नेपाली आख्यानको क्षेत्रमा कान्छो उपन्यासकार हुन्, सुभाष घिमिरे । झन्डै दुई दशक अमेरिका रहेर नेपाल फर्किएका उनी अहिले साहित्य साधनामा लीन छन् । पछिल्लो समयमा निस्किएको मौन विद्रोह यिनको पहिलो औपन्यासिक कृति हो ।
आख्यानले साहित्यिक बजार तताइरहेको यो समयमा आख्यानकार घिमिरेको प्रवेश आशलाग्दो देखिन्छ । सरुभक्त लिखित `चुली´ उपन्यासको अङ्ग्रेजी अनुवादसहित साहित्यमा प्रवेश गरेका घिमिरेको यस अघि `अमेरिका अनुभूति´ प्रकाशित भैसकेको छ ।
आकारमा सानो भएर पनि नेपाली उपन्यासको फाँटमा प्रस्तुत उपन्यास ‘मौन विद्रोह ‘ को अहिले फरक खालको चर्चा देखिन्छ । निजात्मक शैलीको प्रयोग गरिएको प्रस्तुत उपन्यासमा नारी संवेदनालाई पिँधमा पुगेर छाम्ने प्रयास गरिएको छ । एउटी नारीको मौन विद्रोह कति भयानक हुन्छ भन्ने कुरा पाठकले उपन्यास पढेर अनुभूत गर्नेछन् ।
उपन्यासभित्रको गहिरो कथा बुझ्न पाठकले एकपटक आख्यान पढ्नैपर्छ । एक बसाइमा सकिने यो सानो उपन्यासले पाठकलाई पढुन्जेल कौतूहल जगाइरहन्छ । सरल भाषा शैलीको प्रयोग गरेर लेखिएको यस उपन्यासमा मसिनो तर नवीन विषयलाई उठान गरिएको छ ।
अरुलाई खुसी बनाउन खोज्दा आफ्नै खुसीलाई तिलाञ्जली दिन पछि नपर्ने नारीको स्पर्शी कथा छ यसमा । आख्यानमा एउटी नारीलाई पुरुष समाजमा कसरी भोग्या वस्तुको रुपमा हेरिएको छ भन्ने कुरा पनि देखाइएको छ । त्यति मात्र नभएर एउटी नारीलाई दोस्रो नारीको व्यवहारकै कारण कसरी मृत्युको मुखसम्म पुर्याउन सक्छ भन्ने मसिनो विषयलाई पनि आख्यानमा देखाइएको छ ।
त्यस्तै छोटो समयमा हुने सानो घटनाक्रमको जादुमयी क्षणले कसरी दर्दनाक घटनाबाट जोगाउँछ भन्ने पनि उपन्यासमा पढ्न पाइन्छ । र , जीवनमा आफ्नो पनको आभास हुनेबित्तिकै मनभित्र ओइलाइसकेको फूल पनि एकाएक फक्रिन खोज्छ । पतझडको जीवनमा बहार आउँछ । समयको चिर प्रतीक्षा हुन्छ र जीवनका असङ्गतिहरू व्यवहारमा देखिन्छन् । यसरी एउटा लामो समयदेखिको मौनतालाई तोड्न सक्षम हुन्छन् नारी । अव्यक्त रुपमा गरिएको विद्रोह नै मौन विद्रोह हो । जुन विद्रोह नारीको दैनिक व्यवहारमा देखिन्छ तर अव्यक्त नै रहन्छ ।
अङ्ग्रेजी भाषा साहित्यमा राम्रो दखल भएका घिमिरेले आफ्नो उपन्यासलाई अङ्ग्रेजी भाषामासमेत अनुवाद गरेका छन् । सँगै बजारमा आएका `मौन विद्रोह´ र यसको अङ्ग्रेजी अनुवाद (The silent Rebellion) ‘द साइलेन्ट रिबिलियन’ एकैसाथ जन्मिएका दुई जुम्ल्याहा कृति हुन् । पहिलोपटक आख्यान विधामा प्रवेश गरेका घिमिरेका यी दुवै कृति अर्थपूर्ण देखिन्छन् ।
उपन्यासको अर्को राम्रो पक्ष भनेको यसमा प्रयोग भएको शैली हो । उपन्यास नयाँ शैलीमा आएको छ । उनले ‘मौन विद्रोह’ मा एउटी नारी पात्र अनामिकाको मनोविज्ञानलाई गम्भीरतापूर्वक प्रस्तुत गरेका छन् । त्यति मात्र नभएर अनामिकाको बाल्यकालदेखिको मनोभाव र विद्रोहसम्मका कुराहरूलाई रोचक रुपमा प्रस्तुत गरिएको छ । अनामिका नेपाली समाजकी एउटी प्रतिनिधि पात्र मात्र हुन् । यस्ता धेरै अनामिकाहरूले पुरुषप्रधान समाजमा गर्दै आएको मौन विद्रोहलाई आख्यानकारले सशक्त रुपले उठाएका छन् । प्रस्तुत आख्यानलाई नारीविद्रोहको सुन्दर अभिव्यक्तिको सङ्ग्रहको रूपमा पनि लिन सकिन्छ ।
सरल भाषामा भन्दा यो उपन्यास एउटी नारीको संघर्षको कथा हो । श्रीमान, घर परिवार र समाजबाटै पीडित महिलाहरूको यस्ता कथाहरू हाम्रा वरपर छरपष्ट छन् । तिनै पीडित महिलाहरू कसरी मौन विद्रोह गर्छन् भन्ने देखाइएको छ । आफ्नो अस्तित्वको लागि मौन विद्रोह गरेर पनि नारीहरूलाई जीवनमा अगाडि बढ्न कसैले रोक्न सक्दैन भन्ने बुझाउन उपन्यास सफल देखिन्छ । यसैमा उपन्यासकारको सफलतालाई जोडेर हेर्न सकिन्छ । यसकारण पनि उपन्यास रोचक र पठनीय छ ।