गैंडाकोट, १५ वैशाख ।
गैंडाकोटबाट पठन संस्कृति अभियान शुभारम्भ भएको छ । प्रसिद्ध कवि, लेखक नवराज लम्साल र दिलभुषण पाठकले पठन संस्कृति अभियानको उद्घाटन गरेका हुन् ।
डिजिटल युगले मानिसलाई असामाजिक र एकोहोरो बनाउँदै लगेको अवस्थामा किताबको सङ्गतले मानिसलाई सामाजिक बनाउन सहयोग पुग्ने यस अभियानका संयोजक त्रिलोचन सापकोटाले बताए । समूह बनाएर नियमितरूपमा किताब पढ्ने र सँगै बसेर छलफल, विमर्श गर्ने यो अभियानको योजना रहेको सापकोटाले बताए । शुभारम्भ कार्यक्रमलाई सापकोटा आफैले सहजीकरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि डाक्टर नवराज लम्सालले सूचनामुलक भन्दा पनि ज्ञानबर्धक पुस्तक पढ्न सुझाव दिए । सूचनामात्र दिने पुस्तकहरूबाट हुनसक्ने खतराबाट पाठक सधैँ सजग रहनुपर्ने लम्सालले बताए । `आफू शुन्य भएर पुस्तक पढ्न सुरुवात गर्नुपर्दछ । आफूभित्र भएको विचारलाई दिल र दिमागबाट निकालेर नयाँ विचार र ज्ञान लिनसक्ने क्षमता लेखक र पाठक दुबैमा हुन जरुरी रहेको छ । लेखकको आफ्नो निजी विचारले भरिएको पुस्तकबाट पाठक सचेत रहन जरुरी छ ।´ लम्सालको सुझाब छ ।
सञ्चारकर्मी दिलभूषण पाठकले नयाँ विचार निर्माण गर्नका लागि पठन संस्कृति आवश्यक भएको बताए । विश्वव्यापीकरणको समयमा विचार आयात मात्र नभएर निर्यात पनि गर्न आवश्यक भएको उनलेे बताए । सञ्चारमाध्यमको उदाहरण दिँदै पाठकले भने – `विविसी जस्ता मिडियाले तेस्रो विश्वको गरिबी, अशिक्षा, हिंसा, विभेदलाई मात्र प्रसारण गर्ने गरेको समयमा अलजजिरा, भारतीय चलचित्र, सञ्चारमाध्यमले यहाँका सकरात्मक समाचारलाई विश्वमाझ सम्प्रेषण गर्न सुरु गरेका छन् । आफ्नो समाजको आफ्नो दर्शनको राम्रा पक्ष अरु माझ पुर्याउनका लागि सबैभन्दा पहिला पठन संस्कृतिको नै विकास गर्नुपर्दछ ।´
कवि तथा सामाजिक व्यक्तित्व सरस्वती तिमिल्सिनाले महिला स्रष्टाहरूलाई समाजले खोज्नुपर्ने, पढ्नुपर्ने र बुझ्नुपर्ने सुझाव दिइन् । कुनै पनि कार्यक्रममा महिला सहभागितालाई समेट्न सबैले पहल गर्नुपर्ने उनको भनाइ थियो ।
शुभारम्भ कार्यक्रममा युवानेता बद्री सापकोटाले किताब पढ्दाको महत्त्वको चर्चा गर्दै नीलम कार्की निहारिकाको मदन पुरस्कार प्राप्त कृति योगमायाको बारेमा चर्चा गरे । त्यसैगरी सामाजिक कार्यकर्ता गोपालप्रसाद भण्डारीले पढ्ने अभियानमा बालबालिकालाई अहिल्यैदेखि समेट्नुपर्ने धारणा राखे । लेखक डाक्टर मतिप्रसाद ढकालले पठन संस्कारलाई अभियानको रूपमा चलाएर अगाडि बढ्न आग्रह गरे । ढकालले आफ्ना १८ वटा मध्ये १६ वटा किताबको पिडिएफ बनाएर अनलाइनमा पढ्न मिल्नेगरी राखिएको बताए ।
अभियान कार्यक्रममा साहित्यकार गोविन्दराज विनोदी, उदय अधिकारी, खेमराज सापकोटाले पठन संस्कृतिको महत्त्वको चर्चा गर्दै यस अभियानको निरन्तरताको कामना गरे ।
अभियानको आयोजक विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रहेको छ ।विजय विकास स्रोत केन्द्रको सभाहलमा कार्यक्रम गरिएको थियो ।