भरतपुर, १४ वैशाख ।
काठमाडौंमा १३ वर्षअघि स्थापना भएको फुडमाण्डुले शुक्रबारदेखि आफ्नो सेवा चितवनमा पनि सुरू गरेको छ । फुड डेलिभरी कम्पनी फुडमाण्डुको सेवा काठमाडौं उपत्यकापछि पोखराहुँदै चितवनमा पनि बिस्तार गरिएको हो ।
फुडमाण्डुले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो सेवा चितवनमासमेत बिस्तार भएको जानकारी गराएको छ । कम्पनीका संस्थापक एवं प्रबन्ध निर्देशक मनोहर अधिकारीले मोबाइल एप फुडमाण्डु र अनलाइनबाटसमेत खानेकुराको अर्डर लिई तोकिएको ठाउँमा डेलिभरी दिने गरिएको बताए ।
`फुडमाण्डुले रेष्टुरेण्टहरूमा पाइने खानालाई उपभोक्तासम्म ल्याइदिने काम गर्छ´अधिकारीले भने, `हामी फुडमाण्डुलाई फुड डेलिभरीको अग्रणी कम्पनीकोरूपमा नेपालका मुख्य सहरहरूमा फैलाउने योजनामा छौं ।´ उनका अनुसार फुडमाण्डुसँग अहिले हजारभन्दा बढी रेष्टुरेण्ट आबध्द छन् ।
रेष्टुरेण्ट एण्ड बार एसोसिएसन चितवन च्याप्टरका अध्यक्ष अच्युतराज भट्ट पत्रकार सम्मेलनका प्रमुख अतिथि थिए । उनले रेष्टुरेण्ट जाने ग्राहकको अभाव भइरहेको अवस्थामा फुडमाण्डुले घरमै सेवा दिन सुरू गर्नाले आर्थिक क्षेत्र चलायमान बनाउन सहयोग पुग्ने बताए ।