सम्बन्धको गहिराइ अनुकूल समयमा गरिने प्रशंसाले होइन, प्रतिकूल परिस्थितिमा देखाइने व्यवहारले मापन गर्छ । समयले मानिस बदल्छ कि बदलिएको मानिसको वास्तविक चरित्र उजागर गर्छ भन्ने प्रश्न आजको सामाजिक सम्बन्धमा विचारणीय बनेको छ । मानवीय सम्बन्ध जीवनका सबैभन्दा सुन्दर पक्षमध्ये एक हो । परिवार, साथीभाइ, आफन्त तथा सामाजिक परिवेशसँग जोडिएका सम्बन्धले मानिसलाई आत्मीयता, सुरक्षा र सहअस्तित्वको अनुभूति गराउँछन् । तर समयसँगै सम्बन्धको स्वरूप र प्राथमिकतामा आउने परिवर्तनले एउटा गम्भीर प्रश्न खडा गर्छ—के हामी वास्तवमै सम्बन्धका आधारमा नजिक छौँ वा एकअर्काका आवश्यकता र स्वार्थले हामीलाई नजिक बनाइरहेका छन् ?
सामान्यतया मानिसको राम्रो समय चलिरहेको अवस्थामा उसको वरिपरि प्रशंसा गर्ने, साथ दिने र आत्मीयता प्रकट गर्नेहरूको कमी हुँदैन । सफलता, आर्थिक अवस्था, सामाजिक प्रतिष्ठा र प्रभावले सम्बन्धको घेरा फराकिलो बनाएको देखिन्छ । तर जब परिस्थिति प्रतिकूल बन्छ, अपेक्षित उपलब्धि हासिल हुँदैन वा व्यक्तिलाई आफैँ सहाराको आवश्यकता पर्छ, तब त्यही सम्बन्धको वास्तविकता फरक रूपमा देखिन थाल्छ । हिजो नजिक देखिएका कतिपय मानिस टाढिन्छन् भने सामान्य अवस्थामा खासै महत्त्व नदिएका केही व्यक्तिले कठिन समयमा असाधारण साथ दिएका हुन्छन् । वास्तवमा समय मानिसको चरित्र परीक्षण गर्ने एउटा महत्त्वपूर्ण माध्यम हो । अनुकूल परिस्थितिमा सबैको व्यवहार सकारात्मक देखिन सक्छ, तर प्रतिकूल अवस्थामा व्यक्तिको सोच, प्राथमिकता, संवेदनशीलता र सम्बन्धप्रतिको जिम्मेवारी स्पष्ट हुन्छ । त्यसैले कसैलाई चिन्न उसको सफलताको समयमा भन्दा संघर्षको समयमा उसको व्यवहारलाई बुझ्नु बढी आवश्यक हुन्छ ।
हामी प्रायः भन्ने गर्छौँ—समयसँगै मानिस बदलियो। तर हरेक परिवर्तनलाई नकारात्मक रूपमा बुझ्नु पनि उचित हुँदैन । मानिसको सोच, आवश्यकता, जिम्मेवारी र प्राथमिकता समयअनुसार परिवर्तन हुनु स्वाभाविक हो । समस्या परिवर्तनमा होइन, सम्बन्धभित्र रहेको स्वार्थ, अवसरवाद र असमान अपेक्षामा छ । जबसम्म कुनै व्यक्तिबाट आफ्नो आवश्यकता पूरा भइरहेको हुन्छ, तबसम्म उसप्रति आत्मीयता देखाउने र आवश्यकता समाप्त भएपछि बेवास्ता गर्ने प्रवृत्तिले सम्बन्धको विश्वसनीयतामाथि प्रश्न उठाउँछ । यस्तो प्रवृत्ति व्यक्तिगत सम्बन्धमा मात्र सीमित छैन। सामाजिक, व्यावसायिक र संस्थागत सम्बन्धमा समेत यसको प्रभाव देखिन्छ । पद, प्रतिष्ठा, आर्थिक हैसियत र पहुँचका आधारमा व्यक्तिको मूल्याङ्कन गर्ने प्रवृत्तिले मानवीय संवेदनशीलतालाई कमजोर बनाउँदै लगेको छ । कुनै व्यक्ति सफल हुँदा उसको वरिपरि प्रशंसा गर्नेहरूको भीड लाग्ने तर असफलता वा संकटको समयमा सहयोग र सहानुभूतिको अभाव हुने अवस्था हाम्रो सामाजिक व्यवहारमा देखिने यथार्थ हो ।
तर यस यथार्थलाई आधार बनाएर सबै सम्बन्धप्रति अविश्वास राख्नु समाधान होइन। केही व्यक्तिको व्यवहारका कारण सम्पूर्ण समाजलाई स्वार्थी ठान्नु पनि न्यायसंगत हुँदैन । आज पनि निस्वार्थ भावले साथ दिने, अरूको पीडालाई आफ्नो ठान्ने र प्रतिकूल परिस्थितिमा समेत सम्बन्धको मर्यादा कायम राख्ने मानिसहरू छन् । उनीहरूको उपस्थितिले नै समाजमा मानवीयता र विश्वासको आधार जीवित राखेको छ। त्यसैले सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा अपेक्षाको सन्तुलन र पारस्परिक सम्मान हो । अरूका लागि सहयोगी बन्नु राम्रो हो, तर आफ्नो अस्तित्व र आत्मसम्मानलाई बेवास्ता गरेर होइन । सम्बन्ध जोगाउने नाममा निरन्तर आफ्नो आवश्यकता, भावना र क्षमतालाई दबाइरहनु स्वस्थ सम्बन्धको परिचय हुन सक्दैन । त्यस्तै, अरूबाट अपेक्षित व्यवहार प्राप्त नभएकै कारण कटुता र प्रतिशोधको भावना विकास गर्नु पनि उचित होइन ।
कठिन परिस्थितिमा साथ छोड्नेहरूबाट गुनासो गर्नुभन्दा त्यसबाट प्राप्त अनुभवलाई जीवनको सिकाइका रूपमा लिन सक्नुपर्छ । कसले साथ दियो, कसले दूरी बनायो र कसले आफ्नो स्वार्थलाई प्राथमिकता दियो भन्ने कुरा समयले स्पष्ट पार्छ । तर त्यो अनुभवले मानिसलाई निराश होइन, अझ परिपक्व बनाउनुपर्छ । किनकि जीवनमा सबैभन्दा महत्त्वपूर्ण उपलब्धि अरूलाई गलत साबित गर्नु होइन, कठिन परिस्थितिबाट सिक्दै आफूलाई अझ सक्षम र सकारात्मक बनाउनु हो । अर्कोतर्फ, हामी आफैँले पनि आफ्नो सम्बन्धको मूल्याङ्कन गर्न आवश्यक छ । अरूको राम्रो समयमा मात्र उपस्थित हुने होइन, उनीहरूलाई अप्ठ्यारो पर्दा पनि साथ दिन सक्ने संस्कार विकास गर्नुपर्छ । कसैको सफलता देखेर प्रशंसा गर्नु जति आवश्यक छ, उसको असफलतामा आत्मविश्वास कायम राख्न सहयोग गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । सम्बन्धको वास्तविक सुन्दरता आवश्यकता पूरा हुँदा होइन, आवश्यकता र परिस्थिति दुवै बदलिँदा पनि कायम रहने सम्मान र आत्मीयतामा हुन्छ ।
जीवनमा सबै समय एकनास हुँदैन । आज कठिनाइ भोगिरहेको व्यक्ति भोलि सफल हुन सक्छ र आज सफल देखिएको व्यक्तिले पनि भोलि चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ । त्यसैले कसैको वर्तमान अवस्थाका आधारमा उसको मूल्य निर्धारण गर्नु उचित हुँदैन । अरूको संघर्षलाई सम्मान गर्न, कठिन समयमा हौसला दिन र सफलतामा इमानदार खुसी व्यक्त गर्न सक्नु नै परिपक्व सामाजिक व्यवहार हो । अन्ततः समयले हामीलाई दुईवटा महत्त्वपूर्ण कुरा सिकाउँछ—पहिलो, सबै नजिक देखिने मानिस आत्मीय हुँदैनन्; दोस्रो, कठिन समय स्थायी हुँदैन । त्यसैले सम्बन्धमा विवेक राखौँ, व्यवहारमा मानवीयता कायम गरौँ र परिस्थितिले जति नै चुनौती दिए पनि आफ्नो आत्मविश्वास कमजोर हुन नदिऔँ ।
किनकि खराब समय जीवनको अन्त्य होइन, आफूलाई चिन्ने र नयाँ ढङ्गले अघि बढ्ने एउटा अवसर पनि हो । सम्बन्धमा कसले साथ छोड्यो भन्नेभन्दा आफूले कस्तो व्यवहार कायम राख्यौँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । समय बदलिन्छ, परिस्थिति बदलिन्छ र जीवनका सम्भावनाहरू पनि बदलिन्छन् । आवश्यक छ त केवल धैर्य, आत्मसम्मान र निरन्तर अघि बढ्ने साहसको । साँचो सम्बन्धको पहिचान सुविधामा होइन, संवेदनशीलतामा हुन्छ; र मानिसको वास्तविक उचाइ उसको सफलताले मात्र होइन, अरूको कठिन समयमा उसले देखाउने मानवीय व्यवहारले पनि निर्धारण गर्छ ।





