भरतपुर, १२ वैशाख ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको आयोजनामा १८ औँ लोकतान्त्र दिवसको अवसर पारेर ईच्छाकामना गाउँपालिकाको वडा नम्बर-१ हात्तीबाङ र वडा नम्बर-२ को मायाटारमा अग्रज सम्मान तथा पार्टीका सदस्य एवम् समुदायमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय शान्ति परियार प्रमुख अतिथि, विशिष्ट अतिथिका रूपमा पार्टी सभापति राजेश्वर खनाल, वागमती प्रदेश सांसद माननीय विनु रायमाझी पौडेल र नेपाली कांग्रेस जिल्ला सचिव ध्रुव पोखरेल रहेका थिए । कार्यक्रममा ईच्छाकामना गाउँपालिकाका पूर्व अध्यक्ष गीताकुमारी गुरुङ र जिल्ला सदस्य सावित्री पुडासैनीको उपस्थिति रहेको थियो ।
सम्मान तथा अन्तरक्रिया कार्यक्रम पार्टीका वडा उपसभापति मक्कन चेपाङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमबारे प्रकाश पार्दै सचिव पोखरेलले समुदायमा कांग्रेस अभियान अन्तर्गत समुदायसँग छलफल गर्ने, स्थानीय समस्याको पहिचान गर्ने र समाधानका लागि पार्टीको तर्फबाट पहल गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए ।
उक्त अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शान्ति परियारले जनताको सुखदु:खमा सधैँ कांग्रेस साथ रहेको बताउँदै यस क्षेत्रको बाटोघाटो निर्माण, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रको विकासका लागि संसद र पार्टीमा आवाज उठाउने र समस्या समाधानमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
पार्टी सभापति राजेश्वर खनालले लोकतान्त्रिक आन्दोलनको चर्चा गर्दै जनताका दैनिकीलाई सहज बनाउन सरकार लाग्नु पर्ने र त्यसको पहलकदमी पार्टीले लिने बताए । यहाँका जनताको राज्यसँगको सहज पहुँच विस्तारका लागि सडक विस्तार र स्तरोन्नति अपरिहार्य रहेको बताउँदै सभापति खनालले सबैको एकताबद्ध प्रयासबाट नेपाली कांग्रेस संगठन सशक्त र प्रभावकारी हुनुपर्नेमा जोड दिए ।
वागमती प्रदेश सांसद विनु रायमाझी पौडेलले आगामी वर्षको बजेटमा यस क्षेत्रको विकासका लागि बजेट विनियोजनमा सहयोग गर्ने बताइन् । कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष गीताकुमारी गुरूङले आफू जनताको सुखदु:खमा साथै रहने बताइन् ।अन्तरक्रिया कार्यक्रममा स्थानीय पूर्णबहादुर गुरुङ र उत्तरकुमार गुरुङले यस क्षेत्रको सडक विस्तार, बिजुलीबत्ती, खानेपानी, विद्यालय भवन निर्माण र कृषि उपजको सहज बजारीकरणको व्यवस्था हुनुपर्नेमा जोड दिए ।
पार्टी सचिव ध्रुव पोखरेलका अनुसार पार्टीमा महत्वपूर्ण योगदान पुर्याउनु हुने १२ जना अग्रज पुस्ताका नेता तथा पार्टी सदस्यलाई सम्मान गरिएको थियो । यस प्रकारको कार्यक्रमले जनतामा पार्टी प्रतिको विश्वास बढ्दै जाने र लोकतान्त्रिक पद्धतिको विकासमा समेत टेवा पुग्ने विश्वास लिइएको पोखरेलले बताए ।