भरतपुर, ३ जेठ ।
गजलकार विद्या भण्डारी चिरागको बालगजलसङ्ग्रह `लौरी हजुरबुबाको´ प्रकाशन भएको छ । पण्डित नीलकण्ठ पौडेल स्मृति प्रतिष्ठान गुठीले प्रकाशन गरेको कृतिमा चिरागका २० वटा सचित्र गजल छन् । गजलसँगै राखिएका चित्र नवीनभक्त अधिकारीले बनाएका हुन् ।
चिरागको यो आठौं कृति हो । यो पुस्तक हजुरबुबाको दैनिकी भएको चिरागले बताइन् । `यो किताब हजुरबुबाको दिनचर्या हो । हजुरबुबालाई सबैले लौरो बनेर भरोसा दिनुपर्दछ अनि चस्मा बनेर साथ दिनुपर्दछ । हजुरबुबाको हरेक क्रियाकलापमा विचार पुर्याउनु पर्दछ ।´ चिरागले आफ्नो भूमिकामा लेखेकी छन् ।
उनका यसअघि इन्द्रेणीको गेट बालकवितासङ्ग्रह २०६२, नेपथ्यका कुरा गजलसङ्ग्रह २०६४, गजलपथका यात्रीहरू संयुक्तगजलसङ्ग्रह २०६१, नेपाली गजलमा नारी हस्ताक्षर संयुक्तसङ्ग्रह २०६२, चितवनका कवि र कविता संयुक्तसङ्ग्रह २०७०, चरी माथि आकाशमा चित्रकविता २०७१ र हाट बजार चित्रकविता २०७१ प्रकाशित छन् ।
बालबालिकाका लागि सन्देशमुलक र नैतिक शिक्षाको रूपमा रहेको यो पुस्तकको मूल्य २०० रुपैयाँ छ । वितरक सम्पूर्ण किताब नारायणगढ रहेकोे छ । यो पुस्तक जेठ ४ गते शुक्रबार विमोचन हुँदैछ ।