खैरहनी, १३ वैशाख ।
खैरहनीमा मनोसामाजिक परामर्श तालिम बिहीबारदेखि सुरु भएको छ । विद्यालयमा कार्यरत जेण्डर फोकल पर्सन महिला शिक्षक एवम् स्कुल हेल्थ नर्सहरुका लागि खैरहनी नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ३ दिने तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै खैरहनी नगरपालिका प्रमुख शशिकुमार खनियाले मानिसमा सकारात्मक सोचको विकास हुनुपर्ने बताए ।
`हाम्रो समाजमा सकारात्मक भन्दा नकारात्मक सोच बढी हुने गर्छ´ ,प्रमुख खनियाले भने- `त्यसका लागि मानसिक, शारीरिक अवस्था ठिक हुनुपर्छ ।´ भौतिक पुर्वाधारले मात्र नगर समृद्ध नहुने भन्दै उनले मानसिक रूपमा तन्दुरुस्त हुन आवश्यक रहेको बताए । विद्यार्थी कसरी पढ्न चाहन्छन, उनीहरुको समस्या के छ, त्यो शिक्षकले बुझ्न सक्ने भएकाले सोही अनुसार लाग्न प्रमुख खनियाले आग्रह गरे ।
उपप्रमुख कविता उप्रेतीले खुसी साथ बस्ने वातावरण बन्न तालिमले मद्दत पुर्याउने बिश्वास व्यक्त गरिन् । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले शारीरिक र मानसिक अवस्था तन्दुरुस्त रहन मनोपरामर्शको महत्त्व बढेको बताए ।
तालिममा छवि अधिकारीले सहजीकरण गर्नेछन् । महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कृष्णकुमारी गुरुङका अनुसार नगरपालिकाले दुई वर्ष अघिनै फोकल पर्सन तोकेर बालबालिकालाई मनोपरामर्श दिँदै आएको छ ।