चितवन, १६ कात्तिक ।
चितवनमा बागमती प्रदेशस्तरीय सितोरियो कराते दीक्षान्त समारोह सम्पन्न भएको छ । नेपाल सितोरियो कराते संघको आयोजनामा भरतपुर कभर्ड हलमा आयोजित समारोहबाट १२९ जना खेलाडी दीक्षित भएका छन् ।
तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा चितवन, धादिङ र सिन्धुलीका खेलाडी सहभागी थिए । दीक्षित भएकामध्ये ११३ जना प्रथम डान, १२ जना दोस्रो डान र चार जना तेस्रो डानबाट दीक्षित भएको नेपाल सितोरियो कराते संघ बागमती प्रदेशका अध्यक्ष गगन लामाले जानकारी दिए ।
खेलाडीलाई नेपाल सितोरियो कराते संघका प्रशिक्षक महेश कुमार श्रेष्ठले तीन दिनसम्म प्रशिक्षण दिएका थिए ।
समापन समारोहका प्रमुख अतिथि नेपाल सितोरियो कराते संघका केन्द्रीय अध्यक्ष दावा गुरुङले खेलाडी दीक्षित हुनु आफैँमा उपलब्धि भएको बताए । उनले दीक्षित खेलाडीलाई आगामी दिनमा थप जिम्मेवार भएर राष्ट्रका लागि योगदान गर्न सुझाव दिए ।
चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले खेलाडीलाई आफूले सिकेको ज्ञान र सीप नयाँ प्रतिभालाई सिकाउँदै उनीहरूलाई प्रेरित गर्न आग्रह गरे । उनले खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको पहिचान स्थापित गर्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिए ।





