गैंडाकोट, १२ वैशाख ।
गैंडाकोट निवासी समाजसेवी केशवप्रसाद सापकोटाको आत्मकथा `अन्त्यहीन यात्रा´ विमोचन भएको छ ।
गैंडाकोटस्थित नारायणी रिसोर्टमा आयोजित कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल, गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीलगायतले कृति विमोचन गरेका हुन् ।
२००४ सालमा बाग्लुङ दमेकमा जन्मिएका सापकोटा चितवनको लङ्कुहुँदै गैंडाकोटमा बसोबास गरिरहेका छन् । सामाजिक, राजनीतिक, शैक्षिक, धार्मिक क्षेत्रका गतिविधिमा आवद्ध रहेर सेवा गरिरहेका सापकोटाको योगदान गैंडाकोट क्षेत्रमा प्रशंसनीय छ । सापकोटा तत्कालीन नारायणगढ गाउँ पञ्चायत वडा नम्बर ८ को दुईपटकसम्म वडाध्यक्षसमेत बनेका थिए । किताबमा सापकोटाले गरेका कामको चर्चा गरिएको छ ।
विमोचन कार्यक्रममा किताबका सन्दर्भमा वीरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक दामोदर रिजालले टिप्पणी राखेका थिए । रिजालले आत्मकथा लेखकको प्रतिच्छाया भएको बताउँदै यो कृतिमा सापकोटाको जीवन चरीत्र झल्किएको बताए । `उहाँले समाजका निमित्त, देशका निमित्त गरेका महत्त्वपूर्ण योगदानको अभिलेख उहाँको आत्मकथामा छ ।´ रिजालले बताए ।
सिमल बुक पब्लिकेसन्सले प्रकाशन गरेको पुस्तकको मूल्य ८५०/- रुपैयाँ छ । ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रमलाई नारायणप्रसाद तिवारीले अध्यक्षता गरेका थिए ।