रत्ननगर, २२ वैशाख ।
रत्ननगर जेसीजको रजत जयन्ती तथा जेसीज सप्ताहको अवसरमा शनिबार आयोजित रत्नविज समिट कार्यक्रममा अर्थविद्ले नेपालको आर्थिक अवस्था र जिल्लाका उद्यमीहरुले सफलताको कथा सुनाएका छन् ।
उद्यमशीलतामार्फत जिल्लाको आर्थिक विकासको सम्भावनाको खोजी गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डाक्टर विश्वनाथ पौडेलले नेपालको अर्थतन्त्र, आर्थिक संकटको विषयमा तथ्यपरक विषयहरु प्रस्तुत गरेको उक्त कार्यक्रममा चटपट व्यापारीदेखि राष्ट्रिय स्तरको उद्योगका सञ्चालकहरुको कथा सुनाइएको थियो ।
नेपालको अर्थव्यवस्थाको र उद्यमीहरुले सफल हुन गरेको प्रयासका बारेमा युवाहरुलाई जानकारी गराउने उद्देश्यले आर्थिक विकास र उद्यमशीलतालाई जोडेर रत्नविज समिट कार्यक्रम आयोजना गरेको रत्ननगर जेसीजका अध्यक्ष नरहरि पुरीले जानकारी दिए ।
अर्थतन्त्रको वर्तमान र भविष्यलाई केलाउँदै युवाहरुलाई जिल्लामै उद्यमी बनाउन प्रेरित गर्ने दीर्घकालीन उद्देश्यका साथ विज्ञ र उद्यमीलाई एउटै मञ्चमा राखेर कार्यक्रम गरिएको उनले बताए ।
कार्यक्रममा अर्थविद् पौडेलसहित सौराहामा चटपट व्यवसाय गरिरहेका चन्दन चटपटका सञ्चालक चन्दन गुप्ता, रिजाल फुड एण्ड वेभरेजेज प्रालिका सञ्चालक पुरुषोतम रिजाल, मेरो किनमेलका सञ्चालक सन्तोष कँडेल, क्लोजेटकी सञ्चालक तथा महिला उद्यमी डाक्टर सन्ध्या कँडेल र पूर्व मिस नेपाल सुगारिका केसीको सफलताको कथा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपालको अर्थतन्त्र र आर्थिक संकटको बारेमा बोल्दै अर्थविद् डाक्टर पौडेलले सरकारले आम्दानी र खर्चको अनुपात मिलाउन नसक्दा आर्थिक संकट पैदा भएको बताए । पौडेलले वर्तमान आर्थिक संकटको अन्त्य गर्न राजश्व बृद्धि गरी अनावश्यक खर्च घटाउँदै दीर्घकालीन प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नुपर्ने सुझाब दिए ।
कार्यक्रममा प्रेसिडेन्सी कलेजबाट विजनेश मोडल क्यानभास सम्बन्धी प्रस्तुतिकरण गरिएको थियो । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा रत्नविज समिटका संयोजक सौरभ रिजालले कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पारेका थिए । उद्घाटन कार्यक्रम रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी, जेसीजका राष्ट्रिय उपाध्यक्ष अमर घिमिरे, निरुपीत उपाध्यक्ष सपना पौडेल, नारायणढ जेसीजका अध्यक्ष राजेन्द्र भट्टराई, रत्ननगर जेसीजका पूर्व अध्यक्ष सुन्दरलाल श्रेष्ठलगायतको उपस्थिति रहेको जेसीज सप्ताहका मुल संयोजक रामप्रसाद पाण्डेले जानकारी दिए ।
रत्ननगर जेसीजका अध्यक्ष पुरीको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर जेसीजका महासचिव सुरेशजंग पाण्डेले सञ्चालन गरेका थिए ।