व्यक्ति विशेषका योजनालाई प्रदेश सरकारले बजेट दिँदैन : मुख्यमन्त्री थापा मगर

मकवानपुर, १७ कात्तिक ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले व्यक्ति विशेषको पहुँच र आग्रहका आधारमा प्रदेश सरकारले योजना छनोट नगर्ने स्पष्ट पार्नुभएको छ । उहाँले स्थानीय तहबाट सिफारिस भई आएका योजनालाई मात्र प्राथमिकता दिएर कार्यान्वयन गर्ने नीति लिइएको बताउनुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरले मंगलबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापा मगरले व्यक्ति विशेषका योजनालाई प्राथमिकता दिँदा प्रदेशमा टुक्रे योजनाको सङ्ख्या अत्यधिक बढेको र ती योजना सम्पन्न गर्नसमेत कठिनाइ भएको बताउनुभयो ।

“अब प्रदेश सरकारले व्यक्ति विशेषका योजना समावेश गर्दैन। स्थानीय तहबाट आएका योजनामा मात्र काम गर्छ । व्यक्ति विशेषका योजना समावेश गर्दा धेरै टुक्रे योजना बने। ती योजना पूरा गर्नै नसकिने अवस्था देखियो। प्रदेश सरकारले लगानी गरेको पनि नदेखिने अवस्था सिर्जना भयो,” उहाँले भन्नुभयो ।

सडक पूर्वाधार निर्माणमा समेत प्रदेश सरकारले नयाँ मापदण्ड बनाउन लागेको उहाँले जानकारी दिनुभयो । अब ६ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने र साना सडक निर्माणको जिम्मेवारी स्थानीय तहलाई नै दिने नीति अघि सारिएको उहाँको भनाइ थियो ।

“प्रदेश सरकारले अब कुनै पनि सडकको ट्र्याक खोल्ने काम गर्दैन। त्यो काम स्थानीय तहले नै गर्नुपर्छ । स्थानीय तहले मापदण्डअनुसार ट्र्याक खोलेका सडकको स्तरोन्नतिका लागि मात्र प्रदेश सरकारले काम गर्छ,” उहाँले स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री थापा मगरले प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठाउँदै प्रदेशको काम छैन भन्ने भाष्य निर्माण भइरहेको भन्दै त्यसको जवाफ कामबाटै दिनुपर्ने बताउनुभयो । बागमती प्रदेशका १३ वटै जिल्लामा उल्लेखनीय काम भए पनि त्यसको प्रचारप्रसार गर्न नसकिएको उहाँको भनाइ थियो ।

प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गर्दै उहाँले जिल्लामै विशेषज्ञ सेवासहितका अस्पताल निर्माण भएपछि उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता कम भएको बताउनुभयो । समयमै उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्थाबाट समेत नागरिकले राहत पाएको उहाँको भनाइ थियो । सडक, खानेपानी, भौतिक पूर्वाधार तथा सामाजिक विकासका क्षेत्रमा पनि प्रदेश सरकारले उल्लेख्य काम गरेको उहाँले दाबी गर्नुभयो ।

संघीय तथा प्रदेश सरकारबाट स्थानीय तहमा पठाइएका योजनाको समयमै अनुगमन हुन सके कार्यान्वयनमा गुणस्तर कायम हुने उहाँले बताउनुभयो । योजनाको प्रभावकारी अनुगमन गर्ने जिम्मेवारी जिल्ला समन्वय समितिले पनि निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बजेट कार्यान्वयनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले स्थानीय तहमा पठाइएका बजेट तथा कार्यक्रम कार्यान्वयनमा हुने ढिलासुस्तीले समग्र विकासको प्रगति प्रभावित हुने बताउनुभयो । उहाँले प्राप्त बजेट तथा कार्यक्रम समयमै कार्यान्वयन गर्न स्थानीय तहलाई आग्रह गर्दै विकास निर्माणमा समन्वय, अनुगमन र प्रभावकारी कार्यसम्पादनमा जोड दिनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट