मकवानपुर, ३ जेठ ।
बागमती प्रदेशमा मन्त्रालयको संख्या १३ वटा पुगेको छ । बुधबारको प्रदेश मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालयबाट युवा तथा खेलकुद विभागलाई अलग्याएर युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णयसँगै प्रदेशमा मन्त्रालयको संख्या १३ वटा पुगेको हो ।
यसअघि कायम रहेकाे १२ वटा मन्त्रालयबाट १३ बनाउने निर्णयसँगै बिना विभागीय मन्त्री नेकपा एकीकृत समाजवादीकी रमा आले मगरलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बताए । आले गत चैत १९ गते विना विभागीय मन्त्री नियुक्त भएकी थिइन् ।
प्रदेशमा १४ वटासम्म मन्त्रालय बनाइएपछि विराेध भएकाे भन्दै कार्यदल नै बनाएर मन्त्रालयकाे संख्या घटाइएकाेमा बुधबारकाे मन्त्रिपरिषद् बैठकले फेरी मन्त्रालयकाे संख्या बढाएकाे हाे । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासकाे मत लिनकै लागि आलेलाई मन्त्रीमा नियुक्ति गरेकाे चर्चा राजनीतिक वृतमा सेलाएकाे छैन । सत्ता जाेगाउनकै लागि मन्त्रालय संख्या बढाइएकाे बताइन्छ ।
यस्तै बैठकले प्रदेश विश्वविद्यालय संरक्षण समिति सदस्यहरुमा चन्द्रमणि पौडेल र कृष्ण कटुवाललाई नियुक्त गरिएको प्रवक्ता श्रेष्ठले बताए । प्रदेश सरकारी कामकाजीको भाषा २०८० कार्यान्वयनका लागि सुझाव समिति गठन गर्ने उक्त समितिको सेवा सुविधा व्यवस्थाकाे निर्णय भएको उनले जानकारी दिए ।
भाषा कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका सचिव संयोजक रहने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, राष्ट्रिय भाषा आयोगबाट एक जना प्रतिनिधि, तामाङ घेदुङ संघका केन्द्रीय अध्यक्ष र नेवाः देय दबुका केन्द्रीय अध्यक्ष समितिको सदस्य रहने भएका छन् । उक्त समितिकाे सदस्य सचिवमा संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख सदस्य सचिवको रुपमा रहने छन् ।
यसैगरी प्रदेश विकास परिषद् सदस्यहरु मनोनयन गर्ने निर्णय भएको छ । परिषदमा २५ जना सदस्यहरु रहने व्यवस्था छ । यसमा जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुबाट सदस्यहरु नियुक्त हुने प्रवक्ता श्रेष्ठले बताए । यस्तै बैठकले प्रदेश खेलकुद विकास नियमावली २०७६ को दोस्रो संशोधन स्वीकृत गरेको छ । यसमा दुई वर्षको कार्यकाल रहेकोमा अब चार वर्षको बनाएको छ ।
यस्तै प्रदेश कला, संस्कृति तथा सम्पदा सम्बन्धी विधेयकको मस्यौदा तयारीको सिद्धान्त स्वीकृत भएको छ । यस्तै सहिद स्मारक प्रकृृति प्रतिष्ठान थानकोटको व्यवस्थापनका लागि जिम्मेवारी तोक्ने पनि मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।