- ऋद्धीचरण श्रेष्ठलाई जान्ने प्रायःलाई थाहा नहुन सक्छ, उनी यस्ता शिक्षक हुन् जसले चितवनमै पहिलो पटक शिक्षकका रुपमा ‘पेन्सन’ बुझेका थिए । २०१६ सालमा सोह्रै बर्षको छँदा शिक्षण पेशा सुरु गरेका उनी ४३ बर्षको हुँदा सेवा निवृत्त भएका थिए । उनी कुशल कलाकार र शिक्षकसँगै कुशल खेलाडी पनि हुन् । जसले युवा अवस्थामा चितवनको लागि राष्ट्रिय पदक जीताएका छन् । साथै जिल्लामा विभिन्न खेलकुदका गतिविधिहरुमा अग्रपंक्तिमा रहेर काम गरेका छन् ।
श्रेष्ठ वि.सं. २००० चैत २२ गते पाल्पामा जन्मिए । बुबा सरकारी जागिरे भएकाले जता सरुवा भयो परिवार पनि उतै सर्नुपर्ने बाध्यता थियो । २००४ सालमा उनी धनकुटा पुगे । त्यहीँ प्राथमिक तहको अध्ययन गरे । २०१० देखि २०१५ साल सम्म रौतहटको गौरमा बसेर उनले कक्षा ९ सम्म पढे । बुबाको निधन भयो । “उतीखेर प्रभावशाली मानिने पूर्णप्रताप राणा, चन्द्रध्वज खाँडले मलाई चितवन लिएर आए”, उनले विगत सम्झिए, “नारायणगढको पुतली बजारमा घडेरी र पारशनगरमा पाँच विघा जग्गा किनियो ।” अहिले पनि उनको घर पुतली बजारको त्यही घडेरीमा छ ।
चितवन आएपछि उनले २०१६ सालमा नेपाली शिक्षा परिषदबाट एसएलसी सरहको परीक्षा उत्तीर्ण गरे । लगत्तै नारायणगढस्थित ‘सहकारी मोडल स्कूल’मा पढाउन थाले । केही बर्षमा उक्त स्कुललाई भरतपुर सारियो । अहिलेको चितवन मावि त्यही स्कूल हो । “सहकारी स्कुललाई भरतपुर सारिएपछि जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीमा रहेको प्रावि स्कूलको दरबन्दी नारायणगढ ल्याइयो म पनि त्यतै सरें”, उनले सुनाए । अहिलेको वालकुमारी कन्या मावि त्यही हो । पहिले बालकुमारी प्राथमिक विद्यालय छँदाको संस्थापक प्रधानाध्यापक हुन् ऋद्धीचरण श्रेष्ठ । “२०२४ सालमा अनिवार्य निशुल्क प्रावि शिक्षा कार्यक्रम आएपछि बालकुमारी मिडिल स्कूल र मोडल स्कूल बने”, उनले सुनाए, “पढाई पनि राम्रो हुँदै गयो । केन्द्रबाट आएका प्रतिनिधिहरुले देशकै उत्कृष्ट विद्यालय भनेर प्रशंसा गर्दथे ।” विद्यालयको पूर्वाधार निर्माणका लागि चन्दा संकलनमा पनि उनी खटेरै लागे ।
श्रेष्ठ फुटबलका कुशल खेलाडी थिए । २०२२ सालमा काठमाडौंको दशरथ रंगशालामा आयोजित महेन्द्र शुभजन्मोत्सव कप फुटबलमा ‘चितवन–११’ टीमबाट चितवनको प्रतिनिधित्व गर्दै उनकै नेतृत्वमा जिल्लाले रजत पदक जित्यो । २०३१ सालमा मध्यमाञ्चल क्षेत्रीय भलिबल प्रतियोगिता चितवनले जित्दा उनी टीमको ‘कोच’ थिए । उनी व्याडमन्टन र एथलेटिक्सका पनि राम्रा खेलाडी हुन् । कैयौ जिल्ला स्तरीय खेलहरु उनकै नेतृत्वमा सम्पन्न भए ।
तर उनको पहिचान भने कलाकारिता बन्यो । उनलाई कलाकारिताले राष्ट्रिय स्तरमा परिचय गरायो । नेपाली चलचित्रको ‘चरित्र अभिनय’मा ऋद्धीचरण श्रेष्ठको योगदान अतुलनीय छ । वास्तविक जीवनमा पनि सरल स्वभावका श्रेष्ठ यही स्वभावलाई अभिनयमा खरो उतार्छन् । उनको अभिनय हेरेर धेरैको आँखाबाट आँशुका ढिक्का खस्ने गरेका छन् । कान्छी, दाइजो, माइली, सुख–दुःख, मालती, भाग्य रेखा, सन्तान, मनकामना उनले अभिनय गरेका स्मरणीय चलचित्रहरु हुन् । अहिले सम्म उनले ७५ भन्दा बढी चलचित्रहरुमा अभिनय गरेका छन् । पछिल्लो समयमा उनले अभिनय गरेको चलचित्र ‘झिल्को’ प्रदर्शन हुन बाँकी छ भने निर्मला पन्त हत्या प्रकरणको बिषयमा बनेको चलचित्र ‘कोपिला’को सूटिङ केही दिन अघि मात्र सकेका छन् ।
२०१६ सालमा नारायणगढको बजार निकै सानो थियो । त्यो ताका उनको साथीहरु सँग एउटा सडक नाटक देखाउने सल्लाह भयो । नाटकको नाम तय गरियो ‘विजय’ । उनी यस नाटकका खलनायक थिए । चरित्रको नाम थियो ‘बलबहादुर’ । नाटकका नायक थिए सुर्यबहादुर मास्के ‘विजय’ को भूमिकामा । “त्यही नाटकले मलाई कलाकारिता क्षेत्रमा डो¥यायो । पछि ईश्वरको व्याज, मरुभूमिका लेखकलगायतका नाटकहरु ग¥यौं”, उनले सुनाए ।
पछि आफ्नै चेला भगवानदाश श्रेष्ठ र प्रसाद श्रेष्ठलगायतको लगानीमा चलचित्र ‘कान्छी’ निर्माण हुने भएपछि उनले यसमा अभिनय गरे । “निर्देशक बीएस थापाले अभिनय अघि त नाटक गरेको मान्छेले फिल्ममा कस्तो गर्ला भनेर सङ्का गरेका थिए । अभिनय गरेपछि मन पराए”, उनले भने, “बिस्तारै अन्य कलाकार, निर्देशक, निर्माताहरुसँग पनि चिनजान भयो । उनीहरुले पनि खेल्न आग्रह गर्न थाले ।” पछिल्लो पटक उनले नेपाली चलचित्र ‘साइनो’ हेरे । चलचित्रमा लोक संस्कृतीका कुराहरु पनि जोडेको उनलाई मन परेको रहेछ । देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन यहाँको लोक संस्कृतीलाई उजागर गर्नुपर्ने उनको बिचार छ । संस्कृतीमा नेपाल निकै धनी रहेको भन्दै उनी भन्छन्, “परापूर्वकाल देखिको चलनचल्ती र कुरीतिलाई उजागर गर्दै दर्शकलाई सन्देश दिन चलचित्र बन्नु आवश्यक छ ।”
उनी नारायणी कला मन्दिरका संस्थापक मध्येका एक हुन् । वि.सं. २०२६ र २०३९ मा गरी दुई पटक सम्म गरेर करिब १२ बर्ष उनले कला मन्दिरको नेतृत्व गरे । उनकै नेतृत्वमा कला मन्दिरको भवनको निर्माण सम्पन्न भयो । “भवन बनेपछि ‘मालती मंगले’ नाटक प्रदर्शन गरियो । नाफाले ऋण पनि तिरियो”, उनले बताए । उनले पछिल्लो पटक नारायणी कला मन्दिरमा सकस र गणतन्त्र नाटक गरे ।
कलाकारितामा आफुँलाई अब्बल सावित गरिसकेका ऋद्धीचरण श्रेष्ठले कलाकारिताको कक्षा भने कहिल्यै लिएनन् । तर पछि नयाँ पिँडीलाई कलाकारिता सिकाए । “वास्तवमा मैले कलाकारिता आफ्नै विद्यार्थीहरुबाट सिकें । विद्यार्थीहरु सँग संबाद वास्तविकतामा आधारित भएर गर्न थालें, पढाउँदा अभिनय गरेर बुझाउन थालें”, उनले विगत सम्झिए, “अन्ततः यसले मलाई नै अभिनयमा पोख्त बनायो । विद्यार्थीलाई पनि बुझ्नमा सहज भयो ।”
चलचित्रमा उनको कैयौं पटक मृत्यु भएको छ । अभिनयका लागि थुप्रै पटक चितामा सुतेका छन् । “त्यसैले होला लामो समय बाँचेको, यही कारण अझ धेरै बाँच्छु होला जस्तो लाग्छ”, उनी मुस्कुराए । उनलाई केही बर्ष अघि मुटुमा समस्या भएर एन्जियो प्लास्ट गरिएको थियो । उनलाई मधुमेहको समस्या पनि छ । नसामा सामान्य समस्या भएकाले लौरीको साहरामा हिँडडुल गर्छन् ।
श्रेष्ठका श्रीमती, दुई छोरा र दुई छोरी छन् । श्रीमती श्रीमायाँ घरको सबै काम गर्छिन् । उनी टीभी, रेडियो हेर्ने÷सुन्ने, सामाजिक सञ्जाल हेर्ने, साथि–भाई भेटेर गफ गर्ने, सामाजिक अभियानमा सहभागि बन्ने गर्छन् । “स्वास्थ्य तथा शारीरिक अवस्थाका कारण अब दौडधुप गर्न सक्दिन”, उनी भन्छन्, “फिल्म खेलिरहन रहर त छ तर टाढा पुग्न सक्दिन यतै कतै पारिवारिक वातावरणका बिषयमा अभिनय गर्न कसैले आग्रह गरे नकार्दिन ।”
उनले विभिन्न सिलसिलामा अष्ट्रेलिया, फिलिपिन्स, भियतनाम, सिंगापुर, थाइल्याण्ड, ईन्डोनेशियालगायतका देशहरुको भ्रमण गरेका छन् ।
प्रस्तुति–राजेश घिमिरे