धनराज गिरी
सभ्यता, शिष्टता, नम्रता, भद्रता, मीठो बोली वचन मानव जीवनका गहनाहरु हुन् । संसारको जुनसुकै भूगोलमा मुस्कानको आफ्नै मूल्य हुन्छ । मानिसको अनुहार पहिलो विज्ञापन हो । केही नभन्दा पनि अनुहारले, आँखाले धेरै कुराहरु भनिरहेका हुन्छन् । उपेक्षाभाव बच्चाले पनि थाहा पाउँछ । मानव मात्र होइन जनावरमा पनि यो ‘सेन्स’ हुन्छ । अनुभव गरेको छु ।
धेरै वर्षअघि घरमा एउटा बिरालो थियो । म भात खान बसेपछि नजिक आएर ‘म्याऊ’ गथ्र्यो । म दूधभात, दिन्थें । बेलुकि विस्तारामा पनि मेरो नजिक आएर लुपुक्क टाँसिन खोज्ने, म कतैबाट घर आएमा खुट्टामा लुटपुटिने । यसको ठीकविपरीत सीताजीलाई देखेपछि टाप । ‘दुध चोर’ भनेर सीताजीले धेरै पटक सजाय दिएकी । अहिले गोठमा त्यस्तै । गौमाता मलाई वास्तै गर्दिनन्, सीताजीलाई देखेपछि ‘हब्बाँ’ जतिखेर पनि । यस्तो लाग्छ अंग्रेजी, हिन्दी अर्थात नेपाली भाषाबाहेक केही नबुझ्ने मेरी ‘गृहप्रमुख’ गाईको भाषा बुझ्छिन् । दोहोरो सम्वादै भएझै लाग्छ । कारण के ? सद्भाव । ‘सर, भाद्र ९ गते हजुरको जन्मदिन हो भन्ने कुरा मलाई थाहा थियो, तर मैले मुहार पुस्तिकामा शुभकामना व्यक्त गरिनँ । दिनभरि सरलाई सम्झिरहें । टाढा थिएँ ।
अरुले दिएको शुभकामनाहरु पढिरहे । भीडमा हराउने भय भयो वा के भयो, औपचारिक हुन मान लागेन ।’ एक असल मित्र तीन दिनपछि यसरी प्रकट भए । ‘सधैं उदाउने घाम कुनै दिन उदाएन भने आश्चर्य नलाग्ला र ?’ मैले उत्तर दिए । थपे, ‘बन्धु, हामीबीचको सद्भाव हामीले अनुभूत गरेका छौं । तमाम विमतिहरुका बाबजुद पनि हाम्रो आत्मीयतामा कुनै कमी आएको छैन । कतैबाट केही पनि अपेक्षा नगर्ने अभ्यास गर्दागर्दै पनि यो मन कहिलेकाहीं ‘आशे’ हुनेरहेछ । कसैको फोन कुर्दोरहेछ, कसैको शुभ सन्देश । त्यो दिन सयौं मित्रहरुको सद्भाव पाएँ, माया पाएँ । तर, तीन पात्र उपस्थित नभएको पाउँदा कस्तो कस्तो लाग्दोरहेछ । ढाँटेको भए पनि हुने । त्यो काम जमिन । एक भाईलाई भने पनि । भाइको उत्तर पनि चित्त बुझ्दोपाएँ । आफूले सद्भाव राख्दा सद्भाव नै पाइन्छ यही हो मेरो मान्यता । राखिएका सद्भावहरु आजसम्म खेर गएझै लाग्दैन । अस्तिभर्खर शब्दयात्रामा निस्किएको एउटा सिकारु बालक आज आएर अनन्त पाठकहरु र भावकहरुको हृदयमा बस्न सफल भएझैं लाग्दछ ।
आखिर यही ‘झैं’ र हो कि हो कि’ न हो जिन्दगी । सद्भाव सफल हुँदा परमतृप्ती प्राप्त हुने रहेछ । त्यस्ता उदाहरणहरु छन् । भाइ श्रीकृष्ण धरावासीसित हृदय मिल्यो, सायद, हामी दुवै भूतपूर्व सुदामा उनको उपन्यास ‘राधा’ ले मदन पुरस्कार पाए हुन्थ्यो भन्ने सद्भाव राखियो, पायो । साह्रै खुसी लाग्यो । फेरि जगदीश घिमिरे र झमक घिमिरेका पालामा पनि यो सद्भाव कायम राखियो । खेर गएन । आज आएर रामलाल जोशी र नीलम कार्की निहारिकाप्रति राखेको सद्भाव पनि काययाव भयो । मान्छे हौं हामी । सामाजिक प्राणी । साथ चाहिन्छ । त्यही भएर साथी सद्भाव चाहिन्छ । आत्मीयतामा ठूलो शक्ति हुन्छ । यो सामाजिक सञ्जालको युग हो । यसमार्फत पनि हामी सद्भाव वितरण गर्न सक्दछौं । शब्दको शक्ति शब्दातीत । आज यो सामान्य मानिस, एउटा सामान्य नागरिक, सामान्य शिक्षक अनन्त आफन्तहरुको मायारुपी अमृतकुण्डमा भावनात्मक रुपमा चुर्लुम्म डुबेको छ । आजसम्म भेट हुनु भएको छैन आदरणीय निष्णात् विद्धान ‘प्रकाशमणि दाहालज्यू’ तर उहाँले देखाउनुभएको स्नेहको स्तर र हार्दिकताको उचाइले मलाई तीनलोककै वैभव पाए सरह भएको छ । त्यति टाढा पर…वर्मामा मेरा आफन्तहरु हरेक दिन मलाई सझिन्छन् । आदरणीय ठाकुरप्रसाद गुरुगाई बाबाको म जेठो छोरो भएको छु । यस्तो हुन्छ सद्भावको शक्ति । भावना प्रवित्र राख्ने अभ्यास गरिएमा कर्म पनि पवित्र हुनेरहेछ । कर्म पवित्र भएपछि त्यसको सुगन्ध पर परसम्म पुग्नेरहेछ ।
एकपटक कतै, यही चितवनमै, कहिले पनि नगउको ठाउँमा, प्रमुख अतिथि भएर गएँ । एक्लै गएँ । आज पूरै नौला अनुहाररुका माझमा रहन्छु, कस्तो अनुभूति हुनेरहेछ भन्ने विचार आयो । तर…त्यहाँ पनि दुईजना पूर्वपरिचित । मनको कुरा भनें । एक मित्रले जवाफ दिए, ‘सर, फूलको सुगन्ध वारिपारि, मान्छेको सुगन्ध डाँडापारि ।’ हो रहेछ । सत्कर्म, सत्सँग र सदुभावले हामीलाई छुट्टै कल्पनातीत आनन्द दिनेरहेछ । पहिलो शर्तः स्वमान । मान्छेले आफ्नै मान बिर्सिएमा अरुबाट पाउने मान बनावटी । ओठको सम्मान मिल्ला, हृदयको सम्मान मिल्दैन । म गणित गुरु । ‘स्थानमान तालिका’ पढाइयो । अंकले पनि आफ्नो सही स्थानमा बस्न जान्यो भने त्यसको पनि मूल्य हुन्छ । तर, स्थान छोडेमा मूल्य शून्य । उदाहरणको लागि कुनै अंकको दाहिनेतिर बस्न पाएमा शून्यले त्यो अंकको मूल्य दश गुणा बढाइदिन्छ तर देब्रेतिर बस्ने हठ गरेमा शूल्य, शून्य नै हुन्छ र दाहिनेको अंक पनि यथास्थितिमा रहन्छ ।
मानव जीवनमा यस्ता झिनामसिना कुराहरुको साह्रै नै महत्व हुनेरहेछ । हामीले अरुको अस्तित्व स्वीकारेमा अरुले पनि हाम्रो अस्तित्वलाई स्वीकार्दछन् । स्वमानको कुरा गर्दा अभिमान जन्मिनहुन्न । अति ‘स्वमान’ बराबर घमण्ड हुनसक्छ । घमण्डी र अहंकारी व्यक्तिलाई कसैले पनि राम्रो भन्दैन । ‘अहम्’ संस्कृतम मात्र ठीक, वास्तविक जीवनमा ‘राम्रो म’ क्यान्सर हो । हामीले आफूलाई जोगाउने हो भने ‘मैले यो गरें, त्यो गरें’ भनेर आत्मप्रचार पनि गर्न नहुने रहेछ । सत्कर्म गर्ने । कर्म आफै बोल्दछ । अर्को कुरा, हामी आफै जे–जे गर्न हुन्न भन्छौं, अक्सर त्यही त्यही गर्दा रहेछौं । तीतो अनुभव ‘मदिरा सेवन गर्न हुन्न’ थाहा छ । तर, म स्वयं पनि ‘शूल्य मदिरा’मा पुग्न सकेको छैन ।
‘अरुको कुरा काट्न हुन्न’ थाहा छ, तर दुईजना कुरा गर्न थालेपछि कतिखेर कतिखेर एक न एक जनाको कुरा काटिन्छ नै । यही भएर ग्लोसाइन बोर्डिङ स्कूलमा एउटा विशेष कार्यक्रममा बोल्ने क्रममा मैले यसरी आफ्नो कुरा राखें,’ हामीले सोचेका, बोलेका र लेखेका राम्रा कुराहरु सम्पूर्ण व्यवहारमा उतार्न सकिन्छ । केही प्रतिशत मात्र व्यवहारमा उतार्न सके जीवन सफल र सार्थक भयो ।’ सद्भाव पनि सबैमा राख्न सकिन्छ भन्ने छैन ।
सबैलाई खुशी पार्न सकिन्न । आफैलाई दुखी बनाएर अरुलाई खुसी पार्छु भन्नु पनि आदर्श मात्र हो । तर, ‘सद्भाव’ को अभ्यास गर्दै गएमा त्यो ‘संस्कार’ बन्न सक्दछ । बाबुआमाले पूरा गर्न नसकेको राम्रो काम छोराछोरीले पूरा गर्न सक्दछन् । म आज जे छु, जहाँ छु जति छु, त्यो सबै मेरा अभिभावकहरु, गुरुहरु, आफन्तहरु, चेलाचेलीहरुकै ‘सद्भाव’ को कारणले छु । यही ‘सद्भाव यात्रा’ मा जगल र गीतहरु गुन्गुनाउँदै अझ कहाँ कहाँ पुग्ने छु, थाहा छैन । आपसमा सद्भाव राखौं, टाट भइन्छ ।