भरतपुर, १७ वैशाख ।
नेपाली लेखक सङ्घ , चितवनको आयोजनामा दोस्रो राष्ट्रिय लेखक दिवस विशेष कार्यक्रमका साथ सम्पूर्ण किताब नारायणगढमा मनाइएको छ ।
अनौपचारिक बहस कार्यक्रममा लेखन र पठन संस्कृतिका विषयमा गम्भीर वार्ता भएको नेपाली लेखक सङ्घ चितवन शाखाका अध्यक्ष सुरेन्द्र अस्तफलले बताए । विशेषगरी चितवनको साहित्यमा केन्द्रित बहसमा साहित्यकारहरूले आफ्नो लेखन , पठन एवम् चितवनको साहित्यको विविघ स्वरूपको विषयमा आआफ्ना कुरा राखेका थिए । समग्रमा चितवनमा साहित्यिक अभिभावकको कमी भएको , फरकफरक शिविरबाट साहित्य लेखिने गरेको र नेपाली साहित्यलाई हस्तक्षेप गर्न अझै गहन लेखनको आवश्यकता रहेको निष्कर्ष लेखकहरूले सुनाएका थिए ।
नेपाली लेखक सङ्घ केन्द्रीय समितिले वैशाख १६ गतेलाई राष्ट्रिय लेखक दिवसका रूपमा मनाउने गरेको छ । यहि दिवसमा प्रतिलिपी अधिकार ऐन, लेखकस्व र लेखक अधिकारका विषयमा राष्ट्रिय स्तरमा चर्चा गरिएको चितवन शाखाका अध्यक्ष अस्तफलले बताए ।
कार्यक्रममा अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभात, पत्रकार सूर्यप्रकाश कँडेल, वसन्त पराजुली, लेखराम सापकोटा, एकदेव रिमाल, नारदप्रसाद परिहस्त, गोकर्ण मल्ल, सरिता तिवारी, विश्वनाथ खनाल, गणेश श्रमण, श्यामजी अतिथि सेढाई, प्रकाश थापा, रञ्जन घिमिरे, रमानिधि पन्त, कमल अर्याललगायतले आफ्नो लेखन र पठनका सन्दर्भमा चर्चा गरेका गरेका थिए ।