गैंडाकोट, २९ वैशाख ।
गैंडाकोटस्थित विजय विकास स्रोत केन्द्रको सभाहलमा पठन संस्कृति अभियानको दोस्रो शृङ्खला गरिएको छ ।
अध्येता हरि शर्मा प्रमुख अतिथि रहेको कार्यक्रममा पाठकले आफूले पढेका किताबको समीक्षात्मक टिप्पणी राखेका थिए । शनिबार गरिएको कार्यक्रमको सुरुमा गैंडाकोट- ८ का संसार सापकोटाले अखण्ड भण्डारीको `बोरा´ उपन्यासको पाठकीय सुझाव प्रस्तुत गरे । बोरामा पोको पारेर फालिएकी एउटी आमालाई कसैले फेला पारेर उद्धार गरी आमा कै रूपमा पालेको घटनालाई किताबको कथा बनाइएको छ । सापकोटाले यो पुस्तकमा रगतको नाता भन्दा भावनाको, मानवताको नाता ठुलो हुन्छ भन्ने कुरा देखाउन खोजिएको बताए ।
त्यसैगरी गैंडाकोट- १ निवासी बद्री लम्सालले राधा पौडेलको मदन पुरस्कार प्राप्त कृति `खलङ्गामा हमला´ पुस्तकको बारेमा पाठकीय टिप्पणी राखे । त्यसैगरी अर्का पाठक दुधराज मल्ल ठकुरीले अङ्ग्रेजी पुस्तक `लिमिटलेस´को बारेमा टिप्पणी राखे । सञ्चारकर्मी पवित्रा पराजुलीले सरुभक्तको `समय त्रासदी´ पुस्तकको टिप्पणी राखिन् । यो पुस्तकको कथा नेपाली राजनीतिक संस्कारसँग मिल्ने उनले बताइन् ।
नेपाली विषयकी प्राध्यापक रञ्जना लामिछानेले सरस्वती तिमिल्सिनाको `पाइला पाइलामा पाइला टेकेर´ कवितासङ्ग्रहको टिप्पणी राखिन् । निरन्तर अध्ययन गरिरहने शंकर आचार्यले डाक्टर भगवान कोइरालाको `हृदय´ पुस्तकको टिप्पणी राखे । त्यस्तै पठन संस्कारका अभियन्ता उदय अधिकारीले सलमान रुस्दीको `नाइफ´ उपन्यासको टिप्पणी राखे ।
पत्रकार प्रेम क्षेत्रीले नयनराज पाण्डेको उपन्यास `उलार´को चर्चा गरे । त्यसैगरी राष्ट्रिय समाचार समितिमा कार्यरत कृष्णप्रसाद सापकोटाले `सेभेन ह्याबिट अफ हाइली इफेक्टिभ पिपल´ अङ्ग्रेजी किताबको टिप्पणी राखे । सकारात्मक चिन्तन र व्यवहारका लागि यो किताबले मानिसलाई लयमा ल्याउन सहयोग पुग्ने सापकोटाले बताए ।
त्यसैगरी कवि सरस्वती तिमिल्सिनाले हालै सार्वजनिक अङ्ग्रेजी पुस्तक `काठमाडौं क्रोनिकल´ को बारेमा पाठकीय धारणा राखिन् । यो किताबमा नेपालको समग्र राजनीति र परराष्ट्रका मुद्दाहरूको चर्चा गरिएको उनलेे बताइन् । त्यस्तै विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद सापकोटाले `एटोमिक ह्याबिट´ र `अन टिरानी´ किताबका बारेमा चर्चा गरे । अर्थतन्त्रकोसमेत चर्चा गरिएको यी किताबका बारेमा बोल्दै सापकोटाले नेपालमा सहकारीको अवस्था बिग्रँदो अवस्थामा जानुको मुख्य जिम्मेवार माथिल्लो तहमा भएकाहरू बताए । काठमाडौंबाट सहकारीको अवस्था बिग्रन थालेको सापकोटाले बताए । `काठमाडौंका सहकारीमा फुटपाथ व्यापारीको बचत र कर्जा धेरै छ । मेयर बालेन साहले फुटपाथ व्यापारीलाई खेद्न थालेपछि व्यापारीहरूको बचत जम्मा हुन छाड्यो र ॠण लिएकाहरू पनि ॠण नतिरी पलाएन हुन थाले ।´ ,सापकोटाले अगाडि भने – `सहकारी समस्यामा गएको पनि यहि कारणले हो ।´ उनले अहिले सर्वाधिक चर्चामा रहेको सहकारी समस्याको योजनाकार जीबी राई भएको दाबी गरे । उनले जीबीको नाम भने लिएनन् तर उनलाई नै लक्षित गर्दै एउटा जग्गा राखेर काठमाडौंको सहकारीबाट कर्जा लिएलगत्तै पुनः उक्त जग्गा साटफेर गर्दै पोखराको सहकारीबाट ॠण लिइ मलेसियामा गएर लुकेको प्रमाण आफूसँग रहेको सापकोटाले बताए ।
कार्यक्रमका प्रमुख अतिथि हरि शर्माले पढ्ने काम आफ्नो लागि भए पनि यसको फाइदा समग्रलाई हुने बताए । समय, परिस्थिति जस्तै किताब पढ्नुपर्ने कुरामा ध्यान दिन सबैलाई आग्रह गरे । जीवन बुझ्नलाई पनि पढ्न आवश्यक रहेको उनले बताए । कार्यक्रमलाई विजय सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष त्रिलोचन सापकोटाले सहजीकरण गरेका थिए । अभियानले पाठकलाई नि:शुल्क रूपमा किताब उपलब्ध गराएर हरेक महिनाको अन्तिम शनिबार उक्त किताबको पाठकीय धारणा सुन्ने सुनाउने कार्यक्रमका रूपमा पठन संस्कृति अभियानलाई अगाडि बढाएको अध्यक्ष सापकोटाले बताए ।