(म नियमित डायरी लेखक त होइन, तर पनि कहिलेकाहीँ मन बहलाउन लेख्छु । यस्तै अनियमित खालको डायरी लेखनको नियमित तीन दिन यहाँका लागि पेस गरेको छु । पाठकबृन्द यहाँले पक्कै पनि स्वीकार गर्नु हुनेछ भन्ने आशा गरेको छु । गल्ती भए माफ पाऊँ ल ।)
२०८० साल चैत्र २९ गते बिहीबार
परिवारका साथमा बसेको भए पनि आज घरमा एक्लो छु म । श्रीमतीजी छोरी लिएर नयाँ वर्ष मनाउन माइत हिँडेकी छिन् । सधैँ आफू मात्र कति डुलिहिँड्नु त ? कहिलेकाहीँ उनीहरू पनि जाऊन् न त । घरमा म छु, मेरो साथी ‘जिम्मी’ छ, अनि छन् वरिपरि छरिएर पालो कुरी बसेका किताबहरू । मलाई देखेपछि “मेरो पालो कहिले आउँछ ?” भनी प्रश्न गर्छन् ती किताबहरू । म तिनलाई चित्तबुझ्दो जवाफ दिन सक्दिनँ, किनकि म योजना बनाएर चल्ने प्राणी नै होइन । मेरो मर्जी, हो, म जे मन लाग्छ, त्यही पढ्छु । कहिलेकाहीँ भने केही बोल्न र लेख्न पर्ने बाध्यताका कारण पनि निर्धारित समयमा निर्धारित कुरा पढ्छु म । आजीविकाका लागि पढ्ने कुरा त बेग्लै हो ।
टेबुलमा रहेर पनि धेरै दिनदेखि पालो कुरेर बसेको कथाकार केशबमोहन अधिकारीको ‘रक्की पर्वतका चुचुराहरू’माथि आँखा पर्छ । ठिकै छ नि त भनेर पढ्न सुरु गर्छु । कुनै खालको परीक्षामा लेख्न नपर्ने, तत्काल कतै बोलिहाल्न पनि नपर्ने र कुनै पत्रिकामा लेखिहाल्न पनि नपर्ने भएकाले बडो सुस्त तरिकाले पढाइको गति अगाडि बढ्छ । कूल १४४ पृष्ठको आयाममा फैलिएको यो कथाकृतिमा जम्मा सोह्रवटा फुटकर कथाहरू समेटिएका रहेछन् । किताबमा कुनै समीक्षकको भूमिका नराखिएको भए पनि लेखकीय मन्तव्य भने राखिएको रहेछ ।
कुनै किताब हातमा लिएपछि सुरुमा भूमिका पढ्ने बानी छ मेरो । लेखकले आफ्ना कथाका बारेमा भनेका कुरा मनप¥यो मलाई । दिउँसो सुरु गरेको किताबको भूमिका मात्र पढेर लागेँ साँझमा क्याम्पसतर्फ । स्नातकोत्तर तहमा सायंकालीन कक्षा लिन्छु म । आफ्नो पेसा हो, पढाउन त जानै पर्यो नि ।
साँझ सात बजे घरमा फर्कें । फ्रिजमा बिहानको खाना छँदै थियो । खाना तताएर खाएलगत्तै लागेँ कथाको अध्ययनतर्फ । पढाइको रफ्तार कम भएकाले आजका दिनमा सुरुका जम्मा चारवटा कथा मात्र पढेर सकेँ । पहिलो कथा ‘ताराको ताज’ जम्मा आठ पृष्ठको आयाममा फैलिएको कथा हो । यसमा उमेर पुगेर पनि विवाह हुन नसकेकी मनीषाको कथा छ । यसमा विवाहका लागि जति युवकको फोटो देखाउँदा पनि अस्वीकार गर्दै आएकी उसले अन्त्यमा फूपूले ल्याएको केटासँग विवाह गर्न राजी भएको कुरा देखाइएको छ ।
कृतिभित्रको दोस्रो कथा ‘सेतो सहरमा’ हो । जम्मा छ पृष्ठको आयाममा फैलिएको यस कथामा क्यानाडाको क्यालगरी सहरमा बसेको ऊ पात्रको कथा बुनिएको भए पनि यसमा नेपाल र क्यानाडाका घटना बराबर अगाडि बढेको छ । त्यसैले यो नोस्टाल्जिक खालको कथा हो । त्यस्तै तेस्रो कथा ‘पराकम्पन’ पनि जम्मा आठ पृष्ठको आयाममा फैलिएको छ । यसमा पनि क्यानाडाको क्यालगरीमा बसेको म पात्रले आफ्नो जीवनको अतीतलाई वर्णन गरेको छ । यसमा समाख्याताले चितवनको सम्झना गर्दै विद्यालय तहमा पढेकी युवती क्यानाडामा भेटिएको र उसँग राम्ररी बोल्न नपाएको कुरा चर्चा गरेका छन् ।
‘रक्की पर्वतका चुचुराहरू’को चौथो कथा ‘धनी मान्छे’ जम्मा दश पृष्ठको आयाम ओगटेको कथा हो । यसले पनि क्यानाडाको क्यालगरीलाई नै आधार बनाएर चित्रण गरेको छ । यसमा समाख्याताले क्यानाडामा आप्रवासीका रूपमा बसेको मार्टिन नामक मगन्तेलाई चित्रण गर्दै उसको सम्पन्न परिवार कसरी भताभुङ्ग भयो भन्ने देखाएका छन् । यति कथा पढेर सक्दा रातको दश बजिसकेछ । अब त सुत्नुपर्छ । भोलि बिदा छैन तर काम पनि गर्नु छैन । शरीरलाई आराम पनि त चाहियो नि ।
२०८० साल चैत्र ३० गते शुक्रबार
आज वर्षको अन्तिम दिन । क्याम्पसमा बिदा त छैन तर विद्यार्थीहरूले हिजै पढ्न नआउने कुरा गरेका छन् । बिहानै उठेर चिया पिएपछि हाजिर गर्न लागेँ क्याम्पसतिर । साँझमा नयाँ वर्षको स्वागतका लागि छपक्कै कार्यक्रमहरू गरिएको प्रचार सुनिएको छ । त्यति धेरै ध्यान दिन्न म, नारायणगढ र गैँडाकोटमा नारायणी वारि र पारि ठुला ठुला कार्यक्रमहरू हुँदै छन्, यत्तिचाहिँ थाहा छ । त्यसले मेरो ध्यान तानेको भए पो ? आफू त बेलैमा बुढो हुन थालिएछ क्या हो ? यस्ता खालका नाचगानका कार्यक्रमहरूले छुनै छाडेछ । त्यसको सट्टा किताबले तान्छ बरु ।
क्याम्पसबाट फर्किएपछि हिजो पढ्दै गरेका ‘रक्की पर्वतका चुचुराहरू’मै घोत्लिन थालेँ । मैले आजका दिनमा सातवटा कथा पढेर सकेँ । पाँचौँ कथा ‘गोफरहरू’ सात पृष्ठको आयाममा फैलिएको रहेछ । यो कथा वातावरणमैत्री कथा लाग्यो मलाई । खुल्ला ठाउँमा बस्ने ससाना जङ्गली जनावरहरू त्यहाँ घर वा त्यस्तै कङ्क्रिटको संरचना बनाइदिँदा कसरी विस्थापित हुन बाध्य हुन्छन् भन्ने कुरा देखाइएको छ यो कथामा ।
कृतिभित्रको छैटौँ कथा ‘प्रस्थान’ले जम्मा दश पृष्ठको आयाम ओगटेको छ । यसमा नेपालमा जति दुःख गर्दा पनि कमाइ गर्न नसकेपछि कसरी युवाहरू कामको खोजीमा विदेश पलायन हुन्छन् भन्ने कुरालाई मार्मिक तरिका चित्रण गरिएको छ ।
कृतिको सातौँ कथा ‘रक्की पर्वतका चुचुराहरू’ कथाकृतिको शीर्षकसँग मेल खाने कथा हो । यसले अरुभन्दा बढी तेह्र पृष्ठको आयाम बोकेको छ । यसमा पनि क्यानाडाको कथा छ । यसमा नेपालबाट अर्कै बाटो क्यानाडा छिरेर त्यहाँको नागरिक बनिसकेको म पात्रद्वारा पढाइका सिलसिलामा क्यानाडा पुगेकी प्रियाको प्रेम सम्बन्धको सम्झना गरिएको छ, यसर्थ यो पूर्वदीप्ति शैली प्रयोग गरिएको कथा हो । आफ्नो पढाइ सकेपछि नेपाल फर्कन चाहेकी प्रिया र क्यानाडामा भविष्य खोज्न चाहेको म पात्रको प्रेम दुर्घटित भएको कुरा यसमा राम्ररी देखाइएको छ ।
यो कृतिको आठौँ कथा ‘दौड’ले जम्मा सात पृष्ठको आयाम ओगटेको छ । यो कथाभन्दा पनि निबन्धजस्तो लाग्छ । यसमा पितापुर्खादेखि विभिन्न दार्शनिकको जीवनयात्रालाई सम्झना गरिएको छ । नवौँ कथा ‘सम्झना’ले जम्मा एघार पृष्ठको आयाम ओगटेको छ । यसमा अस्ट्रेलिया जानका लागि आयल्स् गर्दै गर्दा परिचय भएकी र पछि प्रेममा परेकी सम्झनाको सम्झना गरिएको छ । सम्झनालाई अस्ट्रेलियाको भिसा लागे पनि म पात्रलाई भिसा नलागेका कारण उनीहरू छुट्टिएको कुरा गरिएको छ । म पात्र डि.भी. परेर हाल अमेरिकामा बस्ने गरेको छ । सम्झनालाई बिर्सेको भए पनि अठार वर्षपछि कोभिड सङ्क्रमणका समयमा फ्रन्टलाइनर नर्स भएर काम गर्दै गर्दा उसको कोभिडकै कारण देहान्त भएको खबरले म पात्र मर्माहत भएको कुरा गरिएको छ ।
कृतिभित्रको दशौँ कथा ‘अनुत्तरित प्रश्नहरू’ले पनि सात पृष्ठको आयाम ओगटेको छ । यसमा नेपालबाट विदेश गएर पनि शिक्षकको भूमिकामा रहेको म पात्रको कथा बुनिएको छ । एउटा म्याक्स भन्ने फुच्चे विद्यार्थीले उसले भनेको नमान्ने गरेको कुरा चित्रण गर्दै शिक्षक र विद्यार्थीका बिचमा हुने टकरावलाई मार्मिक तरिकाले देखाइएको छ, त्यसैले यो मनोवैज्ञानिक खालको कथा हो । त्यस्तै एघारौँ कथा ‘सपना’ले पनि जम्मा आठ पृष्ठको आयाम ओगटेको पाएँ । यो कथामा नेपाल र क्यानाडा बराबर रूपमा आएका छन् । नेपालमा क्याम्पस पढाएर जीवन चलाइरहेको म पात्र कलाकार टोलीमा मिसिएर क्यानाडा गएको, त्यहाँ लुकेर बसेको, पछि शरणार्थीका रूपमा आफूलाई परिवर्तन गराएको र बिस्तारै उतैको कागजात बनाएर बसेका कथालाई मार्मिक तरिकाले उतारिएको छ । यो त्यतिबेलाको प्रायः नेपालीको कथा हो भन्ने मलाई लाग्यो ।
सातवटा कथा पढेर सक्दा साँझको छ बजिसकेछ । बेलुकाको लागि खाना पनि त पकाउनुपर्यो । खाना पकाएर सकेपछि केही बेर फेसबुकलगायतका सामाजिक सञ्जालमा पनि त बस्नै प¥यो । खाना खाएपछि केही बेर युट्युबमा दार्शनिक र मनोरञ्जनात्मक कार्यक्रम हेरियो । मोमाइलको स्क्रिनमा हेर्न छोडेर यसो भित्तेघडीतिर आँखा लगाएको त रातको दश बजिसकेछ । हो, अब त सुत्नुपर्छ । धेरै बेरसम्म बस्ने बानी जो छैन ।
२०८१ साल वैशाख १ गते शनिबार
आज वर्षको पहिलो दिन अर्थात् नयाँ वर्षको दिन । आज क्याम्पस छुट्टी छ मेरो, सार्वजनिक बिदा पो हो त । घरमा एक्लो छु म । उठ्न पनि केही हतारो छैन मलाई । घरमा अरु कोही नभएकाले कतै जाने योजना पनि छैन । बिहान अलिक ढिलो उठेर नुहाइधुवाइ गर्छु । चिया पकाउँछु र एकछिन सामाजिक सञ्जालमा शुभकामना आदानप्रदान गर्नतर्फ लाग्छु । बिहान त कति छिट्टै बितिजान्छ हगि ? ए साँच्ची हामी हरेक दिन कति समय सामाजिक सञ्जालमा व्यस्त हुन्छौँ होला ? मैले त हिसाबकिताब राखेको छैन, तपाईंले राख्नुभएको छ ? अब त मैले पनि राख्नु पो पर्छ कि क्या हो ! एक्लो ज्यान भए पनि खान त पर्छ नै । खाना पकाएर खान्छु अनि लाग्छु फेरि ‘रक्की पर्वतका चुचुराहरू’तर्फ । भोलिदेखि त पुरानै शैलीमा काममा व्यस्त जो हुनु छ ।
मैले आजका दिनमा यो कृतिका पढ्न बाँकी पाँचवटा कथा सर्सर्ती पढेर सकेँ । कृतिभित्रको बाह्रौँ कथा ‘के जिन्दगी यसरी नै चल्छ ?’ले जम्मा नौ पृष्ठको आयाम ओगटेको रहेछ । यसमा क्यानाडा बस्दै आएको म पात्र र उसँग लिभिङ टुगेदरमा रहेकी जेनीको कथा छ । विदेशमा यसरी कोठामा सँगै बस्दा पैसाको बचत त हुन्छ नै थप अरु केके हुन्छ भन्ने कुरालाई यसमा देखाएको पाएँ । त्यस्तै तेह्रौँ कथा ‘पर्खनेहरू’ले पनि नौ पृष्ठकै आयाम ओगटेको पाएँ । यसमा नेपालभित्रको दश वर्षे जनयुद्धको सम्झना गरिनुका साथै त्यसपछि विदेश पलायन हुने गरेका युवाहरूको कथा बुनिएको छ । जसरी घरबाट निस्के पनि घरमा बस्नेहरूलाई पर्खनेहरू भनेर उनीहरूको पर्खाइको पीडालाई यसमा मार्मिक तरिकाले उतारिएको छ ।
कृतिभित्रको चौधौँ कथा ‘गङ्गा’ले सबैभन्दा बढी चौध पृष्ठको आयाम ओगटेको छ । यो दश वर्षे जनयुद्धको सम्झना गरिएको कथा हो । यसमा म पात्रसँग केही समय बोर्डिङ स्कुल सँगै पढाएकी गङ्गा एकाएक भूमिगत भएकी, केही समयपछि सोही बोर्डिङ बन्द गराउन आउँदा भेट भएको, त्यसपछि म पात्र काठमाडौँ हानिएको, त्यसपछि गङ्गासँग भेट नभएको कुरा गरिएको छ । देशमा शान्ति स्थापना भएपछि अन्य भूमिगत व्यक्तिहरू सार्वजनिक भए पनि गङ्गा भने अझै बेपत्ता भएको कुरा गर्दै उसको सम्झना गरिएको छ । त्यस्तै पन्ध्रौँ कथा ‘काठमाडौँ गाथा’ले जम्मा एघार पृष्ठको आयाम ओगटेको छ । यो पनि दश वर्षे जनयुद्धकै पृष्ठभूमिमा तयार पारिएको कथा हो । यसमा जनयुद्धका कारण गाउँ छोडेर काठमाडौँ पसेको प्रेमले गरेका दुःखको कथा छ भने वर्तमानमा ऊ गाउँ फर्किएर वडा अध्यक्ष भएको कुरा गरिएको छ । यसले देशको एउटा कालखण्डलाई राम्ररी उतारेको छ ।
यो कृतिको सोह्रौँ तथा अन्तिम कथा ‘मझधार’ले जम्मा आठ पृष्ठको आयाम ओगटेको छ । अरु कथामा लेखकले आफूलाई केन्द्रमा राखेको पाइन्छ भने यो कथामा पूर्णकान्त नामका बयोबृद्धको कथा लेखेका छन् । उनीहरूका छोराछोरी क्यानाडामा भएका कारण उनीहरू पनि त्यहीँ बसेका छन् । उनीहरूको मन भने नेपाल आउन चाहन्छ । त्यहाँ गएर उनीहरूको भाषा नमिल्ने, छोरानातिसँग बोल्न समय नमिल्ने भएकाले रमाउन सकेका छैनन् । यो कथा पढ्दा कतै लेखक बुढो हुँदै गएका त हैनन् भन्ने आभाष मिल्छ । यी विदेशी भूमिमा बसेर केहीमा त्यहीँको परिवेश र केहीमा नेपालको परिवेश उतारिएका कथाहरूले मेरा यी तीन दिन सुबिस्ताले बिताउन सघाए । एक वाक्य भन्नुपर्दा “मज्जा आयो ।”
(पाठकबृन्द, मलाई त केशबजीका यी कथाहरू पढिसक्दा राम्रै लागे । उनका यी कथाहरूमा विविधता भेटेँ मैले । आफू पनि क्यानाडा बस्ने भएकाले उनले यी कथामा क्यानाडालाई पृष्ठभूमि बनाएका होलान् । खास कुरा त यी कथाले नेपालमा बसेर क्यानाडा घुमेको अनुभूति दिलायो मलाई । तपाईं पनि भौतिक रूपमा क्यानाडा नगइकन त्यहाँको वस्तुस्थिति कथामार्फत् बुझ्न चाहनुहुन्छ भने यो किताब एकपटक अवश्य पढ्नुहोला है त ।)
+