भरतपुर, १३ वैशाख ।
भरतपुर महानगरपालिकाको फोहोर व्यवस्थापनमा सुइरो कार्यक्रम चितवन नारायणगढको भूमिका महत्त्वपूर्ण रहेको सरोकारवाला निकायका प्रतिनिधिहरुले बताएका छन् ।
सोमबार नारायणगढको उद्योग वाणिज्य संघको सभाहलमा सुइरो कार्यक्रमको १४औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनमा सरोकारवाला निकायका प्रतिनिधिहरुले भरतपुर महानगरको फोहोर व्यवस्थापनमा सुइरो कार्यक्रमको भूमिका बढी रहेको बताए ।
कार्यक्रमका प्रमुखअतिथि भरतपुर महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विकास थापाले प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा सुइरो कार्यक्रम प्रभावकारी बनेको बताए । उनले भने, ‘सुइरो कार्यक्रमले प्लास्टिकजन्य फोहोर टोल–टोलमा गएर उठाउँदै रिसाइक्लिङ गरेर नयाँ सामग्री बनाइरहेको छ ।’
वडाध्यक्ष थापाले सुइरो कार्यक्रमले फोहोर व्यवस्थापन गर्न जग्गा खोजी गरिरहेको हुनाले त्यसका लागि आफू निरन्तर लागिरहेको बताए । उनले भने, ‘सार्वजनिक जग्गा उपलब्ध गराउन मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्ने प्रावधान रहेछ, यसका लागि म निरन्तर लाग्नेछु । सबैको साथ र सहयोग मिलेमा अवश्य सफल हुन सकिन्छ ।’
कार्यक्रममा उवासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, संस्थापक संयोजक, नारायण प्रधानलगायतले सुइरो कार्यक्रमको फोहोर व्यवस्थापनमा सक्रिय भूमिका रहेको बताएका थिए । कार्यक्रमको अध्यक्षता गरेका सुइरो कार्यक्रमका अध्यक्ष डिल्लीराम सापकोटाले टोल–टोलमा गएर सुइरो कार्यक्रमले प्लास्टिकजन्य फोहोर उठाइरहेको बताए । कार्यक्रममा कोषाध्यक्ष र सचिवको प्रतिवेदन पारित भएको थियो । सचिव दीपा शाहीले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
हेमराज पौडेलको नेतृत्व
सातौँ अधिवेशनले सुइरो कार्यक्रमको अध्यक्षमा हेमराज पौडेललाई सर्वसम्मतरुपमा निर्वाचन गरेको छ । वरिष्ठ उपाध्यक्षमा दीपा शाही, उपाध्यक्षमा तेजेन्द्र सापकोटा, सचिवमा यमनाथ आचार्य, कोषाध्यक्षमा युगलकुमार श्रेष्ठ रहेका छन् ।
सदस्यहरुमा ऋषिराम खनियाँ, कुशल लामिछाने, शंकरप्रसाद घिमिरे, दीपक काफ्ले, शेखर श्रेष्ठ र विष्णु रायमाझी रहेका छन् । निवर्तमान अध्यक्ष डिल्लीराम सापकोटाले केही सदस्य पछि थपिने गरी १३ सदस्यीय कार्यसमिति बनाइएको बताए ।