भरतपुर, ६ असोज ।
प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसिएन)का अनुसार विश्वभर ३ सय ६० प्रजातिका कछुवाहरू पाइन्छन् । तीमध्ये १ सय २७ सङ्कटापन्न वा अतिसङ्कटापन्न अवस्थामा रहेका छन् । तीमध्ये कतिपय प्रजाति यसै शताब्दीभित्र लोप भइसक्ने अनुमान पनि गरिएको छ । नेपालमा भने कछुवाको संख्याको त कुरै छाडौं, यहाँ तिनका कतिवटा प्रजाति पाइन्छन् भन्नेमै स्पष्ट अध्ययन तथा अनुसन्धान हुन सकेको छैन । जसले कछुवाको अस्तित्वलाई नै खतरातिर धकेलिदिएको छ ।
हाललाई नेपालमा १६ प्रजाति तथा १८ उपप्रजातिका कछुवा पाइने बताइन्छ । तर ती सबै कछुवा बाँकी छन् या छैनन् भन्नेमा भने अनुसन्धानकर्ता आफैं नै अनविज्ञ छन् । “नेपालमा १६ प्रजातिका कछुवा पाइन्छ भन्ने गरेका छौं । तर ती सबै छन्/छैनन् या अरु नयाँ प्रजाति पनि छन् कि भनेर यकिनका साथ भन्न सकिने अवस्था नै छैन”, कछुवा अनुसन्धानकर्ता चन्द्रमणि अर्याल बताउँछन् ।
अर्यालका अनुसार नेपालमा दुई खालका कछुवा पाइन्छन् : बाक्लो खबटा र नरम खबटा भएका कछुवा ।*
नेपालमा पाइने भनिएका १६ प्रजातिका कछुवामध्ये ‘कछुगा कछुगा’ र ‘कछुगा ढुङ्गका’ लोप हुने अवस्थामा पुगेका छन् । सङ्कटापन्न वर्गमा पर्ने ‘चित्रा इन्डिका’ प्रजातिको कछुवा पछिल्लो पटक चितवनमै भेटिएको थियो । त्यसअघि कोशी नदीमा पनि सो प्रजातिको कछुवाको खबटा भेटिएको थियो । विगतमा रुपन्देहीको गैँडा तालमा “इन्डियन आइड टर्टल” र कञ्चनपुरमा “क्राउन्ड रिभर टर्टल” रहेको प्रमाण भेटिएका थिए । तर त्यसपछि ती प्रजातिका बारेमा खासै अध्ययन अनुसन्धान नै भएका छैनन् ।
आइयुसिएनले अद्यावधिक गर्ने खतरामा रहेका प्रजातिको सूचीमा यी दुई प्रजातिलाई अतिसङ्कटापन्न शीर्षकभित्र राखिएको छ । यी दुईसँगै सबै १६ वटा प्रजाति नेपालको तराई भूभागमा पाइने बताइन्छ । तर तिनलाई जोगाउनुपर्छ भन्ने भावना तथा जनचेतनाको अभावमा कछुवा मासिन लागेको अनुसन्धानकर्ता अर्याल बताउँछन् ।
“नेपालको हकमा संरक्षण भनेपछि ठूला वन्यजन्तुको संरक्षण मात्रै बुझ्ने गरिन्छ । हात्ती, बाघ, भालु र गैँडा बाहेक अरु वन्यजन्तुलाई पनि संरक्षणको अवश्यकता पर्छ भन्ने कुरा सबैले चासो दिएकै छैनन्”, उनी अगाडि थप्छन्, “आइयुसिएनको रेड लिष्टमा बाघ सङ्कटापन्न प्रजातिमा पर्छ । जबकी कछुवाका प्रजाति अतिसङ्कटापन्नमा पर्छन । तैपनि नेपालमा भने सरकार, संरक्षणकर्मी र नागरिकले पनि त्यस बारेमा चासो देखाएको पाइँदैन ।”
सिकार र किचबेचले पुर्यायो कछुवालाई सङ्कटमा
अन्यत्र जस्तै नेपालमा पनि कछुवाको मासु खाने चलन रहेको छ । त्यस्तै कतिपयले कछुवाको औषधीय गुण हुने भ्रममा परेर पनि त्यसको सिकार गर्ने गरेका छन् । अझै बेचबिखन तथा अवैध ओसारपसार गर्ने कार्यले पनि कछुवालाई सङ्कटमा पुर्याएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले वन्यजन्तुको सिकार गर्न वा आखेटोपहार ओसारपसार गर्न नहुने तथा वन्यजन्तु र पंक्षीलाई क्षति पुर्याउन नहुने व्यवस्था गरेको छ । यो व्यवस्था कछुवामा पनि लागू हुन्छ । यद्यपि ऐनमा रहेको प्रावधानको कार्यान्वयन भने भएको पाइँदैन । “एक पटक अध्ययनकै लागि बारा जिल्ला पुगेका बेला त्यहाँका केही स्थानीयसँग कुराकानी गर्दा करिब ६० प्रतिशतले ठोटरी कछुवा बटुलेर खाने गरेको बताएका थिए”, कछुवा अनुसन्धानकर्ता अर्यालले कायाकैरनसँग भने ।
ऐनमा हाल २७ प्रजातिका स्तनधारी, नौ प्रजातिका चरा र घस्रेर हिँड्ने तीन वटा प्रजातिलाई मात्र संरक्षित वन्यजन्तु भनिएको छ । अर्यालका अनुसार विगतमा कछुवालाई पनि संरक्षित वन्यजन्तुको सूचीमा थप्न पहल भएका थिए । तर काम भने भएको छैन । “तराईका सामुदायिक वन छिर्ने स्थानीयलाई त्यहाँबाट सुकेका दाउरा ल्याउन गाह्रो पर्ला तर कछुवा भने जोसुकैले सजिलै लिएर फर्कन पाउँछ”, अर्याल तर्क राख्छन् ।
कछुवाले दिउँसोको समयमा तलाउ तथा नदीबाट बाहिर निस्किएर घाम ताप्नुपर्ने हुँदा नदीजन्य पदार्जको अनियन्त्रित उत्खननले पनि कछुवाको बासस्थानलाई असर पुग्ने गरेको अर्यालले बताए । बाढी नियन्त्रणका लागि भनी बनाइने संरचनाका कारण पनि कछुवाको दिनचर्या र उसले गर्ने क्रियाकलापमा नकारात्मक प्रभाव पर्ने गरेको जिकिर उनको थियो ।
अर्की कछुवा अनुसान्धानकर्ता अस्मिता श्रेष्ठ पनि कछुवाको औषधीय गुण र यसको पालनसँग जोडिएका भ्रमका कारण तस्करी बढेको बताउँछिन् । नेपाली समाजमा कछुवालाई विष्णुको अवतार मान्ने गरिएकाले पनि पूजा गर्न कछुवा छोपिँदा तिनको प्रजाति नै सङ्कटमा पर्ने गरेका छन् । “कछुवा तस्करहरू पक्राउ परेका घटनाको विवरण सरकारी तथ्याङ्कमा पाइँदैन । कुन कछुवाको प्रजाति, कहाँबाट ल्याइएको अनि कहाँ लैजान लागिएको भन्ने विवरण स्पष्ट नहुँदा बेचबिखनको अवस्था थाहा पाउन मुस्किल परेको छ”, श्रेष्ठ सुनाउँछिन् ।
व्यवसायिक वन्यजन्तु पालन तथा प्रजननसम्बन्धी मापदण्ड, २०७८ को मस्यौदामा कछुवा पाल्न पाइने भनिएको छ । तर त्यसले कुन प्रजाति पाल्न पाइने भन्ने कुराको व्याख्या नगर्दा सङ्कटापन्न कछुवा लोप हुने खतरा बढेको अनुसन्धानकर्ता श्रेष्ठ बताउँछिन् । ”यसै पनि बेचबिखन र ओसारपसारको अनुगमन फितलो रहेको स्थितिमा कछुवा पाल्न दिने भन्ने कुराले कछुवा लोप हुन सक्ने सम्भावना बढाइदिएको छ । सुन कछुवा जस्तो अतिसङ्कटापन्न प्रजाति झनै जोखिममा पर्ने भएकाले निजी तवरमा कुन कछुवा पाल्न पाइने, कुन नपाइने भनेर छुट्याउन आवश्यक छ ।”
नेपालमा जुनसुकै प्रजातिका कछुवा बेचबिखन वा ओसारपसार गर्नु गैरकानूनी मानिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा २ अन्तर्गत इजाजत विना संरक्षित वन्यजन्तु मार्ने, बेचबिखन वा ओसारपसार गर्नेलाई एक वर्षदेखि १० वर्षसम्म कैद वा ४० हजारदेखि ७५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ । अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी महासन्धि (साइटिस)ले अनुमति लिएर मात्रै सुनकछुवाको ओसारपसार गर्न पाइने जनाएको छ । अनुमति विना ओसारपसार वा बेचबिखन गर्नेलाई दुई वर्षदेखि १० वर्षसम्म कैद वा एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ ।
हाल चितवन र झापामा कछुवाको उद्धार, संरक्षण र प्रजननका लागि काम थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जले कृक्रिम तलाउमा हुर्किएका कछुवालाई समयसमयमा प्राकृतिक स्थानमा लगेर छाड्ने गरेको छ ।
कछुवा संरक्षणका लागि जनचेतनाको खाँचो
सप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुरकी विद्यार्थी शान्ता दवाडीले स्नातक तहको अन्तिम वर्षमा हालै मात्र “कछुवाको संरक्षण र तिनीहरूप्रति मानिसको धारणा” विषयको शोध ग्रन्ध (थेसिस पेपर) तयार पारेकी थिइन् । उनको थेसिस पेपरले पनि जनमानससम्म कछुवाको संरक्षण सम्बन्धी जनचेतना नपुगेको औँल्याएको थियो । उनले चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकाको वडा नं २२ मा अध्ययन गरेकी थिइन् । वडाको कूल जनसंख्याको १० प्रतिशत (१ सय २९ जना)लाई उनले आफ्नो सर्वेक्षणमा नमूनाका रूपमा लिएकी थिइन् ।
“चितवनमा १६ प्रजातिका कछुवा पाइने भनिएपनि स्थानीयले १० वटा मात्रै देखेको बताउनुभएको थियो । करिब ४६ प्रतिशत मानिसहरूले पहिले जसरी कछुवा भेटिन छाडेको उल्लेख गर्नुभएको थियो”, दवाडीले थप्दै भनिन्, “सर्वेक्षणमा सहभागीमध्ये २८ प्रतिशतले कछुवा देखेपछि छोप्ने गरेको उल्लेख गरेका थिए । कछुवा किन छोप्नुहुन्छ भनेर सोध्दा कछुवामा औषधीय गुण भएकाले भन्ने उत्तर आएको थियो ।”
छोपेका कछुवा कतिपयले ढाड दुखाइ तथा दमको औषधिको रूपमा खाने गरेको र तिनको खपटालाई भने अनुहारमा आउने खटिरा निको पार्न लगाउने गरेको तथ्य दवाडीले बताइन् । राप्ती नदीमा जाल हालेर माछा समात्ने कतिपय स्थानीयले जालमा परेका कछुवालाई पनि सँगै बेच्ने गरेको तथ्य अध्ययनबाट खुलेको थियो ।
“केही समयअघि हाम्रो घरतिर नहरले बगाएर ल्याएको कछुवा हामी आफैंले राष्ट्रिय निकुञ्जमा लगेर बुझाएका थियौं । आफूले देखेसम्म सबैलाई कछुवा बेचबिखन गर्न हुँदैन भनेर सम्झाउने पनि गरेकी छु, तर सबैले सुन्न मान्दैनन्”, दवाडीले आफ्नो अनुभव सुनाइन् । कछुवा प्रजननयोग्य हुनै कम्तीमा १६/१७ वर्ष लाग्ने भएकाले सो उमेर नपुगुञ्जेलसम्म कछुवा बचाएर राख्नु मुख्य चुनौती रहेको उनको भनाइ थियो ।
* सच्याइएको