भरतपुर, २२ वैशाख ।
दोभान कालिका नमुना टोल विकास संस्था भरतपुर –१० का १ सय दश घरधुरीलाई प्लाष्टिकजन्य फोहोरको उचित व्यवस्थापनका लागि डस्टबिन वितरण गरिएको छ । एम्स एब्रोड एजुकेशनको आर्थिक सहयोगमा भरतपुर–१० का वडाअध्यक्ष परमेश्वर खनालको प्रमुख आतिथ्यमा शनिबार एक कार्यक्रमकाबिच प्लाष्टिकजन्य फोहोरको उचित व्यवस्थापनका लागि डस्टबिन वितरण गरिएको हो ।
उक्त सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भरतपुर महानगरपालिका–१० का वडाअध्यक्ष परमेश्वर खनालले आआफ्नो घरबाट निस्कने फोहोरलाई मोहोरको रुपमा परिणत गर्न आग्रह गरे । वडाअध्यक्ष खनालले फोहोर व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
फरक प्रसङ्गमा खनालले यसवर्ष उत्कृष्ट नतिजा दिन सफल नारायणी नमुना माध्यमिक विद्यालयमा भरतपुर–१० का ४५ जना विद्यार्थी भर्ना भएको बताए । वडाले स्वास्थ्यबाट कोही बञ्चित नहोस् भनेर विभिन्न अस्पतालहरुसँग समन्वय गरेको पनि जानकारी दिए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै एम्स एब्रोड एजुकेशनका सञ्चालक कृष्ण कँडेलले आफ्नो संस्थाले आर्जन गरेको १५ देखि २० प्रतिशत रकम विभिन्न सामाजिक कार्यक्रममा सहयोग गरेको बताए । सुईरो कार्यक्रम नारायणगढका सचिव यमनाथ आचार्यले सुईरोले विभिन्न क्षेत्रमा फोहोर व्यवस्थापनका लागि काम गर्दै आईरहेको जानकारी दिए ।
दोभान कालिका नमुना टोल विकास संस्थाका अध्यक्ष दिवाकर ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सहजीकरण संस्थाका सचिव मुकुन्द पौडेलले गरेका थिए ।