भरतपुर, २३ चैत ।
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरको दोस्रो राष्ट्रिय अधिवेशन चैत २४ गते शनिबार नारायणगढमा हुँदैछ । अधिवेशनले लायन वर्ष २०२४/०२५ को नेतृत्व चयन गर्नेछ । मुल आयोजक समितिकी संयोजक लायन दुर्गालक्ष्मी श्रेष्ठका अनुसार विभिन्न २४ वटा समिति तथा उपसमितिहरुले आफ्ना सम्पूर्ण कामहरु सम्पादन गरिसकेका छन् ।
श्रेष्ठका अनुसार अधिवेशनको समुद्घाटन राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय नारायणप्रसाद दाहालबाट हुनेछ । कार्यक्रममा जिएटी एरिया लिडर खगेन्द्र सिटौला, मल्टिपल काउन्सिल चियरपर्सन सिबी चन्दलगायतको उपस्थिति रहने छ ।
अधिवेशनले डिष्ट्रिक्ट गभर्नर, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर, द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नरलाई निर्वाचित गर्नेछ । लायन अन्तर्राष्ट्रियको नियमावली अनुसार निर्वाचित गभर्नरको कार्यकाल १ वर्षको हुनेछ । अर्थात जुलाई १ गतेबाट कार्यकाल शुरु भई जुन ३० सम्म हुनेछ । लायन्सका सबै डिष्ट्रिक्ट तथा क्लबहरुले कार्यकाल सकिनुभन्दा करिब ३ महिना अगाडि नै अघिवेशन गर्ने परम्परा छ । सोही अनुसार डिष्ट्रिक्ट ३२५ आरको चैत २४ गते निर्वाचन हुन लागेको हो ।
गभर्नर पदमा दिनानाथ न्यौपाने, प्रथम भाईस डिष्ट्रिक्ट गर्भनर पदमा नवराज सापकोटाको एकल उम्मेदवारी परेको छ भने द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नरमा भने लायन प्रभाकर पण्डित र कमलप्रसाद श्रेष्ठ बिच प्रतिस्पर्धा हुनेछ ।
अधिवेशनमा १३५७ जनाको प्रत्यक्ष सहभागिता रहनेछ । डिष्ट्रिक्ट ३२५ आरका कोषाध्यक्ष सञ्जयनाथ जोशीका अनुसार डिष्ट्रिक्ट ३२५ आरमा १९८ जना मतदाता भए पनि समयमा क्लबको नवीकरण नगरेका कारण २९ वटा क्लब-मतदाता मतदानका लागि बञ्चित भएका छन् ।
सन १९१७ मा अमेरिकामा लायन्स क्बलको स्थापना भएको थियो । नेपालमा भने १९७१ अगष्ट ९ मा स्थापना भएको लायन्स क्लब अफ बिराटनगर पहिलो लायन्स क्बल हो । हाल नेपालमा १५ बटा डिष्ट्रिक्ट रहेका छन् । ति डिष्ट्रिक्टहरुमा करिब ४० हजार लायन सदस्यहरु रहेका छन् । संसारभरी १३ लाख ५० हजार भन्दा धेरै लायनका सदस्यहरु रहेका छन् ।
सन १९८२ मा स्थापना भएको लायन्स क्लब अफ नारायणगढ चितवनको पहिलो र नेपालको तेह्रौँ पुरानो लायन्स क्लब हो । डिष्ट्रिक्ट ३२५ आरमा २०८० चैत १ गतेसम्म १६७ बटा क्लब र ३८५५ जना लायन सदस्यहरु छन् ।
डिष्ट्रिक्ट ३२५ आरमा काठमाडौंका केही, चितवन र नवलपुर क्षेत्रका सबै लायन्स क्लबहरु समेटिएका छन् ।