भरतपुर, २४ वैशाख
‘घुमौँ भरतपुर’ नारासहित आयोजित भरतपुर भ्रमण वर्ष २०२४ को अर्को भ्रमण प्याकेज सार्वजनिक गरिएको छ । होटल व्यवसायी संघ चितवनको आयोजनामा सोमबार भरतपुर–२२, पटिहानीस्थित अम्रेला स्ट्रिटमा भ्रमण प्याकेज–१ शुभारम्भ कार्यक्रम आयोजना गरी प्याकेज सार्वजनिक गरिएको हो ।
प्याकेज शुभारम्भ गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षले चितवनका अन्य पालिका र गैंडाकोटलाई समेत फाइदा पुग्ने बताइन् । ‘भरतपुर भ्रमण वर्षभन्दा भरतपुरको मात्रै जस्तो गरी अन्य पालिकाहरुले मन साँघुरो बनाएको महसुस भएको छ’ उनले भनिन्, ‘भरतपुर भ्रमण वर्ष भनिए पनि यसको फाइदा समग्र चितवन र नवलपुरको गैंडाकोट क्षेत्रलाई समेत हुनेछ । त्यसैले अन्य पालिकाले मन फराकिलो पार्नुपर्छ ।’
होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट ‘कृष्ण’ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्ण सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैबीच, भरतपुर भ्रमण वर्षको अवसर पारेर पर्यटकीय गन्तव्य प्याकेज–१ अन्तर्गतको भ्रमण कार्यक्रम सुरु गरिएको छ । होटल व्यवसायी तथा पत्रकारको टोली भरतपुर महानगरपालिका–२२ को अम्ब्रेला स्ट्रिट पटिहानीहुँदै विभिन्न पर्यटकीयस्थलको भ्रमण गर्दै बेलुका नारायणी नदी किनार आरतीस्थलमा सहभागी भएका थिए । टोलीले होटल गंगोत्री नारायणगढमा रैथाने खानाका परिकार पनि खाए ।
यसअघि भरतपुर महानगरपालिकाले नारायणगढदेखि शिवघाटहुँदै गोलाघाटसम्मको भ्रमण प्याकेज सार्वजनिक गरेको थियो ।