले क्याम्पाडाँडाको एउटा कुइनेटोमा गाडी रोके । हामीले त्यहाँको चर्चित हटलेमन पियौँ ।
लेखरामका जुत्ता मात्र होइन मोजा समेत पानीले भिजेका थिए । उनी मोजालाई निचोरेर आफूसँगैको बेञ्चीमा सुकाउँदै थिए । पानी परेको थिएन, घाम पनि लागेको थिएन । रामकृष्ण प्रफुल्ल थिए । सुमनको अनुहार हसिलो थियो । रमेश प्रभात `साथीहरूले हट लेमन खुवाएर मेरो भर्खरै मौलाएको खुसीका उज्याला रिमरिमलाई प्रहार गरे´ भन्दै रमाइलो ठट्टा गर्दै थिए । हामी हट लेमनको बाँकी कप रित्त्याउँदै हाँस्यौँ ।

आउँदै गरेको मोति जयन्ती र द्वारिका नेपाल गजल स्मृति पुरस्कारका विषयमा विशेषगरी
हामी केन्द्रित भयौँ । मन मिल्नेहरूको यो यात्रा साँच्चिकै अविस्मरणीय बन्यो । हामीले क्याम्पा डाँडा मात्रै होइन, हेटौंडाका गाउँ-बस्ती र प्रमुख सहर—मनहरी, लोथर, भण्डारा र पर्साका उज्याला ठाउँहरू पनि छाड्यौँ ।

बेलुकी करिब ५:३० मा मलाई टाँडी छाडेर साथीहरू आ–आफ्ना गन्तव्यतर्फ लागे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट