‘ऐँठन’ उपन्यास उपन्यासकार विवेक ओझाद्वारा संरचित उपन्यास हो । यसको आवरण अनामिका गौतमले तयार पारेकी हुन् । २०७९ साल फागुन महिनामा प्रकाशित यो पुस्तकको दोस्रो संस्करण (२०८० असोज) पनि प्रकाशित भइसकेको छ ।
गरिमामय मदन पुरस्कार प्राप्त गर्न सफल यो उपन्यासलाई सांग्र्रिला मिडिया ग्रुप प्रालिले प्रकाशन गरेको हो । जम्मा ३८० पृष्ठमा संरचित यो उपन्यास २८ खण्डमा संरचित छ ।
‘ऐँठन’ शब्दको शाब्दिक अर्थ निदाएको अवस्थामा वा सपनामा रक्तसञ्चार वा श्वासको गतिमा कुनै कारणवश व्यवधान हुँदा हुने कष्ट वा छट्पटी भन्ने बुझिन्छ । व्यापक अर्थमा ऐँठनले सहन नसकिने किसिमका दुःख, पीडा, क्रन्दन, चित्कारलाई बुझाउँछ । यो उपन्यासको शुरुवात नै पीडा र छटपटीबाट हुन्छ । यो उपन्यास नै करुण रोदन, पीडायुक्त चित्कारले भरिएको छ । यस उपन्यासमा जीवनका कष्ट र पीडाको पराकाष्ठा नै भेट्न सकिन्छ । यसैले यस उपन्यासको शीर्षक सार्थक देखिन्छ ।
ऐँठन उपन्यासमा मुख्यतः दशवर्षे जनयुद्धमा नेपाली जनताले भोगेका दुःख पीडालाई विषय बनाइएको छ । यस उपन्यासमा संसारमा जुनसुकै समयमा जुनसुकै बहानामा भएका युद्धहरूको विरोध गर्दै मानवीय मूल्यको खोजी गरिएको छ । उपन्यासभरि नै आङ सिरिङ्ङ हुने, त्रासले मुटु नै हल्लाउने घटनाहरूको वर्णन गरिएको छ । उपन्यास पढ्दा पाठक नै पटकपटक विक्षिप्त हुने अवस्था सिर्जना हुन्छ । यस उपन्यासमा नाटकीय शैलीमा महाभारतको युद्धपछिको कोलाहलपूर्ण अवस्था, दोस्रो विश्वयुद्धमा हिरोसिमामा बम खसालिएको अवस्था, अनि नेपालको दशवर्षे तथाकथित जनयुद्धमा माओवादी छापामार तथा नेपाली सेनाको तर्फबाट भएका अमानवीय कृत्यहरूको वर्णन गरिएको छ । यस उपन्यासमा युद्धले अशान्ति मच्चाउँछ, मानवीय स्वतन्त्रता हरण गर्छ, यसले दुःख, पीडा र विनाशमात्र निम्त्याउँछ, यो कदापि मानव जातिको हितमा छैन । यसैले मानव जातिले सधैँका निम्ति युद्धलाई बहिष्कार गरोस् भन्ने विचार व्यक्त गरिएको छ ।
केवल शासकको अहम् तुष्टिका लागि लाखौँ सैनिकहरूले जीवनदान गरेका हुन्छन् । कुनै एउटालाई राजा बनाउन हजारौँ जनता युद्धको वलिवेदीमा होमिएका हुन्छन् । महाभारतको युधिष्ठिर र दूर्योधनको दुष्मनीमा ती लाखौँ परिवारले एक अर्कासँग जुधेर मरे सक्किए।तिनीहरूको बाँच्न पाउने अधिकार हनन् भयो । लाखौँ परिवारको विचल्ली भयो । अर्धमुर्छित अवस्थामा रहेका सिपाहीहरूको करुण क्रन्दन, परिवारजनको चित्कारले विभत्स अवस्था सिर्जना गर्यो । धर्मयुद्धको बहानामा भएको यस युद्धप्रति लेखकले घृणा तथा असन्तुष्टि व्यक्त गरेका छन् । “तिमीहरूले यो युद्धलाई धर्म युद्ध भन्यौ । काटमार पनि कतै धर्मसंगत हुन्छ ? मान्छे मार्नु धर्म हो ? अनि यो कुरुमा बाँच्न खोजिरहेकालाई मर्न दिनु पनि के धर्म नै हो ? (ऐँठनःपृष्ठ२५९)
अमेरिकाले दोस्रो विश्वयुद्धको क्रममा आफ्नो शक्ति प्रदर्शन गर्नका निम्ति जापानका हिरोसिमा र नागासाकी सहरमा बम खसाल्यो । ‘लिटिल वोय’ नामक आणविक वमका कारण ती हराभरा सहरहरू केही क्षणमा नै मरुभूमिमा परिणत भए । धरती नै तहसनहस भयो । त्यहाँ थुप्रै मानिस तथा जनावर एकै चिहान भए।मु स्किलले बाँचेकाहरूले धेरै दुःख कष्ट व्यहेर्नुपर्यो । यस घटनालाई मानव सभ्यताको इतिहासमै कहिल्यै निको नहुने घाउका रूपमा लिन सकिन्छ ।
सोरा भन्छे– “मलाई लाग्दैन त्यो कुरा कहिल्यै पुरानो हुन्छ,हुनसक्छ ।त्यो घाउ मानवताको ह्दयमा आलो रहिरहने छ सधैँसधैँ। (ऐँठनःपृष्ठ३५)
जर्मनीमा साठी लाख यहुदीहरूलाई एकै चिहानमा जिउँदै जलाएको प्रसंगलाई पनि यस उपन्यासमा उठाइएको छ। चेतनशील भनिने मानिसहरू मानवता हराएर पशुभन्दा तल्लो स्तरबाट गुज्रिइरहेको ठहर लेखकको छ ।
नेपाल दश वर्षसम्म आन्तरिक युद्धमा फँस्यो।तथाकथित जनयुद्धमा सत्रहजार नेपालीहरू मारिएको आँकडा छ । हराउने बेपत्ता हुनेको लेखाजोखा छैन । थुप्रै घर परिवार विस्थापित भए । कति सरकारी संरचनाहरू ध्वस्त भए त्यसको लेखाजोखा छैन । नेपाली नागरिकमा परेको मानसिक आघातको हिसाब किताब गर्ने फुर्सद कसैलाई छैन । यस उपन्यासमा बबन कुमारको माध्यमबाट यस युद्धमा माओवादी छापामार र सरकारी सेनाको चपेटामा परेर सामान्य नागरिकले पाएको दुःख, सास्ती र हैरानीलाई बडो मार्मिक किसिमबाट देखाइएको छ ।
दाङको शान्ति नगरमा आफ्नी श्रीमती र छोराको साथमा सुखमय जीवन बिताइरहेको बबनकुमारको घर सरकार र माओवादी द्वन्द्वका कारण तहसनहस हुन पुग्छ । आफ्नो घरमै बसेको बेला गोली लागेर श्रीमती अनि बाहिर निस्केपछि छोरो पनि गुमाएको बबन पालैपालो माओवादी र सेनाको ज्यादती भोगेर मानसिक सन्तुलन गुमाउन पुग्छ । आफ्ना मुटुका टुक्राजस्ता श्रीमती र छोरो गुमाएर विच्छिप्त बनेको बबनलाई माओवादीले बन्दी बनाएर उनीहरूसँगै लैजान्छन् । यस क्रममा जनकारबाहीका नाममा माओवादीले गरेका बर्बर र क्रुर क्रियाकलापको साक्षी बन्न पुग्छ । आर्मीमा भर्ना हुन जान लागेको युवकलाई भिरबाट लडाएर मार्ने, रक्सी पारेर बेचेको निहुँमा महिलालाई कारबाही गर्ने, बन्दी प्रहरीलाई विभत्स हत्या (खुकुरीले शरीर छियाछिया पार्नु, कुट्नु पिट्नु, जिभ्रो काट्नु, काटेको घाउमा खुर्सानीको धुलो छर्कनु) गर्ने भक्तबहादुर केसीलाई हात पछाडिपट्टि बाँधी, खुट्टा बाँधी, ठूलो छपनीले हिर्काएर खुट्टा भाँच्ने, महिलासँग लसपस गरेको भनेर हुलाकीका पाखुरा बञ्चरो हानी छुट्याउने, खुट्टा गिँड्ने, बन्दीलाई कुभिण्डे दहमा घचेटिदिने, बन्दीलाई आफ्नै साथीलाई गोली हान्न लगाउने जस्ता सुन्दैमा डर लाग्ने काम माओवादीका तर्फबाट भएका छन् । यस्ता कार्य बबनकुमारले देख्न पुग्छ । यतिमात्र होइन, आमाको काखमा रहेकी १४वर्षे छोरी बलात्कार गर्नु, मंगलसेनको हमलामा आत्मसमर्पण गर्ने सेनाहरूलाई पनि धमाधम छप्काउनु, घरघरमा पसेर कर्मचारीहरूलाई मार्नु, सिडिओ लगायतका कर्मचारीलाई मट्टीतेल खन्याई आगो लगाई मार्नु, एम्बुस थापेर सर्वसाधारण मानिस बसेको बस जलाउनु, छापामारसँग जान नमान्ने डाक्टरलाई जिउँदै खाल्डो खनेर पुर्नु, मंगलसेनको युद्धमा मरिसकेको लासलाई छियाछिया बनाएर नचिनिने बनाउनु माओवादीतर्फबाट भएका जघन्य अपराध हुन् ।
बल्लबल्ल माओवादी लडाकुहरूको चंगुलबाट फुत्केर घर फर्कँदै गरेको बबन नेपाली सेनाको क्रुर चपेटामा पर्छ। यसैबीच कहिले स्रष्टा त कहिले भोक्ता भएर सरकारी सेनाका तर्फबाट भएका ज्यादतीको बारेमा प्रत्यक्ष अनुभव गर्छ । सरकारी हिरासतमा रहेका बबन लगायतका अन्य व्यक्तिहरूलाई सेनाहरूले कठोर यातना दिन्छन् । बबनलाई भोक र तिर्खाले व्याकुल हूँदा पानीसम्म खान नदिई गुहूका रासैरास भएको ट्वाइलेटमा थुन्छन् । झिँगा भुसुना भन्किएको दिसा पिसाबको आहालमा गाढिएर कयौँ रात बिताएको बबन पानीसम्म खान नपाई आफ्नै पिसाब थापेर घुड्क्याएको प्रसंगले कुनचाहिँ मानिसको मन छियाछिया नहोला ? त्यहाँ लठ्ठीले थाई र पिँडुलालाई छाला तानिने गरी अँठ्याएर, करेन्टमा पिसाब फेर्न लगाएर, कुटेर, पिटेर नारकीय यातना दिइन्थ्यो । हिरासतमा रहेका युवतीहरू पालैपालो बलात्कारमा पर्थे । समातिएका मानिसहरूलाई आँखामा पट्टी बाँधेर कुनै घना जंगलमा लगेर छोड्ने र भाग्न लगाई गोली हानेर मार्न लगाइन्थ्यो । निहत्था जनता कहिले सेना त कहिले माओवादीको घेरामा परेर सास्ती व्यहोरिरहेका थिए ।
आज संसारमा हत्या हिंसा बढेको छ । मानिसका रोदन र क्रन्दनले संसार गुञ्जायमान छ । जताततै डर र त्रासको वातावरण छ । मानिस नै मानिसका लागि क्रुर बन्दै गएको छ । हातमा शक्ति हुँदैमा मानिस कति कठोर र निर्दयी बनेको होला ? यसरी थुद्धका नाममा मानिस क्रुर र कठोर बनेकामा उपन्यासकारको दुखमनाउ छ।उनी भन्छन् के त्यस्तो दुनिया बनेकै छैन ? जहाँ मानवता र चेतनाका फूलहरू बयली खेलिरहेका होऊन्ःके ईश्वर त्यस्तो दुनिया बनाउन चुकेकै हो ? (ऐँठनः३२१)।
लेखक शक्तिशालीहरू ह्दयहीन हुँदारहेछन् भन्ने कुरा यसरी व्यक्त गर्छन्, ”दुनियामा जोसँग ह्दय हुन्छ,ऊसँग शक्ति हुँदैन ,जोसँग शक्ति हुन्छ ऊसँग ह्दय हुँदैन ।” (ऐँठनःपृष्ठ३२१)
दोस्रो विश्वयुद्धमा पनि थुप्रै मानिसहरूको वली चढाइयो । मानिसको जीवन कतिसाह्रो मूल्यहीन भ एको होला भन्ने चिन्ता लेखकलाई छ।कोहीकोही युद्धले जागरण ल्याउने चेतना फैलाउने,विकास निम्त्याउने काम गर्छ भन्छन् तर लेखक यस कुरालाई विश्वास गर्दैनन् । युद्धले जुन विध्वंस निम्त्याउँछ त्यसको तुलनामा युद्धले ल्याएको जागरण नगण्य नै हुन्छ भन्ने लेखकको विचार छ)”
कुनै विकास युद्धताका नै भयो सैनिकहरूले गरे तर त्यसो हुँदैमा दुनियाको विकास युद्धको कारण भयो भन्न मिल्छ र यो वाहियात तर्क हो।युद्धका पाइलामा भ एको विकास र जागरणलाई हेरेर त्यो समयको विध्वंस बिर्सन मिल्दैन।तराजुको काँटामा लाखौँलाख मानिसको जीवनमा परेको विध्वंस जोख्न नबिर्सनुस् । “(ऐँठनःपृष्ठ३७०)
मानिसलाई चेतनशील प्राणी ,प्राणीहरूमा सर्वश्रेष्ठ प्राणी भनिन्छ तर यथार्थमा ऊ जनावरहरूभन्दा पतीत बन्न पुगेको छ भन्ने कुरा उपन्यासकार व्यक्त गर्छन्।आकाश भन्छ–“बाघले बाघ र कुकुरले कुकुर लाई मारेको देख्नुभ एको छ? प्राकृतिक आहारबाहेक र कुनै संयोगान्त अपवादबाहेक कुनै जनावरले कसैको हत्या गर्दैन । मान्छेलाई हेर्नुस् ऊ आफूले मारेका मानिसको मासु लुछ्दैन तर पूरै सहरमा बम फाल्न हिच्किचाउँदैन। अहमले मानिसलाई राक्षस बनाएको छ।“(ऐँठनःपृष्ठ३७२)
अहिले संसारमा हातहतियारको निर्माण धमाधम भइरहेको छ।आणविक भट्टीहरू सञ्चालनमा छन्।यिनै हातहतियार, आणविक शक्तिका आडमा शासकहरूमा अहंकार बढिरहेको छ। के आत्मरक्षाका लागि निर्माण गरिएका भनिएका हातहतियार प्रयोगमा नआउलान् ? कोबाट कसका विरुद्ध यी हातहतियार प्रयोग गर्ने? हुने? यदि तिनको प्रयोग भ एको अवस्थामा त्यसको नतिजा के हुने? भन्ने कुरामा लेखकले प्रश्न चिह्न खडा गरेका छन्।)”
दुनिया तामझामका साथ युद्धको तयारी गरिरहेको छ।के धमाधम बनिरहेका हतियारहरू चुप लाग्न सक्छन्? आत्मरक्षाका नाममा बनिरहेका हतियारले कसको रक्षा गर्छ?(ऐँठनः३७४)
संसारमा मानिसले शक्ति प्रदर्शन गर्न जे जति श्रम ,सम्पत्ति र समय लगानी गरेको छ ती सबै मानवहितका लागि खर्च गरैको भ ए संसार नै स्वर्ग बन्थ्यो भन्ने विचार उपन्यासकारको छ।मानिसबाट मानिस असुरक्षित हुनु भनेको बडो दुःखको कुरा हो ।अब संसारमा हातहतियार तथा विष्फोटक पदार्थहरूको उत्पादन बन्द हुनुपर्छ। भएका हातहतियारहरू पनि निष्क्रिय हुनुपर्छ।अब शासकहरू बारुदीय अफिमको नशाबाट मुक्त हुनुपर्छ भन्ने आशय उपन्यासकारको छ।उनी यस्तो मिसायलको परिकल्पना गर्छन् जसले संसारभरका विष्फोटक पदार्थहरूलाई निष्क्रिय बनाओस्। आगामी दिनमा कतै पनि गोली नपड्कोस् ;कतै बम बारुदको वर्षा नहोस्।मानव जातिले कहिल्यै युद्ध गर्न नपरोस् भन्दै उपन्यासकारले युद्धलाई दुत्कारेका छन् अनि विश्व शान्तिको कामना गरेका छन्।
ऐँठन सामाजिक यथार्थको धरातलमा अडिएर लेखिएको उपन्यास हो।कोरा कल्पना र हचुवाका भरमा नभई स्थलगत अध्ययन गरेर युद्धमा सहभागी धेरै मानिसहरूसँग अन्तरक्रिया गरेर लेखिएको उपन्यास हो यो।यस उपन्यासमा यथार्थलाई पुष्टि गर्न स्वैरकल्पनाको प्रभावकारी प्रयोग गरिएको छ। नौरंगे माछाको कथा, भुलक्कड र अपांगहरूको गाउँको प्रसंगमा रोमाञ्चक किसिमबाट स्वैरकल्पनाको प्रयोगगरिएको छ।यसमा लेखकको कल्पना सामथ्र्य उच्च भएको पाइन्छ। यस उपन्यासको कथानक बक्र रेखीय शैलीमा लेखिएको छ। उपन्यासमा र परिवेश अनुसार भाषाको सन्तुलन मिलेको पाइन्छ। पात्र सुहाउँदो स्थानीय भाषिकाको प्रयोग भएको छ।पाठकलाई संवेदित बनाउन सक्ने भाषिक सामर्थ्य उपन्यासकारमा रहेको पाइयो। पाठक आफूलाई बिर्सेर पात्रसँग एकाकार हुन्छ।पात्र जहाँ पुग्छ पाठक त्यहीँ पुग्छ। पात्रलाई दुःख समस्या पर्दा आफैँले त्यो दुःख समस्या झेलेको अनुभूति हुन्छ। उपन्यास पढ्दा प्राप्त हुने कौतुहलताले पाठकलाई अगाडि पढिरहन प्रेरित गर्छ। यो लेखकको सफलता हो।
उपन्यासको अर्को महत्वपूर्ण पाटो भनेको निष्पक्षता हो।निश्चित दल वा समूहको पक्षधरता अँगालेर राजनीतिक नारा थोपर्ने काम यस उपन्यासमा भएको छैन।उपन्यासकारको जीवन दर्शन वा उपन्यासको मूल कथ्य बबनसिंह,आकाश,सोरा आदि पात्रहरूद्वारा व्यक्त गरिएको छ।उपन्यासले विश्व कल्याण र मानवताका पक्षमा जोडदार रूपमा आवाज उठाएको छ।
उपन्यास सफल हुँदाहुँदै पनि यसमा केही कमजोरीहरूदेखिएका छन् । द्वन्द्वपछि पूर्वी पहाडको दुर्गम गाउँमा चेतनाहीन,मानसिक सन्तुलन गुमाएका अंगभंग भएका, गरिबीको पराकाष्ठा भोगेका मानिसहरूको गाउँ छ।त्यसको नजिकै एक सामान्य पसलेको छोरा आकाश (नौ दश वर्षको बच्चो)ले जुन विद्वता छाँटेको छ त्योचाहिँ अलि नसुहाउँदो देखिन्छ। अर्को कुरा पृष्ठ ३७५मा आकाशका गहिरा कुरा पछि बबन भन्छः कामना गरेँ त्यो केटो तीखा शब्दहरू ल्याएर बाहिर न आओस्।उसको कुराले मष्तिष्क भरिएर फुट्न णात्रै बाँकी थियो कहिलेकाहीँ कुराहरू पनि घाँटी च्याप्दारहेछन्। “माथि आकाशले जेजस्ता विचारहरू व्यक्त गर्यो बबन सिंहको समर्थनमा थिए । उसका कुराले बबनको मन झनै हलुंगो हुनुपर्ने होइन र ? बबनका यी उद्गारहरू नसुहाएजस्तो लाग्यो। अर्को एउटा कुरा भन्नु छ उपन्यासमा आवश्यकताभन्दा अलि बढी यौनका कुरा आए कि ?
अन्त्यमा ऐँठन विश्वशान्ति र मानवताका पक्षमा आवाज बुलन्द गर्ने सशक्त उपन्यास हो।यसले संसारभर मानवीय सभ्यताको इतिहासमा जे जति युद्धहरू भ ए ती सम्पूर्ण युद्धको विरोध गरेको छ।यस उपन्यासले युद्ध कुरूप र विभत्स हुन्छ, आजसम्मका युद्धले मानवताको खिल्ली मात्र उँडाएका छन् भन्दै युद्धलाई दुत्कारेको छ। यस उपन्यासमा मानवीय मूल्यको खोजी गरिएको छ।उपन्यासमा एक सुन्दर हराभरा ,शान्तिपूर्ण विश्वको परिकल्पना गरिएको छ जहाँ भ्रातृत्व, मानवता मौलाउन सकून्।