मकवानपुर, २२ वैशाख ।
मकवानपुरको हेटौंडामा शनिबार ९ जना स्रष्टा सम्मानित भएका छन् । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले विभिन्न क्षेत्रका ९ जना स्रष्टालाई सम्मानित गरेको हो ।
प्रतिष्ठानले कला साधक भीम विराग सक्रिय रहेका क्षेत्रहरु साहित्य, सङ्गीत, कला र पत्रकारिता चारवटा क्षेत्रका स्रष्टालाई हेटौंडा उपमहानगरपालिकाको सहयोगमा स्थापना भएको ४ वटा पुरस्कारबाट सम्मानित गरेको छ । यस्तै प्रतिष्ठानले विगत वर्षहरूदेखि नै भाषा, कला, सङ्गीत तथा विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिलाई प्रदान गर्दै आइरहेका अन्य ५ पुरस्कार समेत प्रदान गरेको छ ।
भीम विराग राष्ट्रिय साहित्य पुरस्कार, २०८० कुन्ता शर्मा (सुनसरी), भीम विराग राष्ट्रिय सङ्गीत पुरस्कार, २०८० लाल श्रेष्ठ (मकवानपुर), भीम विराग राष्ट्रिय कला पुरस्कार, २०८० बी.एस. राना (मकवानपुर) र भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार, २०८० जयदेव भट्टराई (ललितपुर) लाई प्रदान गरिएको हो । उक्त ४ वटै पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको महासचिव छवि अनित्यले बताए ।
शनिबार नै प्रतिष्ठानले तुलसीमाया शिवकुमारी सृजनशील नारी पुरस्कार, २०८० मञ्जु खराल (मकवानपुर) लाई प्रदान गरेको छ । मुक्तिगोविन्द वैद्यले स्थापना गरेको उक्त पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ । यस्तै १५ हजार रुपैयाँ राशी रहेको शिला नारी पुरस्कार, २०८० निरु मगर (मकवानपुर) लाई प्रदान गरिएको छ । उक्त पुरस्कारका संस्थापक आशीष श्रेष्ठ हुन् ।
यस्तै रामकृष्ण बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार, २०८० गीतकार पम्फा थापा मगर (मकवानपुर) लाई प्रदान गरिएको छ । संस्थापक चुन बानियाँ रहेको उक्त पुरस्कारको राशी २० हजार रहेको छ । यसैगरी १० हजार राशी रहेको मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार, २०८० सिमा मिश्र (मकवानपुर) लाई प्रदान गरिएको छ । उक्त पुरस्कारको संस्थापक देवप्रसाद श्रेष्ठ र दीपकप्रसाद श्रेष्ठ हुन् । यस्तै १० हजार राशी रहेको अजित सेन गुप्ता भिन्न क्षमता पुरस्कार, २०८० अन्जु धिताल (बारा) लाई प्रदान गरिएको छ । दृष्टिविहिन धितालले अध्यापन क्षेत्रमा सक्रिय छिन् । उक्त पुरस्कारका संस्थापक रोशन सेन गुप्ता हुन् ।
वरिष्ठ कलासाधक भीम विरागको सम्मानमा २०५९ साल भदौ ७ गते स्थापना भएको भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रमा क्रियाशील संस्था रहेको महासचिव छवि अनित्यले बताए । संस्थाले मकवानपुरबाट वार्षिक रुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान समर्पण गर्दै आइरहेको उनले जानकारी दिए ।
आजै प्रदान गरिने गरि यसअघि निर्णय गरिएको अन्य दुई पुरस्कारहरु भीम–मथुरा बाल प्रतिभा पुरस्कार २०८० र चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, २०८० भने प्राविधिक कारणबस प्रदान गर्न नसकिएको प्रतिष्ठान अध्यक्ष केशवलाल श्रेष्ठले बताए ।