भरतपुर, २९ वैशाख ।
आदर्श पब्लिक स्कुल, भरतपुर–४ ले शनिबार आफ्ना अभिभावकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयका प्राचार्य शिव केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन सत्रमा शिक्षक अभिभावक संघका अध्यक्ष सूर्यप्रकाश कँडेल प्रमुख अतिथि रहेका थिए । अध्यक्ष कँडेलले अभिभावकका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेर विद्यालयले प्रशंसनीय कार्य गरेको बताए । प्राचार्य केसीले विद्यालयले पहिलोपटक अभिभावकहरुका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको र यसलाई आगामी वर्ष पनि निरन्तरता दिइने बताए ।
कार्यक्रममा सत्सङ्ग प्रतिष्ठानका अध्यक्ष आचार्य लक्ष्मण भण्डारीले अभिभावक र विद्यार्थीबिचको व्यवहार, विद्यार्थी र शिक्षकबिचको सम्बन्ध, विद्यार्थीलाई दिनुपर्ने हौसला र उत्प्रेरणाका बारेमा तीन घण्टासम्म प्रशिक्षण दिएका थिए । उनले विद्यार्थीलाई यसो गर, त्यसो नगर भनेर बन्धनमा राख्न नहुने बताए । हरेक विद्यार्थीमा मौलिक क्षमता हुने भन्दै भण्डारीले विद्यार्थीलाई बन्धनमा राख्ने होइन, स्वतन्त्र छाडिदिनु पर्ने बताए । विद्यार्थीको हेरचाह र पढाईबारे शिक्षक र अभिभावक सचेत रहनु पर्ने उनको भनाइ थियो ।
विद्यालयका सहप्राचार्य रवि पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा एक सय ५० जनाभन्दा बढी अभिभावकको सक्रिय सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक भण्डारीले शारीरिक अभ्यास गराएर सहभागी अभिभावक र शिक्षकलाई प्रशिक्षण दिएका थिए ।