देवचुली, १४ चैत ।
देवचुली नगरपालिकामा महिनावारी स्वच्छ्ता व्यवस्थापन प्रवर्द्धनका लागि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । वास नमुना गाउँ परियोजना (नापा वास) को आयोजनामा स्वास्थ्य संस्था, विद्यालय तथा खानेपानी समिति र संस्थाका प्रतिनिधिहरुलाई मंगलबार र बुधबार प्रशिक्षक प्रशिक्षण तालिम गरिएको हो ।
समुदायमा सचेतना गराउनका लागि प्रशिक्षक तयार गर्न, महिनावारी सम्बन्धि समुदायमा भएका राम्रा र सुधार गर्नुपर्ने विषयहरुमा जानकारी गराउनका लागि तालिमको आयोजना गरिएको नापा वासका परियोजना व्यवस्थापक प्रवीण घिमिरेले जानकारी दिए । तालिममा कल्पना डिसुवाले महिनावारी स्वच्छ्ता व्यवस्थापन प्रवर्द्धन सम्बन्धि सहजीकरण गरेकी थिइन् ।
मंगलबार सुरु गरिएको तालिमको बुधबार देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै उपप्रमुख तिवारीले महिलाहरुलाई महिनावारी स्वच्छता सम्बन्धि सचेतना गर्न आवश्यक रहेको बताइन् । उनले देवचुली नगरपालिकाका प्रत्येक विद्यालयमा छात्राहरुका लागि निशुल्क सेनेटरी प्याडको व्यवस्था गरिएको बताउँदै महिलाहरुलाई निरन्तर सचेतनाको कार्यक्रम गरिरहेको बताइन् । महिनावारी स्वच्छ्ता व्यवस्थापनका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुको सहकार्य आवश्यक रहेको कुरामा उनले जोड दिइन् ।
तालिमबाट महिनावारीको बारेमा रहेका गलत धारणाबाट सचेत भएको र समुदायमा सचेतना संचालन गर्न आवश्यक रहेको सहभागी गीता रेग्मीले बताइन् । कार्यक्रममा नापा वासका परियोजना निर्देशक भीमबहादुर मल्ल, खानेपानी, सरसफाइ तथा स्वच्छता विज्ञ सुशील सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
संस्थाले देवचुली ५ र ६ मा खानेपानी र स्वच्छता सम्बन्धि परियोजना संचालन गरेको छ । देवचुली नगरपालिकाको समन्वयमा देवचुली ५ र ६ लाई पूर्ण सरसफाई मैत्री वडा घोषणा गर्ने उद्देश्य रहेको संस्थाले जनाएको छ ।