भरतपुर, ८ वैशाख ।
भरतपुर- १ मा रहेको योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एवम् अनुसन्धान केन्द्र वागीश्वरीलाई कम्प्युटर सहयोग प्राप्त भएको छ । गैरआासीय नेपाली संघ र ललितपुर -२७ की आफै सिर्जित आर्टिस्ट एना ढकालबाट ई-लाइब्रेरी सहितको डेक्सटप कम्प्युटर २ थान र ल्यापटप २ थान पुस्तकालयका संयोजक डीआर पोखरेललाई एक समारोहका बीच हस्तान्तरण गरिएको हो । ईलाइब्रेरीमा एक लाख साठी हजार विभिन्न विधाका पुस्तक रहेका छन् ।
डीआर पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वको रुपमा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उप- कूलपति इन्द्र रेग्मीले यस पुस्तकालयको विकास र अभिवृद्धिमा भरतपुर महानगरले हर तवरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । विशिष्ट अतिथि गैरआवासीय नेपाली संघका उपमहासचिव सोम सापकोटाले योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एवम् अनुसन्धान केन्द्र वागीश्वरीलाई पछि सम्म पनि सहयोग जारी राख्ने र ७० लाख गैरआासीय नेपालीलाई यो संस्था संग जोडने साथै राष्ट्र गुरु योगी नरहरिनाथले सिर्जना गर्नु भएका महत्त्वूर्ण पुस्तक छपाई र प्रकाशनमा यथा संभव सहयोग गर्न प्रतिबद्धता जनाए ।
ल्यापटप दाता एना ढकालका पिता एवम् श्री वागीश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमका सचिव नवराज ढकालले योगी नरहरिनाथ पुस्तकालयलाई नयाँ उचाइमा पुर्याउन पुस्तकालयको आवश्यकता र अनुरोधलाई स्वीकार गरी छोरीले सहयोग गर्नु भएकोमा धन्यबाद एवम् आभार प्रकट गरे । कार्यक्रमलाई श्री वागीश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमका संरक्षक शान्त प्रसाद पोखरेल र अध्यक्ष शैलेन्द्रकुमार पियाले यस्ता प्रकारका सहयोगलाई निरन्तरता दिँदै योगी नरहरिनाथले परिकल्पना गर्नु भएको वागीश्वरी माथि उठाउन सबैलाई अनुरोध गर्दै दातालाई धन्यवाद ज्ञापन गरे ।
सो कार्यक्रममा पुस्तकालय व्यवस्थापनका सदस्य प्राडा होमनाथ सापकोटाले स्वागत गरे भने कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव भोजराज भट्टराईले गरेका थिए ।