भरतपुर, २२ वैशाख ।
चितवनका युवाहरूको छलफल तथा बहसको साझा मञ्च `लेट्स टक´को ८२औँ शृङ्खलामा पत्रकार/लेखक सूर्यप्रकाश कँडेल सहभागी भएका छन् । शनिबार बिहान भरतपुरस्थित चिया दरबारमा भएको `चिया गफ´ शृङ्खलामा पत्रकार तथा लेखक कँडेलले आफ्नो दैनिकी, साहित्य, पत्रकारिता र सम्बन्धका विषयमा खुलेर प्रस्तुत भए ।
पत्रकार कँडेलले स्कुलको जीवन सम्झिए । क्याम्पसका दिन सम्झिए । आफूले गरिरहेको पत्रकारिताको सकारात्मक पक्ष र आशा लाग्दा क्षणसँगै यसका बेथितिको पनि खुलेर चर्चा गरे । पत्रकारिताको नाममा गरिने धन्दाले यो क्षेत्र बदनाम हुँदै गएको र असली पत्रकारिता गर्नेहरूलाई पनि सजिलो नभएको उनले सुनाए ।
छलफलको रूपमा चलेको चियागफमा स्रोताले लेखक कँडेलसँग विभिन्न सन्दर्भमा जिज्ञासा राखेका थिए भने कँडेलले तिनको जवाफ दिएका थिए ।
पत्रकार विमर्श कँडेलको प्रश्न थियो, पहिले र अहिलेको परिवेश र पत्रकारितामा कस्तो अन्तर छ ? २०६२-६३ को जनआन्दोलनका बेलाको रिपोर्टिङ र न्युजडेस्क कस्तो पाउनुभयो ?
पत्रकारलाई नायक बनाएर लेखिएको `मोसो´ उपन्यासका लेखक कँडेलले भने, पहिले पैसामुखीभन्दा पनि जनमुखी पत्रकारिता थियो । अहिले जनमुखीभन्दा बढी पैसामुखी भएको छ पत्रकारिता । प्रविधिको विकासले काम गर्न सजिलो त बनाएको छ तर पत्रकारिताको मर्म विपरीतका कर्म हाबी हुन थालेका छन् ।
२०६२-६३ को जनआन्दोलनका बेला दिनहुँ सडकमा हुने जनप्रदर्शनको तस्बिर लिने, समाचार सङ्कलन गर्ने काम गरेको कँडेलले स्मरण गरे । पत्रकारिताभित्र विकृति बढ्न थालेपछि त्यसको विरोधमा आफ्नो अभिव्यक्तिका रूपमा मोसो लेख्नुपरेको उनले स्पष्ट पारे ।
लेट्स टकका सदस्य वासु सापकोटाको जिज्ञासा शान्त पार्दै लेखक कँडेलले निजी जीवनका सन्दर्भ र सम्बन्धबारे पनि बोलेका थिए । लेट्स टकका संयोजक आकाश पौडेलले यो मञ्चमा फरकफरक सन्दर्भमा रहेर कार्यक्रम गरिँदै आएको बताए । कार्यक्रममा पत्रकारिता, लेखन र लेखकको निजी जीवनका विविध आयामबारे खुलेर छलफल भएको थियो ।