भरतपुर, ३ जेठ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि त्यही अनुपातमा विकास भएको बताएकी छन् ।
बिहीबार भरतपुर ७ मा निर्मित प्रेमबस्ती दुग्ध उत्पादक सहकारी संस्थाको ३ तले भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले कृषि क्षेत्रमा भएको विकासले यहाँको उत्पादनमा पनि क्रमशः वृद्धि हुँदै गइरहेको उल्लेख गरिन् ।
भरतपुर महानगरपालिकाले नेपालमै पहिलोपटक दूधमा अनुदान दिन सुरुवात गरेको भन्दै उनले कृषिका अन्य पूर्वाधार निर्माणमा महानगरपालिकाले चासो दिँदै आइरहेको बताइन् ।
भरतपुरले दुग्ध कृषकलाई २५ पैसाबाट अनुदान सुरु सरी हाल ३ रुपैयाँ पु¥याएको छ । यसबाट १० हजार कृषक लाभान्वित भएका छन् ।
‘भरतपुरमा दैनिक १ लाख लिटर दूध उत्पादन हुन्छ’, उनले भनिन्, ‘५० हजार लिटर दूध भरतपुरमै खपत हुन्छ । ५० हजार बाहिरी जिल्लामा निर्यात गर्ने गरेको तथ्यांक छ । भरतपुर दूधमा अत्मनिर्भर छ ।’
महानगरपालिका प्रमुख दाहालले अबको नीति तथा कार्यक्रममा उत्पादनलाई जोड दिन लागेको बताइन् । ‘उत्पादन भनेको कृषि हो, योसँगै सौन्दर्यकरण, सरसफाईलाई जोड दिइएको छ’ उनले भनिन् ।
प्रमुख दाहालले भरतपुर महानगरले कृषि साझेदारी कार्यक्रमलाई जोड दिँदै कृषकलाई विभिन्न किसिमका यन्त्र उपकरणहरु प्रदान गरिएको बताइन् । साझेदारीमार्फत ट्याक्टर, मिल्क ऐनालाईजर,हार्भेस्टर लगायतका उपकरणमा महानगरले साझेदारी गरेको उनको भनाई छ । कृषि क्षेत्रलाई थप सुधार गर्न यस वर्षको नीति तथा कार्यक्रममा अघिल्लो वर्षमा छुटेका महत्वपूर्ण कार्यक्रमहरु ल्याइने उनको भनाई थियो ।
भरतपुरमा भूमिगत सिँचाईमार्फत ७ हजार बिघामा सिंचित भइरहेको र नारायणी लिफ्ट सिँचाईलाई १२ महिना सञ्चालन गर्न महानगरले बजेट विनियोजन गरी काम अघि बढाउने उनको भनाई छ ।
प्रेमबस्ती कृषि सहकारीले दैनिक १ हजार लिटर दूध संकलन गर्दै आइरहेको छ भने आफ्नै फर्म सञ्चालन गर्दै आइरहेको छ । आगामी साउनदेखि दैनिक ५० हजार लिटरको विकास पाउडर दूध उद्योग सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, वडा नम्बर ८ का अध्यक्ष जीवनाथ कँडेल, बागमती प्रदेशका पूर्वमन्त्री घनश्याम दाहाल अविनासलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष आनन्दप्रसाद न्युरेको अध्यक्षतामा भएको थियो ।