गैंडाकोट, १५ वैशाख ।
मौलाकालिका सामुदायिक सिकाइ केन्द्रले दिगो जीविकोपार्जन सहजताका लागि महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशीलता विकाससम्बन्धी तालिम गैंडाकोटमा सम्पन्न गराएको छ ।
साबिक गैंडाकोट नगरपालिकाका १-९ वडा भित्र रहेका ४१ जना महिलाहरुलाई उद्यमशीलता विकाससम्बन्धी तालिम संचालन गरिएको सिकाइ केन्द्रका अध्यक्ष कमल पराजुलीले जानकारी दिए । तीन दिनको अवधिमा हरपिक, सर्फ, फिनाइललगायत उत्पादनको तालिमले महिला स्वरोजगार हुन मद्दत पुग्ने विश्वास लिइएको पराजुलीले बताए ।
तालिमपछि सहभागीलाई उद्यमी कसरी बन्ने, उद्यमी बन्नको लागि स्रोतसाधन के-के हुनसक्छन् र के व्यवसाय गर्न सक्छौँ, व्यवसायको लागि सम्भावित क्षेत्रहरुको पहिचान कसरी गर्ने र समुदायमा कुन व्यवसाय उपयुक्त छन् भन्ने बिषयमा समेत छलफल गरिएको उक्त समापन कार्यक्रममा तलिममा उत्पादन भएका सामाग्रीको समेत प्रदर्शनी गरिएको थियो ।
गैंडाकोट नगरपालिका नगर उपप्रमुख शान्ति कोइरालाले कार्यक्रममा सिप सिकाईबाट महिलाहरुलाई आत्मनिर्भर बनाउन नगरपालिकाले विभिन्न सिप विकास तालिमहरु सञ्चालन गरिरहेको जानकारी दिँदै तालिमपश्चात उद्योग सञ्चालनमा नगरले आवश्यक सहयोग गर्ने बताइन् । कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख डाक्टर बालकृष्ण चापागाईं, नगर कार्यपालिका सदस्य शान्ति न्यौपाने, वडा नम्बर १ का वडा अध्यक्ष सुरेन्द्र रेग्मी, नगर शिक्षा सदस्य बिष्णु पन्थी, प्रशिक्षक सुस्मिता थापामगरलगायत अतिथिहरुले महिलाहरुले सहयोग पाएमा उद्यम गरेर व्यवसायिक बन्नसक्ने धारणा राखेका थिए ।
सिकाइ केन्द्र सदस्य मीनाकुमारी न्यौपानेले स्वागत मन्तव्य राख्दै सुरुभएको तीनदिने तालिमको सहजीकरण केन्द्रकी परिचालक तथा सदस्यसचिव यममाया पुलामी मगरले गरेकी थिइन् ।