नेपाली कलाको इतिहास हेर्दा लिच्छवि काललाई ‘कला विकासको स्वर्णिम काल’ भनेर मानिन्छ । ‘कला विकास’ भनेको मानव सभ्यता विकासको प्रमुख सूचक हो । मानव संस्कृति र विकासमा आधारित सभ्यतालाई कलाका रुपमा प्रस्तुत गरेर भावी पुस्ता र दुनियालाई ‘महत्वपूर्ण चिनो’ छोडेर जानका लागि लामो समय मात्र लाग्दैन, कैयौं शताब्दीहरु पर्खने धैर्यता समेत शासकहरूमा भयो भने मात्र यस क्षेत्रमा गरेको लगानीको प्रतिफल देखिन्छ भन्ने कुरा लिच्छवि शासकहरुले योजना बनाउने चरणदेखि नै बुझेर वाञ्छनीय धैर्यता कायम राखेको स्पष्टै देखिन्छ । देश–विदेशबाट कलाकार र कला पारखीहरुलाई बोलाएर गहिरो परामर्श गरेर मात्रै त्यो युगमै यति ठूलो निर्णय गरे होलान् उनीहरुले ।
त्यसबेला लिच्छवि शासकहरुले जे जति गरे ज्यादै महत्वपूर्ण निर्णय गरे अनि तदारुकताका साथ कार्यान्वयन पनि गरे । कला विकासको विस्तृत योजना तयार गरेर शासकले राख्नै पर्ने महत्वाकांक्षा अभिव्यक्त गरे । दृढतापूर्वक त्यसमा लागेर ठूलो इतिहास रचे । यसो गर्दा कलाको मात्रै सृजना भएन, तत्कालीन मानव विकास र सांस्कृतिक विकासलाई सुन्दर किसिमले लिपिबद्ध गरे, दुनियालाई देखाए । परिणामस्वरूप यो एउटा अभियान बन्यो । सभ्यता विकासको ज्वलन्त अभिलेख र साक्षी बन्न पुग्यो । यी कलात्मक अभिलेखहरु हेर्दा र यो इतिहास पढ्दा ती कलाप्रेमी शासकहरुप्रति नतमस्तक हुँदै गर्विलो सलाम र उच्च सम्मान समर्पण गर्न मन लग्यो ।
जब लिच्छविहरुले काठमाडौं उपत्यकामा कला सृजनालाई अभियानको रुपमा नै अगाडि बढाउन सुरु गरे, उपत्यकाका स्थानीय नेवार समुदायका नागरिकहरुले सृजनाको यस विधामा आफूहरु स्व–उत्प्रेरित हुँदै उपत्यका सिंगार्ने दिव्य सपनाका लागि आफूलाई दृढतापूर्वक समर्पण गरे । सृजनाको त्यो नशा उनीहरुका नयाँ पुस्तामा पनि स्वतः हस्तान्तरित हुँदैगयो । त्यसको ज्वलन्त साक्षी आजको चित्रकला–वास्तुकलाले सजिएको सांस्कृतिक उपत्यका र काठमाडौं उपत्यकाका ‘आदिवासी’ कलाकारहरु नै हुन्, जो आजसम्म पनि निरन्तर कला सृजनामा तल्लीन छन् ।
आज नेपालको इतिहासबाट एकपटक लिच्छवि शासकहरु र नेवार समुदायलाई बिर्सेर नेपालको ‘कला’ पक्षलाई हेर्ने हो भने केही देखिन्छ र ?
यही पृष्ठभूमिकै कारणले गर्दा काठमाण्डौ उपत्यकाले आफूलाई नेपाली सभ्यता र संस्कृति विकासको पहिलो र अन्तिम कोशेढुंगाको रुपमा स्थापित गरेको छ । पछि उपत्यकामा नै मल्लकाल र राणाकालहुँदै वर्तमानसम्म धेरथोर कलाविधामा श्रम, समय र स्रोतको लगानी भैरहेकोले पनि आफ्नो यो पहिचान कायम रहेको हो । त्यसबेलादेखि हालसम्मको त्यो अथाह श्रम, समय, स्रोत र समर्पणको लगानीका कारणले काठमाण्डौले समग्र कलामा नेपालको ‘अगुवाई’ गरेको छ । त्यसैले काठमाडौँले नै नेपालको तर्फबाट नेपाली मौलिक कला, सभ्यता र संस्कृतिको प्रतिनिधि बन्ने सौभाग्य प्राप्त गरेको छ । यहाँको मौलिक कला र सभ्यताको अध्ययन गर्न प्रशस्तै विदेशीहरु वर्षेनी नेपाल आइरहेका हुन्छन । विश्वभरि यो देश र काठमाडौँ उपत्यकालाई चिनाइरहेका छन् । संसारभरिका पर्यटकहरुबीच नेपाल लोकप्रिय हुनुको प्रमुख कारणहरुमध्ये यो पनि एउटा हो ।
चिनिया यात्रु ह्वेन–साङले ई. ६२९–६४३ ताका नेपाली कला, नेपालीहरुको कलाप्रेम र विशिष्ठ श्रेणीका नेपाली कला साधकहरु बारेको कुरा आफ्नो यात्रा संस्मरणमा खुलस्त वर्णन गरेका छन् । उनका अनुसार लिच्छविकालीन दरबारहरू चित्रकलाले सुसज्जित हुन्थे । दरबारियाहरु आफ्ना दरबारमा सजाइएका चित्रकलाकृतिहरु र ति कलाकारहरुका बारेमा अत्यन्तै उत्सुकता र इज्जत साथ वर्णन गर्न हौसिन्थे भन्ने कुरा पनि चिनिया यात्रुहरूले वर्णन गरेका छन् । आफ्नो यात्रा प्रसङ्गको वर्णनकै क्रममा युरोपियन ईसाई पादरी फादर डेसिडेरीले ई.१७२२को आफ्नो नेपाल भ्रमणको प्रसंगमा नेपाली वास्तुकलाको खुलेरै प्रशंसा गरेका थिए ।
त्यसपछिको नेपाली कला विकासको कुरा गर्दा इ. सं. १९५१ मा नेपालमा राणाकालको अन्त्य भई प्रजातन्त्रको उदयसँगै देशभित्र र बाहिर मानिसहरुको आवागमन स्वतः बढ्न थाल्यो । यतिबेलासम्म भारतीय कला शैली, परम्परा र विषयवस्तुद्वारा प्रभावित नेपाली कला जागतमा यस पछाडि भने विस्तारै खुलापन देखिन थाल्यो । मानिसहरुको बढ्दो आवागमनले पश्चिमीहरुसंगको उठ्बस पनि बढ्न थालेपछि नेपाली कला जगतमा थुप्रै पश्चिमी प्रभावहरु भित्रिन थाले । नेपाली कलाकृतिहरुमा प्रभाववाद, अभिव्यक्तिवाद, अति यथार्थवाद, अमूर्तवाद तथा केही हदसम्म घनत्ववाद शैलीहरु देखिन थाले । अब भने नेपाली कलाकारहरुले पनि निश्चित पृष्ठभूमिलाई आधार मानी त्यसको प्रभाव र मूल आकृतिमा व्यक्तिभित्रको भाव व्यक्त गर्नेतिर आफूलाई बढी केन्द्रित गर्न सुरु गरे ।
सम्भवतः यही फड्को माराइले नेपाली कलाका आम भावकहरु र कलाकारहरुबीच एक प्रकारको खालीपना (ग्याप) को सिर्जना भयो । कारण के भने कलाकारहरु आ–आफ्नो कलागत शैलीमा फरक धार ल्याउन तल्लीन थिए । पर्याप्त मात्रामा नयाँनयाँ प्रयोगहरु गर्न थाले । तर भावकहरु भने त्यसरी एक्कासि परिमार्जित शैलीका नव सृजित कलाकृतिहरुमा आएको यो फरकपनको कारण बुझिरहेका थिएनन् । त्यसैकारण ती नयाँखाले कलाहरु पढ्न पनि सकिरहेका थिएनन् भने कलाकारहरुचाहिं विश्व कलाबजारमा देखिएको परिवर्तन अनुसारको अ–आफ्ना कलाकृतिहरुमा नयाँपनको सृजना गर्ने धुनमा यसको प्रसङ्ग र अवधारणाबारे आम भावकहरुलाई बुझाउने काम छुट्न गइरहेको कुरामा हेक्का राख्न छुटाएका थिए । तर कतिले भने यो ग्यापबारे चाहेर पनि बुझाउन सकिरहेका थिएनन् ।
यही विशेष परिस्थितिको कारणले गर्दा नै नेपालका वर्तमान कला साधकहरु आफ्नो काम र अभिव्यक्तिको शैलीमा फरकपनसहितको निखार ल्याइरहेका छन् । नेपाली पर्यटन बजार तथा विज्ञापन बजारका केही ‘व्यावसायिक’ कलाकार्य, जसलाई ‘उपयोगी कला’ पनि भनिन्छ, लाई छोडेर नेपाली ‘ललितकला’ विधाका सर्जकहरुका कामहरुको बारेमा भन्नुपर्दा प्रायजसोले आफ्नो काममा ‘आफ्नोपना’को स्थापना गर्ने होडजस्तै चलिरहेको क्रम आजसम्म पनि छंदैछ । यस प्रवृत्तिलाई ‘फेस’ गर्न हिम्मत गर्ने कलाकारहरुको काममा गुणात्मक विशेषताहरु देखिंदै जानुले समग्र सृजनात्मक क्षेत्रमा नै सकारात्मक आन्दोलन ल्याइरहेको पाइन्छ । जुन कुरा नेपाली कला विकासक्रमको एउटा महत्वपूर्ण पक्ष मान्न सकिन्छ ।
इतिहासकै कुरा गर्दा शाहकालीन शासकहरुले कलालाई दरबार र दरबारियाहरुभित्र सीमित राख्न चाहेको देखियो । राम्रा कलाकारहरुलाई पहिचान गरेर दरबारमा राख्ने अनि आफ्नो इच्छा बमोजिमका कलाकार्यहरु गर्न लगाउने, ती कलाकार्यहरुले दरबार सजाउने, महत्वपूर्ण पाहुनाहरुलाई उपहारस्वरूप दिने, आफ्नो सर्कलको व्यक्तिचित्रहरु बनाउन लगाउने आदि कार्यहरु कलाको नाउँमा दरबारले त्यतिबेला नियमित रुपमा नै गर्थ्यो, गराउँथ्यो ।
त्यसपछिका शासकहरुले कला र सृजनाको नाउँमा गरेको काम भनेको “पर्यटन तथा संस्कृति मन्त्रालय” स्थापना गरेर एकजना ‘फूलमन्त्री’ र अर्को एकजना ‘राज्यमन्त्री’ गरेर दुइजना मन्त्रीहरु र केही कर्मचारीहरु नियुक्ति सम्म गरेको छ । उनीहरुले काठमाडौँमा तीनवटा “प्रज्ञा प्रतिष्ठान”हरुमा केही व्यक्तिहरुको ‘राजनैतिक नियुक्ति’ पनि गरेका छन् । अनि कोही कसैले कला, साहित्य, संगीत र संस्कृतिको नाउँमा केही सोधिहाले प्रज्ञा प्रतिष्ठानहरु तिरै देखाउंछ । उता गएर सोद्धा भने ‘अहिले बजेट छैन’, ‘काठमाडौँमा प्रदर्शनी वा सम्मेलन गर्ने बाहेक कार्यक्रम नै छैन’, ‘अर्को वर्षको कार्यक्रममा पारौँला’ भन्ने बाहेक केही नयाँ उत्तर भने पाइँदैन ।
अब प्रदेश र स्थानीय स्तरमा पनि त्यहि ‘प्रज्ञा प्रतिष्ठान’ स्थापनाको हावा लागिरहेकोछ । केही पलिकाहरुमा ‘प्रज्ञा प्रतिष्ठान’हरु खुलेका पनि छन् । तर एउटा उपभोक्ता समितिको भन्दा केही फरक हैसियत छैन विचरा उनीहरुको । कतिलाई त नगरपालिकाले खाता खोल्ने सिफारिस समेत दिंदैन । केहीलाई भने खाता सम्म खोल्न अनुमति दिएको छ, तर अधिकांश प्रज्ञा प्रतिष्ठानहरुमा त्यस खातामा पैसा पठाउन पालिकाले मान्दैन । ‘छुट्ट्याएको शिर्षक अनुसार काम गरेर बिल ल्याउनु, हामी पैसा तिर्दिन्छौँ ।’ उनीहरुको रेडिमेड जबाफ यही नै हो ।
‘सिस्टम’ले ढिलाई, झुलाई, दलाई र मलाई गरेछ भने के गरुन् विचराहरु ? यस्तै भन्छन् भुक्तभोगीहरु । जनप्रतिनिधिहरु जोत्नु, खन्नु, भत्काउनु र भाषण ठोक्नुबाहेक अरु कुरालाई विकास ठान्दैनन् र सभ्यता मान्दैनन् । कर्मचारीहरुले तिनै जोते–खनेका हिसाब मिलान गर्नु नै आफ्नो पहिलो र अन्तिम कर्तव्य एवम् प्रमोसनको एकमात्र आधार ठान्दछन् । सर्जकहरुका बिलमा भने जोत्ने, खन्ने, भत्काउने वा भाषण ठोक्ने भन्ने कुनै पनि ‘शीर्षक’ नदेख्दा फरफारक गर्न नसकी भोलि ‘महालेखा’ले बेरुजु गर्देला कि भन्ने डर हुनाले बरु केही नगरी बस्यो, हाइसन्चो । जनप्रतिनिधि वा कर्मचारीलाई कुनै बिचको व्यावहारिक बाटो निकालेर भए पनि कला–साहित्यका कामहरु नरोकौं भन्ने लागे पो केही गर्न सकिन्थ्यो । जसले गरूँ न त भनेर गर्न चाहेमा यस्ता समस्याहरुको समाधान तत्कालै गर्न सक्छ, उसलाई मतलबै छैन ।
नीतिमा लेखेको छैन, परिमार्जन गर्नेले त्यसो गर्न कुनै कारणनै देख्दैनन् । त्यो ‘लिखुरे’ कलाकारलाई मात्रै ‘कला विकास’को चिन्ता लागेर हुन्छ केही परिवर्तन यो देशमा ? यसरी निराशा बढिरहेको छ वर्तमान कला विकासका सपनाहरुमा । विचरा ति ‘लिखुरे’ चित्रकारहरूमा नागरिक–पारिवारिक दायित्व त छंदैछ, देशभक्ति पनि कसैको भन्दा कमि छैन । जसोतसो पसिना बगाएर दुइछाक हात–मुख जोर्ने जोहो ग¥यो, खुम्चियो । गर्न मिल्दासम्म त तयारै छन् । कसैगरी जोडजाम गर्न नसके हिँड्छन् ‘बाहिर’ ।
‘सरकारहरु’का कुरा के गर्नु ? उनीहरु ठूला छन्, छरपष्ट छन् र अनगिन्ती छन् । ठूलाका कुरा उनैले जानुन्, हाम्ले के गर्ने ?
मैले जानेबुझेसम्म उनीहरुको पेट भरिएको छ । ढुक्क छन् । न भोलिको चिन्ता, न भविष्यको सपना । त्यसैले आउनुस्, हामी सबैले मिलिजुली एउटा प्रार्थना गरौँ, ‘हे भगवान, अब यो देशभरिमा केवल एकजना ‘लिच्छवि’ जस्तै शासक जन्मियोस् । दिमागमा केवल ‘कला’ मात्र देखोस्, नेपाली ‘कला’को ‘आफ्नोपन’ देखोस्, त्यसैमा सबैको भलो देखोस्, त्यसैमा सबैको समृद्धि देखोस्, त्यसैमा सबैको भविष्य देखोस्, त्यसैमा सबैको आत्मविश्वास देखोस्, त्यसैमा प्रार्थना देखोस्, त्यसैमा ध्यान देखोस्, त्यसैमा कर्म देखोस्, त्यसैमा जागरण देखोस्, त्यसैमा सरस्वती देखोस्, त्यसैमा लक्ष्मी देखोस्, त्यसैमा दुर्गा देखोस्, त्यसैमा ऋद्धि देखोस्, त्यसैमा सिद्धि देखोस्, त्यसैमा मित्रता देखोस्, त्यसैमा मातृत्व देखोस्, त्यसैमा पितृत्व देखोस्, त्यसैमा भ्रातृत्व देखोस्, त्यसैमा पर्यटन देखोस्, त्यसैमा खेती देखोस्, त्यसैमा राष्ट्रवाद देखोस्, त्यसैमा सम्बन्ध देखोस्, त्यसैमा सुन्दरता देखोस्, त्यसैमा मानवीयता देखोस्, अनि त्यसैमा शान्ति देखोस् ।
सम्भव छ नि यो कुरा…. ? (वैशाख ६, २०८१, गैंडाकोट, नवलपुर)
(लेखक शर्मा पुराना चित्रकार हुन् ।)