भरतपुर, २९ वैशाख
समाजशास्त्री माधव चौलागाईंको पुस्तक सपादलक्ष कर्णालीमाथि भरतपुरमा चर्चा गरिएको छ । चितवन कचेहेरीको आयोजनामा शनिबार भरतपुरस्थित डबली क्याफेमा पुस्तकका सन्दर्भमा चर्चा गरिएको हो ।
पुस्तकमाथि बोल्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले ‘सपादलक्ष कर्णाली’ पुस्तक पाठकलाई कर्णाली बुझ्ने लेन्स भएको बताए । ‘यो पुस्तकमा १२ औँ शताब्दीको कर्णालीको ऐतिहासिक चित्रण छ । सवा लाख टापुहरुले सुशोभित क्षेत्र हो प्राचीन सपादलक्ष कर्णाली’ प्रजिअ थापाले भने । सपादलक्षको अर्थ सवा लाख अर्थात एक लाख २५ हजार पर्वतहरूको क्षेत्र भन्ने हुन्छ ।
लेखक चौलागाईले सपादलक्ष क्षेत्रको अध्ययन, चिन्तन र विमर्श गर्दै तयार गरेका लेखहरु ‘सपादलक्ष कर्णाली’ मा छन् । यसले समग्र कर्णालीको इतिहास, समाज र भूगोल बताउन सफल देखिन्छ ।
इतिहासविद् कर्ण बानियाँका अनुसार सपादलक्ष मूल भुभागको केन्द्र हो । ‘माधव चौलागाईंको पुस्तक सपादलक्ष कर्णालीमा खस साम्राज्यको अभिलेख छ । यो पुस्तकमा कर्णालीको सभ्यता छ’ बानियाँले भने ।
टिप्पणीकार सरिता तिवारीले कर्णालीसँग जोडिएको मिथ्या चिर्न र सत्यतथ्य कुरा उजागर गर्न पुस्तक सफल रहेको बताइन् । तीन खण्डमा विभाजन गरिएको पुस्तकको पहिलो खण्ड मइडो रुचिकर भएको सरिताले बताइन् । दोस्रो खण्ड काँचुली र तेस्रो खण्ड सुइना पहिलो जत्तिकै रुचिकर नलागेको उनले बताइन् । पुस्तक मानव केन्द्रित नभएको र महिनावारीका सन्दर्भमा लेखकको दृष्टिकोण फराकिलो नभएको टिप्पणीकार तिवारीको प्रतिक्रिया थियो ।
हालै प्रकाशित यो किताब कर्णालीको इतिहासदेखि वर्तमान बुझ्न उपयोगी छ । किताबले कर्णालीको अभावदेखि अवसरसम्म औंल्याएको छ ।
पुस्तक लेखनका सन्दर्भमा बोल्दै लेखक चौलागाईंले भने – ‘पुराना ताम्रपत्र, शिलापत्र, स्तुति गान अनि हस्तलिखित ग्रन्थमा मैले यो शब्द धेरै प्रयोगमा आएको देखेको थिएँ । त्यहीँबाट यो नाम लिएको हुँ ।’
उनका अनुसार कर्णाली भाषा, संस्कृति, नदी, मस्टोलगायत सवा लाख विशेषता भएको ठाउँ हो । कर्णाली विशाल र सम्पन्न छ भन्ने हिसाबले पुस्तकको नाम राखिएको चौलागाईंले बताए ।
जुम्लामा कक्षा १२ सम्मको पढाइपछि लेखक चौलागाईं सुर्खेत आएर स्नातक पढेका हुन् । त्यसपछि छात्रवृत्तिमा स्नातकोत्तर पढ्न थाइल्यान्ड गए । त्यहाँ उनले जनस्वास्थ्य विषय पढे । पढेर आएपछि सोही क्षेत्रमा कर्णालीका लागि काम गरे । अहिले उनी मानवशास्त्रमा एमफिल गरिरहेका छन् । उनी अहिले विद्यावारिधि गर्ने सोचमा छन् ।
कर्णाली पछाडि पर्नुका पछाडि ऐतिहासिक, भौगोलिकदेखि महामारी, द्वन्द्व, भूकम्पलगायत कारण भएको लेखक चौलागाईंले बताए । सरकारको बेवास्ता र अवहेलनाले पनि कर्णाली पछि परेको उनको बुझाइ छ । समग्र देशको विकास गर्न कर्णालीलाई अछुतो राख्न नमिल्ने चौलागाईंको तर्क छ ।