भरतपुर, २२ वैशाख ।
सामुदायिक सेवा केन्द्र भरतपुरको छैटौं साधारणसभा तथा चौथो अधिवेशनले चिरञ्जीवी सुवेदीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिवार भरतपुरमा सम्पन्न अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा इ. भोजराज कौडेल, उपाध्यक्षमा नीलकण्ठ ढुंगाना, सचिवमा राजेन्द्रप्रसाद खनाल, कोषाध्यक्षमा रामशरण सत्याल तथा सहसचिवमा संगीता भट्टराई चयन भएका छन् । त्यस्तै निवर्तमान अध्यक्ष डाक्टर शारदा कुँवर मानार्थ सदस्य रहेको समितिको सदस्यमा शारदा शर्मा पौडेल, सिन्धु ढकाल, भगवती सापकोटा, दयाराम सुवेदी, विकास श्रेष्ठ, कमलकान्त शर्मा, ऋषिराम पौडेल र लक्ष्मीकान्त धिताल एवं आमन्त्रित सदस्यमा अम्बिका धिताल चयन भए ।
नवनिर्वाचित अध्यक्ष सुवेदीले समुदायको सेवाका लागि प्रहरीको साझेदारीमा विभिन्न कार्यक्रम गरी नागरिकको सुरक्षा र सचेतनाका लागि संस्थालाई अझै क्रियाशील बनाउने प्रतिवद्धता व्यक्त गरे । सेवा केन्द्रका सदस्य बर्दीबिनाका प्रहरी भएकाले समाजप्रतिको उत्तरदायित्वमा अझै शसक्त रुपले अगाडि बढ्नका लागि समितिका सदस्यहरुलाई आग्रह गरे ।
प्रहरी र समुदायको साझेदारीमा सञ्चालित सामुदायिक सेवा केन्द्र भरतपुरका अध्यक्ष डाक्टर शारदा कुँवरको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भावेष रिमालको अध्यक्षतामा अधिवेशनको उद्घाटन सत्र सम्पन्न गरिएको थियो ।
सामुदायिक सेवा केन्द्र भरतपुरले स्वास्थ्य, सरसफाई, तथा पर्यावरणीय संरक्षण गर्ने, मानव वेचबिखन, लागुऔषध दुर्व्यशनलगायत सामाजिक कुरितिहरुलाई दुरुत्साहन गर्नका लागि विभिन्न सचेतनामुलक कार्यक्रमहरु सचालन गर्ने गरेको छ ।
संस्थाले लागुऔषध प्रयोग तथा ओेसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस विशेष कार्यक्रम, मानव वेचबिखन नियन्त्रण सम्बन्धि जनचेतनामुलक कार्यक्रम, लागुऔषध दुर्व्यशन बिरुद्ध जनचेतनालगायतका कार्यक्रम सम्पन्न गरेको थियो ।