भरतपुर, १३ वैशाख ।
कृति तथा व्यक्तिमाथि समीक्षा गर्दै तयार गरिएको पुस्तक `अलिकति फरक कुरा´ सार्वजनिक गरिएको छ ।
वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका उपप्राध्यापक एवम् अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातको निसमालोचना `अलिकति फरक कुरा´ सार्वजनिक गरिएको हो । बिहीबार सम्पूर्ण किताब नारायणगढमा आयोजित कार्यक्रममा साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईं, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री, कथाकार सिर्जन लम्साल, इतिहासविद कर्णबहादुर बानियाँ र लेखककी धर्मपत्नी रेखा श्रेष्ठले पुस्तक विमोचन गरेका हुन् ।
सङ्ग्रहमा २७ वटा समालोचना छन् । विभिन्न व्यक्ति र कृतिसँग नजिक भएर गहन अध्ययन गरी तयार पारिएका सामग्रीलाई लेखक प्रभातले कृतिमा समेटेका छन् । पुस्तकमाथि टिप्पणी राख्दै सरोज दवाडीले कृतिभित्रका समालोचना निबन्धशैलीमा लेखिएका र पढ्नलाई आनन्द आउने खालका भएको टिप्पणी राखे । त्यसैगरी डाक्टर एकनारायण पौड्याल र सुरेन्द्र अस्तफलले पनि कृतिमाथि समीक्षात्मक टिप्पणी राखेका थिए ।
सूर्यप्रकाश कँडेलले स्वागत गरेको कार्यक्रममा एलबी क्षेत्री र प्रमुख अतिथि प्रकाश चापागाईंले मन्तव्य राखेका थिए । लेखक प्रभातले देशभरीका प्रतिनिधि स्रस्टालाई समेटेर कृतिलाई राष्ट्रिय बनाउने कोसिस आफूले गरेको बताए । कथाकार सिर्जन लम्सालले अध्यक्षता गरेको कार्यक्रमलाई लेखराम सापकोटाले सहजीकरण गरेका थिए । रेखा श्रेष्ठले प्रकाशन गरेको पुस्तकको मूल्य ३००/- छ भने वितरकका रूपमा सम्पूर्ण किताब रहेको छ ।