चैत्र २४, २०८०मा चितवन साहित्य परिषद्को हलमा कविडाँडा साहित्य समाजको कवि सरुभक्तलाई सम्मानको कार्यक्रममा कवि सुलोचना म्याडमसँग भेट भयो । उहाँ ‘गुन्जन’ समूहसँगै आफ्नो कार्यक्रम लिएर आउनु भएको थियो । चैत्र २५मा पुनः भेट भयो कविडाँडा ह्वाइट कर्नरमा ।
उहाँले आफ्नो कृति ‘Night’ उपहारस्वरूप दिनुभएको थियो । यो कवितासङ्ग्रह अङ्ग्रेजी र नेपाली दुवैमा छ । अङ्ग्रेजीतिर लागिन सोझै नेपाली भागमा पुगेँ र पढ्न लागेँ ।
मात्र ३२ वटा छोटा तर पूर्ण कविता एक घण्टामा नै पढेर भ्याएँ । यी कविता पढ्दै गर्दा मलाई लाग्यो कविता लेखनको यस शैलीसँग म पूर्व परिचित छु । सर्जकसँग कतै न कतै मेरो भेट भएको छ । तर कहाँ ? जति नै प्रयास गर्दा पनि सम्झन सकिन ।
कविताको परिभाषा त उहाँले भन्नुभएको छैन तर उहाँका कविता पढ्दै गर्दा लाग्छ उहाँ भन्न चाहनुहुन्छ – कागतको पानामा जीवनका अनुभूतिहरू कोर्दै जाँदा सुन्दर कविता आफै सृजित हुन सक्छन् ।
उहाँ भन्नुहुन्छ – “जस्तोसुकै मान्छेमा पनि कुनै न कुनै रूपमा काव्यचेत लुकेकै हुन्छ । तर फरक कतिमात्र हो भने कसैमा यो प्रस्फुटित हुन पाउँछ कसैमा हुन पाउँदैन । नारी त झन् स्वयं सृजनाको मुहान हो त्यसैले ऊभित्रको काव्य चेत अझै समृद्ध हुन्छ ।”
छोटा कविताहरूमा पनि विस्फोटक शक्तिको उपस्थिति हुन् सक्छ । पाठकले पहिलाउन सके । कवि सुलोचनाका कविता छोटा छन् तर पूर्ण छन् विस्फोटक शक्तिसहितका छन् ।
रातको अँगालोमा
उसैको न्यानो काखमा
जब पस्छु म
भयमुक्त हुन्छु
रात
मेरी आमा भइदिन्छे
कति प्यारो
कति न्यानो
(पृष्ठ ५६ )
रातको पदचापलाई
रातमै डुबेर सुन्न सकिन्छ
हल्ला नगर है
बिच्किन्छ रात
(पृष्ठ ७०)
बिम्बको प्रयोग किन गरिन्छ होला ? कवितालाई सुन्दर बनाउन र सपाट हुनबाट जोगाउन जस्तो लाग्छ मलाई । साथै मेरो भनाइ छ – बिम्बको प्रयोग गरौँ तर साधारण पाठकले पनि बुझ्ने गरी । धेरैअघि अस्ट्रेलियामा अङ्ग्रेजीकी एक कवि Jewel Kilcher को एउटा कविता सङ्ग्रह हात परेको थियो “a night without armor’. त्यसमा पनि छोटा छोटा कविता छन् तर विस्फोटक ।
जस्तै –
It’s been
too many nights
of being with
to now be suddenly
without
यस कविताको शीर्षक छ – Too Many Nights. यसलाई छोटो कविता भन्न मिल्दैन किनकि की थोरै शब्दहरूमा धेरै रात्रि यात्राहरूका कथा लुकेको छ ।
उस्तै सुलोचना म्यामको –
रात गर्भवती आमा हो
नपत्याए पर्खी बस
भोलि बिहानै
सूर्य जन्माउने छ उसले ..।
(पृष्ठ ७६) यस कविताको शीर्षक राख्नुभएको छ – ‘गर्भवती रात’ । कति शक्तिशाली हुन्छन् यी
रातहरू जसले सूर्य जन्माउँछन् ।
कवि सुलोचना आफूलाई नारीवादी कवि हो वा होइन बारे भन्नु हुन्छ –“यसो भन्दा मेरो बोलीमा नारीवादको छनक आउनसक्छ । तर, म नारीवादी हुँ कि होइन आफै भन्न सक्दिन ?” उहाँका कविता पढ्दा लाग्छ उहाँ नारीवादलाई सम्मान गर्दै आफ्नो विशेषपनलाई पनि सम्मान गर्नुहुन्छ । ‘रात र नारी’ शीर्षक दिएर कवि मानन्धरले छोटकरीमा पुस्तक भूमिकामा आफ्नो विचार राख्नुभएको छ । उहाँ लेख्नुहुन्छ –
“तर ‘गृहणीको कविता’ बनेर भान्छाको कुनामा दाउरासँग बल्दै वा नानीका थाङ्नामा पखालिँदै तुहिइसकेका छन् धेरै हजुरआमा, आमा, दिदीहरूका कविता ।” (पृष्ठ ५०)
मलाई लाग्दैन बिम्बको प्रयोगबारे योभन्दा बढी भनि राख्नुपर्ला ।
रात अझै भोगिरहेछ
प्रसव पीडा
कसले भनिदिन्छ
कहिलेसम्म यो दुख भोग्नुपर्ने हो
उसले
ऊ त
उहिल्यैदेखि
चुपचाप
एक्लै
भोगिरहेछ व्यथा
मान्छेले गरेका
तमाम भुलहरूका निम्ति
सजाय भोगिदिए झैं !
(पृष्ठ ६६ )
अचानक मलाई याद आयो – ओहो मैले त उहाँलाई सौराहामा भेटेको थिएँ । २०७५ सालमा । सौराहामा आयोजना गरिएको Medical Literature Mela मा म पनि आमन्त्रित थिएँ । त्यस भव्य कार्यक्रममा मैले पनि मेरो एउटा कविता वाचन गरेको थिएँ ।
कविताको अन्तिम अनुच्छेद पढेपछि निकै चर्को ताली बजेको थियो । कार्यक्रमपछि धेरैले मलाई बधाई पनि दिनुभएको थियो मेरो कविताका लागि । डाक्टर मानन्धर र सुलोचना म्यामले पनि मलाई बधाई दिनु भएको थियो र म्यामले आफ्नो अनौठो कृति (यस भित्रका सबै कविता हातले लेखिएका छन् ।’ यस सङ्ग्रहमा सबै जीवनका कविता छन् र शीर्षक पनि ‘आहा जीवन’ छ ।
न आकार
न शब्द
अनुभूति भएर हृदय भर्ने
आशाको स्पर्श भएर ममा भरिने
को होला ?
मैले त त्यसलाई
प्रेमको नाम दिएँ ।
(पृष्ठ ५०)
यस कविताको शीर्षक ‘प्रेम’ छ ।
बिहानीको सूर्योदयलाई
र सन्ध्याको चन्द्रोदयलाई
विस्मित भएर हेरिरहँदा
मनले सधैं सोधिरहन्थ्यो
तिनलाई जन्माउने भाग्यमानी आमा को होलिन् ?
एकदिन क्षितिजले खुसुक्क भन्यो
सूर्य र चन्द्र मात्रै हैन
गढ़ र नक्षत्र मात्रै हैन
सबै सबै अस्तित्वकी जननी
प्रकृति हुन्
र, ती नारी हुन् –
तिमी जस्तै
तिम्री आमा जस्तै
तिम्री छोरी जस्तै !
कवि सुलोचना मानन्धर धितालका कविता पढ्दा उनको नारी प्रेम, नारी स्वाभिमान, नारी अस्तित्व र नारीको अभिभावकीय उत्तरदायित्व बारे उनि छर्लङ्ग छिन । यस विषयलाई लिएर उनी कसैसँग विवाद गर्न चाहन्नन् । उनी त मात्र र मात्र आफ्नो कविताको माध्यमबाट आफ्ना कुरा राख्न चाहन्छिन् ।
अन्त्यमा,
कविता धेरैले लेख्छन् तर कवितासँगै छातीमा – म कवि हुँको नेमप्लेट र मस्तिष्कमा अहमको भारी बोकेर हिँड्ने सबै कवि हुँदैनन् । कवि त शालीन हुन्छन् सुलोचना मानन्धर म्याम झैँ ।
सुलोचना मानन्धर धिताल साँच्चि नै कवि हुन् र कविलाई कविडाँडामा स्वागत गर्न पाउँदा म निकै हर्षित छु ।