सन्तोष पन्त
आजकल दैनिक उपभोग्य खाद्य पदार्थमा हुने गरेको मिसावटका कारण मानव स्वास्थ्यमा गम्भीर असर परेको छ । दैनिक उपभोग्य वस्तुहरुहरु जस्तै चामल, दाल, मसला, बेसार, खुर्सानी, घिउ, तेल, दूध, मह, फलफूल आदि सबैमा मिसावटका कारण हामी हाम्रो शरीरलाई अस्वस्थ बनाउन बाध्य भई रहेका छौँ । धेरै मुनाफा गर्नको लागि, लापरवाही र हेलचक्र्याईका कारण खाद्य वस्तुमा अखाद्य वस्तुहरु मिसावट हुने गरेको छ । मिसावटकर्ताले हाम्रो ना·ो आँखाले हेर्दा थाहा नहुने अखाद्य वस्तुहरुलाई खाद्य वस्तुमा चलाखीपूर्वक मिसाई बजारमा आकर्शक विज्ञापनका साथ ल्याउने गरेकोले हामी झनै मारमा परेका छौँ । मिसावटका कारण तत्कालै शारीरिक असर पर्नुका साथै दीर्घ र जटिल रोगहरु लाग्न सक्ने र ज्यानैसमेत जान सक्ने जानकारहरु बताउँछन् ।
खाद्य पदार्थ के हो ?
सामान्यतया मानिसले खाने चिज वस्तुलाई खाद्य पदार्थ भनिन्छ । खाद्य ऐन २०२३ ले दफा २ मा खाद्य पदार्थ, दूषित खाद्य पदार्थ र न्यूनस्तरको खाद्य पदार्थको परिभाषित गरेको छ । जसअनुसारः
-मानिसले खाने पिउने, अप्रशोधित, अर्ध प्रशोधित, प्रशोधित वा उत्पादित खाद्य वा पेयपदार्थ र खाने पिउने पदार्थमा प्रयोग गरिने मरमसला, खाद्य योगशील रंग वा सुगन्धलाई खाद्यपदार्थ भनिन्छ ।
-स्वास्थ्यलाई हानि हुने गरि सडेको गलेको वा फोहर मैला वा विषाक्त अवस्थामा राखिएको वा तयार गरिएको खाद्यपदार्थ, मानिसको उपभोगको लागि अनुपयुक्त हुने गरी केहि वा सम्पूर्ण भाग कुनै रागी वा रोगकारक पशु पंक्षी वा हानिकारक वनस्पतिवाट बनेको खाद्यपदार्थ र कुनै खाद्य योगशील, रंग परिरक्षी, अन्तरविकसित वा बहिर्मिश्रित रसायन वा कीटनासक औषधिको लागि तोकिएको अधिकतम सीमा भन्दा बढी हुन गई स्वास्थ्यलाई हानि हुन सक्ने खाद्यपदार्थलाई दूषित खाद्यपदार्थ भनिन्छ ।
-स्वाभिवक गुण भन्दा कमसल हुने गरी प्रमुख अंगको परिमाण घटाईएको वा अर्को कुनै पदार्थ मिश्रण गरिएको खाद्य पदार्थलाई न्यूनस्तरको खाद्य पदार्थ भनिन्छ ।
कानूनी व्यवस्थाः
क) खाद्य ऐन २०२३ः
दूषित खाद्य पदार्थ वा न्यूनस्तरको खाद्य पदार्थको उत्पादन तथा विक्रि वितरण गर्न नहुने र झुक्यानमा पारी खाद्य पदार्थ बिक्री वितरण गर्न नहुने भनी यस्ता कार्यलाई अपराधिक कार्य मानी कसैले यस्ता कार्य गरे गराएमा पाँच वर्षसम्म कैद वा पचास हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । त्यसका अतिरिक्त दूषित वा न्यूनस्तरको हो भन्ने शंका लागेमा तोकिएको अधिकारीले खाद्य पदार्थ रोक्का राख्न सक्ने र खाद्य पदार्थको उत्पादन, बिक्री वितरण, संचय वा प्रशोधन गर्न चाहने व्यक्तिले अनुज्ञापत्र लिनु पर्ने व्यवस्था खाद्य ऐन २०२३ ले गरेको छ ।
ख) मुलुकी फौजदारी कायविधि (संहिता) ऐन २०७४ (परिच्छेद –५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका कसूर)
-खाद्य पदार्थमा मिसावट गर्न नहुने, झुक्यानमा पारी खाद्य पदार्थ बिक्री वितरण गर्न नहुने र बिक्री गर्ने उपभोग्यवस्तु बिक्री नगरी जम्माखोरी गर्न नहुने यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिवाना हुने ।
-झुक्यानमा पारी कुनै वस्तु बिक्री–वितरण गर्न नहुने र सर्वसाधारणले पिउने पानी वा पिउने पानीको मुहानलाई पिउन नहुने गरी दुषित गर्न वा पिउने बाहेक अन्य कुनै काममा प्रयोग हुने पानीलाई त्यस्तो काममा प्रयोग गर्न नहुने गरी दुषित पार्न नहुने, त्यस्तो कसूर कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने ।
अन्य प्रयोजनका लागि प्रयोग हुने पानी दुषित पार्ने वा पार्न लगाउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँँसम्म जरिवाना वा दुवै सजाय हुने ।
खाद्य पदार्थमा मिसावट गर्न नहुने, झुक्यानमा पारी खाद्य पदार्थ बिक्री वितरण गर्न नहुने, दूषित खाद्य पदार्थ वा न्यूनस्तरको खाद्य पदार्थको उत्पादन तथा बिक्री वितरण गर्न नहुने भनी कानूनमा स्पष्ट व्यवस्था भए पनि र सो गर्ने गराउनेलाई दण्ड सजायको व्यवस्था भए पनि हामी आम उपभोक्ताहरु मिसावट भएका, दूषित र न्यूनस्तरका खाद्य पदार्थहरु खरिद गरेर प्रयोग गर्न बाध्य छौँ । कुन खाद्य वस्तुमा के कस्तो मिसावट हुन सक्छ केही उदाहरणहरु यस्ता छन् ः
-चामलमा बियाँ, कनिका, मिसाउने, उच्च जातको चामलमा निम्न जातको मिसाउने, चामल जस्तै देखिने गरी ढुंगा तथा काठलाई मेसिनमा काटेर चामल जस्तै रंग पोलिस गरेर मिसावट गर्ने,
-मिति सकिएको चामल पुनःमिलमा हालेर पोलिस लगाई बिक्री गर्ने,
-महमा चिनीको चास्नी मिसाउने,
-मासुमा मरेको जनावरको मासु मिसाउने, महंगो जनावरको मासुमा सस्तो मिसाउने,
-तरल दूधमा पानी हाल्ने, दूधमा रहेको चिल्लो पदार्थ हटाउने, चिल्लो रहित धुलो दूध मिसाउने, दूध नफाटोस् भन्नका लागि सोडा मिसावट गर्ने, दूध बाक्लो बनाउन स्टार्च वा पिठो मिसाउने, दूधमा युरिया, वासिङ पाउडर समेत मिसाउने,
-दूध उत्पादन गर्नेहरुले सरसफाइमा ध्यान नदिँदा कोलिर्फमका जिवाणु प्रवेश गर्न सक्ने,
-घिउ र नौनीमा वनस्पति घिउ, मैन,पिडालु वा चिउरीको घिउ मिसाउने, वनस्पति घिउमा जनावरको बोसो मिसाउने,
-दालमा पनि दालजस्तै अखाद्य वस्तु मिसावट गर्ने
-बेसारमा विभिन्न प्रकारका अन्नको पिठो र रंगहरु र मेटानिल एलो मिसावट गर्ने,
-खुर्सानीको धुलोमा इँटाको मसिनो धुलाका कणहरु, धानको ढुटो मिसावट गर्ने,
-मसलाको धुलोमा काठ चिरान गर्दा निस्केका मसिना धुलाको कण मिसावट गर्ने,
-मरिचमा मेवाको दाना मिसाउने,
-असल चियापत्तिमा कमसल मिसाउने, पनि एकपटक प्रयोग गरिसकेको चियापत्ती पुनः सुकाएर मिसाउने, काठको धुलो रंग लगाएर मिसाउने,
-तोरीको दानामा अर्जिमोन दाना मिसाउने, तोरी तथा सनफ्लावरको तेलमा भटमास, अर्जिमोन र आलसको मिसावट गर्ने,
-चिनीमा चकको धुलो, कनिका मिसाउने,
-स्याउमा स्याकरिन, मैनजन्य झोल प्रयोग गरि रातो र आकर्षक देखाउने,
-केरामा कार्वाईड प्रयोग गरि पकाउने,
-हरियो तरकारीमा विषादी प्रयोग गर्ने र समायावधि अगावै विक्रि गर्ने,
-आईसक्रिमहरुमा निषेधित र कृतिम रंगहरु, कृतिम गुलियो मिसाउने,
-कुराउनीमा मैदा वा विस्कुट मिसाउने,
-खाने तथा पिउने पदार्थमा अखाद्य रंगको प्रयोग गर्ने आदि ।
मिसावटवाट बच्ने उपायः
मिसावटवाट बच्न हामी आफै सचेत हुनु जरुरी छ । देशको कानून हेर्नेहो भनेत २०२३ सालमै खाद्य ऐन बनेर मिसावट, न्युनस्तर र दुषित खाद्य पदार्थको व्यापार व्यवसायलाई अपराध भनी परिभाषित गरि सकेको छ । तर, पनि मिसावटको अशर दिनानुदिन वृद्धि भइरहेको छ । जबसम्म हामी आम उपभोगकर्तानै सचेत हँुदैनौं र यस्को सामुहिक रुपमा प्रतिवाद गर्दैनौ नाफाखोरहरुले यसरीनै हाम्रो स्वास्थ्यमाथि खेलवाड गरिरहन्छन्, हामीलाई लुटिनै रहन्छन् । तसर्थः
-खाद्य सामग्री खरिद गर्दा प्याकेटको बाहिर रहेको लेवल उज्यालोमा हेरेर उद्योगको नाम, उत्पादन मिति, ब्याच नम्वर, तौल, प्रयोग गरि सक्ने अन्तिम मिति आदि हेरेर ठीक भएमा मात्र खरिद गर्ने बानी बसाल्नु पर्दछ,
-प्याकेटमा मुसाले काटेको, फुटेका प्याकेट आदि प्रयोग गर्नु हुँदैन,
-चरा, मुसाको विष्टी, रौँ, ढुंगा, माटो आदि देखिएमा खरिद तथा प्रयोग गर्नु हुँदैन,
-धेरै रंग प्रयोग गरिएका खाद्य पदार्थहरु खरिद तथा प्रयोग गर्नु हुँदैन,
-खुल्ला रहेका, झिंगा भन्केका, सडे गलेका खाद्य वस्तुहरु खरिद तथा प्रयोग गर्नु हुँदैन,
-आकर्षक रंग रोगन र सस्तो मुल्य प्रति सदैव चनाखो हुनु पर्दछ, मिसावट हुन सक्छ,
-आँफुले प्रयोग गर्ने खाद्य पदार्थको प्राकृतिक रुप, रंगवारे जानकारी राख्नु पर्दछ र अप्राकृतिक देख्ने वित्तिकै शंका गरि एकिन गरेर मात्र प्रयोग गर्न पर्दछ,
-बजारमा पाईने जंक फुडका प्रयोग नगरी खाना घरमै तयार गर्ने र राम्रो संग पकाएर मात्र खाने बानी गर्नु हितकर हुन्छ ।
-बजारको अहिलेको दण्ड हिनता अन्त्य गर्न राज्यले कानूनको प्रभावकारी कार्यान्वयनमा कुनै कसर बाँकी राख्नु हुदैन ।
मिसावटको भएको पाइएमा के गर्ने ?
मिसावट भएको वा दूषित वा न्यूनस्तरको खाद्य पदार्थ कुनै पसल वा व्यावसायिक प्रतिष्ठानम बिक्रीको लागि राखेको पाइएमा त्यसलाई आफूले खरिद वा प्रयोग नगरी सो बारेमा जानकारी नभएकाहरुलाई समेत सो वाट बचाउनु मानवीय कर्तव्यअन्तर्गत पर्दछ । तसर्थ त्यस्तो खाद्य पदार्थ देख्नासाथ निम्नानुसार गर्न गराउन सकिन्छ ः
-सम्भव भएसम्म नजिकको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा र सम्भव नभए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनु पर्दछ, त्यहाँ पनि सम्भव नभए जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनु पर्दछ ।
-सामान खरिद गरिसकेको भए खरिद गरेको बिल र सामानसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा उजुरी गर्नु पर्दछ र उक्त कार्यालयमा जान पायक नपरे नजिकको प्रहरी कार्यालयमा उजुरी गर्न सकिन्छ ।
-बिक्री गर्ने उपभोग्यवस्तु बिक्री नगरी जम्माखोरी गरेको पाईएमा नजिकको प्रहरी कार्यालयमा उजुरी गर्नुपर्दछ ।
-उजुरी जति सक्दो चाडो गरेमा मात्र प्रमाण फेला पर्न सक्छ, प्रमाण भएमा मात्र अपराध गर्नेलाई कानून बमोजिम सजायको भागिदार बनाउन सकिन्छ । तसर्थ यथासक्य चाडो उजुरी गर्नु पर्दछ तर छ महिना कटाउनु हुदैन । विशेष चनाखो रहनु पर्दछ ।
-अपराधिक कार्यविरुद्धको उजुरी गर्नु नागरिको कर्तव्य हो भने उजुरीकर्ताको सुरक्षा गर्नु राज्यको दायित्व हो, तसर्थ निर्धक्क भएर उजुरी गर्ने बानी बसाल्नु पर्दछ ।
तसर्थ हामी सवैले आजै मिसावट, न्यून स्तर र दूषित खाद्य पदार्थको बारेमा जानकारी राखौँ र त्यसको विरुद्धमा कानूनसम्मत तरिकाले लागौँ, जसबाट सुरक्षित र स्वस्थ समाजको सृजना गर्न सकिन्छ ।