जुटपानी एकेडेमीमा पाककला प्रतियोगिता र स्काउट दीक्षान्त

चितवन, १५ कात्तिक ।
कालिका नगरपालिका–१, सूर्यपुरस्थित जुटपानी एकेडेमीमा पाककला प्रतियोगिता तथा स्काउट दीक्षान्त समारोह सम्पन्न भएको छ ।
विद्यालयअन्तर्गतको स्काउट ट्रुपले आयोजना गरेको कार्यक्रममा ४० जना विद्यार्थी दीक्षित भएका छन् ।

विद्यालयका प्राचार्य एवं स्काउट ट्रुपका अध्यक्ष कमलप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक सन्तोष बस्ताकोटी प्रमुख अतिथि रहनुभएको थियो । उहाँले ४० जना विद्यार्थीलाई स्काउट दीक्षा प्रदान गर्नुभयो ।

पाककला प्रतियोगितामा हाँस पेट्रोल प्रथम, परेवा पेट्रोल द्वितीय र सुगा पेट्रोल तृतीय भएका छन् । प्रथम हुने हाँस पेट्रोलमा स्वीकृति चौधरी, चाँदनी विक, प्रमिशा गुरुङ, कृषा लोप्चन, आकाङ्क्षा थिङ र एलिसा श्रेष्ठ रहेका छन् ।

त्यसैगरी, अर्विना पाख्रिन, सपना पुन मगर, नेना श्रेष्ठ, आरोही घलान, जेनि गुरुङ र दुर्गा थिङ रहेको परेवा पेट्रोल द्वितीय तथा टेन्जु श्रेष्ठ, दीपशिखा थापा, दीक्षा लामा, सलमी स्याङ्बो, गुराँस परियार र कृष्टिना सुनुवार रहेको सुगा पेट्रोल तृतीय भएका छन् ।

कार्यक्रममा विकास राना मगर (टाइगर) उत्कृष्ट ब्वाइज स्काउट तथा स्वीकृति चौधरी उत्कृष्ट गर्ल्स स्काउटका रूपमा सम्मानित भएका छन् ।

दीक्षान्त समारोहमा प्रमुख अतिथि बस्ताकोटीले स्काउट प्रतिज्ञा, नियम, अनुशासन, सेवाभाव र जिम्मेवारीबोधको महत्त्वबारे प्रशिक्षण दिँदै दीक्षित विद्यार्थीलाई स्काउटका आदर्श र मूल्य–मान्यता व्यवहारमा उतार्न प्रेरित गर्नुभयो । सो अवसरमा विद्यार्थीलाई स्काउट स्कार्फ, ब्याज, वागललगायत सामग्री प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्राचार्य सापकोटाले स्काउट पोसाक लगाउने, झन्डा बोकेर हिँड्ने वा प्रतियोगितामा सहभागी हुने संस्थामात्र नभई विद्यार्थीलाई अनुशासित, आत्मनिर्भर, सेवाभावी र जिम्मेवार असल नागरिक बनाउने जीवनोपयोगी अभियान भएको बताउनुभयो ।

उहाँले पाककला प्रतियोगिताले विद्यार्थीमा सिर्जनशीलता, व्यावहारिक सीप, सहकार्य, समय व्यवस्थापन, नेतृत्व क्षमता र आत्मनिर्भरताको विकास गर्ने उल्लेख गर्दै पुस्तकबाट प्राप्त ज्ञानसँगै व्यावहारिक सीप पनि उत्तिकै महत्त्वपूर्ण हुने बताउनुभयो ।

दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै सापकोटाले स्काउट प्रतिज्ञालाई औपचारिकतामा मात्र सीमित नराखी जीवनभर व्यवहारमा उतार्न आग्रह गर्नुभयो । सत्य बोल्ने, अनुशासनमा रहने, ठूलालाई आदर र सानालाई माया गर्ने, प्रकृतिको संरक्षण गर्ने तथा आवश्यक परेको ठाउँमा निःस्वार्थ सेवा गर्न तत्पर रहने संस्कार विकास गर्न उहाँले जोड दिनुभयो ।

विद्यालयमा सञ्चालन हुँदै आएका स्काउट गतिविधिले विद्यार्थीमा असल संस्कार, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुर्‍याएकोमा खुसी व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

स्काउट शिक्षक जीवन बस्नेतले प्रतियोगितामा जित हासिल गर्नुभन्दा सिकाइ, अनुभव र असल व्यक्तित्व निर्माण महत्त्वपूर्ण हुने बताउनुभयो । हार र जितलाई सहज रूपमा स्वीकार गर्दै निरन्तर अघि बढ्न विद्यार्थीलाई प्रेरित गर्दै उहाँले विद्यार्थी नै भविष्यका सक्षम नेतृत्व, जिम्मेवार नागरिक र राष्ट्रका उज्ज्वल भविष्य भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा स्काउट शिक्षक जीवन बस्नेत, निम्न माध्यमिक तह इन्चार्ज अस्ना भण्डारी बस्नेत, माध्यमिक तह प्रमुख नारायण सापकोटालगायत शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।

वि.सं. २०५९ मा स्थापना भएको जुटपानी एकेडेमीमा हाल करिब ५०० विद्यार्थी, २२ शिक्षक र तीन कर्मचारी कार्यरत छन् । विद्यालयले नियमित पठनपाठनसँगै रेडक्रस, स्काउट र तेक्वान्दोजस्ता अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

विद्यालयमा सञ्चालित स्काउट गतिविधिले विद्यार्थीमा नेतृत्व क्षमता, आत्मनिर्भरता, सहकार्य, अनुशासन र सामाजिक सेवाको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको प्राचार्य सापकोटाले बताउनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट