धु्रवराज खनाल/कायाकैरन
भरतपुर,४ साउन ।
युवा केरा व्यवसायीको लगानीमा सञ्चालित भरतपुर–९ स्थित चितवन बनाना क्याफे आकर्षक गन्तव्यका रुपमा विकास भएको छ । केरा बगानभित्रै बसेर केराबाटै बनेका परिकार खान पाउने भएकाले पनि यस क्याफे सवैको रोजाइँ बनेको छ ।
केरालाई विविधीकरण गर्दै स्वदेशको केरा खपत गर्ने उद्देश्यले चितवनका ३ जना युवा केरा व्यवासायीले गत वर्षको साउन २५ गते बनाना क्याफे सञ्चालन गरेका थिए । मेला महोत्सवमा मात्रै केराको परिकार चाख्न पाउने ग्राहकहरुलाई मध्यनजर गर्दै सञ्चालित क्याफेमा पछिल्ला दिनमा ग्राहकको उपस्थिति बाक्लिदैं गएको बनाना क्याफेका सञ्चालक यज्ञप्रसाद सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार दैनिक १ सय ५० जना क्याफेमा खाजा खान आउने गरेका छन् । “केराको परिकार चाख्न मेला महोत्सवनै कुर्नुपथ्र्यो”, चितवन केरा उत्पादक संघका पुर्व अध्यक्षसमेत रहेका सुवेदीले भने, “बनाना क्याफेबाट ग्राहकलाई सन्तुष्टि दिइरहेका छौं ।” बनाना क्याफेमा विशेषतः पारिवारिकरुपमा ग्राहकहरु आउने गरेका छन् । दैनिक १५ घरी केरा क्याफेमा खपत हुने गरेको छ । स्वास्थ्यको दृष्टिकोणले पनि केरा फाइदाजनक हुन्छ । उनीहरुले आफ्नै बगानमा उत्पादन भएका केरा ल्याउने गरेका छन् । क्याफे परिसरमै लगाइएको अर्गानिक केरा पनि यहाँ खपत हुने गरेको छ ।
सुवेदीसँगै मेघनाथ भट्ट र रामचन्द्र भट्टले करिव १ करोडको सयुक्त लगानीमा क्याफे संचालन गरेका हुन् । सो बनाना क्याफे नेपालको दोश्रो हो । यसअघि कैलालीको टिकापुरमा यस्तै क्याफे सञ्चालनमा छ । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको आठ कठ्ठा जग्गा भाडामा लिएर उनीहरुले क्याफे चलाएका छन् । सो क्याफेमा मासिक ५ लाखको कारोबार हुने गरेको छ ।
क्याफेका अर्का सञ्चालक मेघनाथ भट्टका अनुसार यहाँ केराका १७ परिकार पाइन्छ । केराको मःम, चिप्स, अचार र पकौडालाई प्रतिप्लेट रु १००, बनाना चिल्ली प्रतिप्लेट रु १४०, बनाना मिक्स प्रतिप्लेट रु २०० पर्ने सञ्चालक भट्टले जानकारी दिए । क्याफे सञ्चालनपछि यहाँ ९ जनाले रोजगारीसमेत पाएका छन् ।
क्याफेमा खाजा खान मात्रै होइन, केराखेती बारे निःशुल्क परामर्शसमेत दिने गरिएको छ । विभिन्न जिल्लाबाट आउने किसानलाई यहाँबाट परामर्शसमेत दिइरहेको अर्का सञ्चालक रामचन्द्र भट्टले बताए । “खाजासँगै केराखेतीबारे हामीले इच्छुक किसानलाई निःशुल्क परामर्शसमेत दिदै आएका छौं”, भट्टले भने, “केराखेतीप्रति आकर्षण बढाउने र केरालाई आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्य छ ।” चितवनमा ६ सय ३० जना किसानले करिब ३ हजार विघामा केराखेती गर्दै आएका छन् । चितवनको रत्ननगर, कालिका, खैरहनी, भरतपुर महानगरपालिका केराखेतीको पकेट क्षेत्र हो ।