“पीडाको पहाड” चढ्दै गर्दा भेटिएका सहयात्रीहरू (पुस्तक समीक्षा)

विषयप्रवेश :
कवि, गजलकार, मुक्तककार, सुमधुर स्वरका धनी किसान प्रेमीका कवितासङ्ग्रह ‘गाउँबस्ती रोइरहेको छ’ (२०५९), गजलसङ्ग्रह ‘गजब छ मान्छे’ (२०६३) र ‘अञ्जानमा गयौ कि!’ (२०८२), खण्डकाव्य ‘चेतना’ (२०६९) र लघुकथासङ्ग्रह ‘झुपडीको व्यथा’ (२०८०) प्रकाशित भइसकेका छन् । प्रस्तुत मुक्तकसङ्ग्रह ‘पीडाको पहाड’ उनको पछिल्लो कृति हो, जसलाई गजल मञ्च चितवनले प्रकाशन गरेको छ ।

पङ्क्तिकारले ‘गजब छ मान्छे’, ‘चेतना’, ‘झुपडीको व्यथा’ र ‘अञ्जानमा गयौ कि !’ माथि केन्द्रित रहेर समीक्षा, टीकाटिप्पणी गरिसकेको अवस्थामा उनका परिचयात्मक विवरणहरू नराख्ने प्रयास गरेको छु ।

मुक्तकको इतिहास हेर्ने हो भने षष्ठपदीय (६ पदीय, हरफ), अष्टपदीय (८ पदीय, हरफ) शैलीमा पनि लेखिएका भेटिन्छन्, तर पछिल्लो समयमा चतुष्पदीय शैलीलाई पछ्याउँदै मुक्तकहरू लेखिँदै आइरहेका छन्। प्रस्तुत मुक्तकसङ्ग्रह ‘पीडाको पहाड’ भित्र यस्तै चतुष्पदीय शैलीमा विरचित १८२ वटा मुक्तकहरू समाविष्ट रहेका छन् ।

बन्दीपुरे कवि चन्द्रलाल विश्वकर्माका सुपुत्र स्वर्गीय विकास सदाशङ्करप्रति समर्पित ‘पीडाको पहाड’ मा गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासको प्रकाशकीय लेख रहेको छ । त्यस्तै, आवरण पृष्ठको पछिल्लो पानामा रमेश समर्थनका शुभकामनाका शब्दहरूले कृतिलाई थप ओझिलो बनाएको आभास हुन्छ । किसान प्रेमीका दुईवटा गजलहरू ‘घुम्टो किन तानेकी आज तिमीले……’ र ‘सुन म पनि मायाको छानो बनेको हुँ, पैसासँग जोख्यौ र पो सानो बनेको हुँ…’ रेकर्ड भइसकेका छन् भने अझै केही कृतिका पाण्डुलिपिहरू प्रकाशनको तयारीमा रहेको जानकारीसमेत दिन्छन् उनी ।

यस आलेखमा उनै किसान प्रेमीको पछिल्लो कृति मुक्तकसङ्ग्रह ‘पीडाको पहाड’ भित्र समावेश भएका मुक्तकहरूमाथि सामान्य शल्यक्रिया गर्ने प्रयास गरिएको छ ।

किसान प्रेमीसँगको सान्निध्यले उनका विगतदेखि वर्तमानसम्मका नालीबेलीहरूको जानकारी मलाई छ । बाबुसँगको खटपटले ट्रकसँग ठोक्किएर आत्महत्या गर्नसमेत तम्सिएको, विद्यालयमा कथित तल्लो जात भनेर गरिएको दुर्व्यवहार, त्यो बेला वरपरका छरछिमेकहरूले दिएको सास्ती, २०४२/४३ सालमै राष्ट्रिय स्तरको प्रशिक्षक भएको (राजनीतिक हस्तक्षेपका कारण राजीनामा दिएको) जस्ता धेरै कारण हुन सक्छन् ‘पीडाको पहाड’ जन्मिनुका पछाडि । हेरौँ यो सङ्ग्रहको शीर्ष मुक्तक :-

पीडाको पहाडले सधैँ किन थिचिरहेको छ ?
नौलो तस्बिर भनी कसैले के खिचिरहेको छ ?
भोलि रहला या नरहला यो संसारमा मान्छे !
यस्तै यस्तै विचार यहाँ किन बिकिरहेको छ ? (पृष्ठ १/ मुक्तक १)

रेमिट्यान्सले चलेको देश, विमानस्थलमा युवाहरूको विदेश जानेको लर्को मात्रै होइन, काठको बाकसमा फर्किनेहरू पनि उत्तिकै हुन्छन् । कारण ? नेताहरू इमानदार छैनन्, सरकार स्थिर छैन, जनउत्तरदायी छैन । पुल बनाउन भ्रष्टाचार, बाटो बनाउन भ्रष्टाचार, हुँदाहुँदै स्वास्थ्य, शिक्षाजस्ता अत्यावश्यक क्षेत्रमा समेत भ्रष्टाचार । नयाँ उद्योग खोल्ने वातावरण नहुनु, पुराना उद्योगहरू (जस्तै भृकुटी कागज कारखाना—गैँडाकोट, नवलपरासी; हेटौँडा कपडा उद्योग—हेटौँडा; गोरखकाली टायर उद्योग—काठमाडौँ; बाँसबारी छालाजुत्ता उद्योग—काठमाडौँ) कमिसनकै खेलमा बन्द गराइनु, जसले भएका रोजगारी पनि खोस्यो । यसरी वर्षेनी युवाहरूको ठूलो सङ्ख्या वैदेशिक रोजगारीमा गइरहेका हुन्छन् । यदि सरकार स्थिर, शासक असल र नेताहरू इमानदार भए नेपालमै श्रम गर्ने वातावरण सिर्जना हुने थियो कि ?

यथा :-

जनप्रति उत्तरदायी सरकार छँदै छैन ।
राष्ट्रवादी, जनसेवी खोज्दा भेटिँदैन ।
रुँदैरुँदै चढेका छन् बाध्यताले जहाज ।
श्रम गर्ने वातावरण यो नेपालमै छैन । (पृष्ठ ३/ मुक्तक ६)

म प्रकृति प्रेमी, पीडाको पहाडले मलाई समेत यति धेरै थिचेको छ नि, यदि मदिरा नभएको भए म उहिल्यै मरिसकेको हुने थिएँ । यादमै तड्पिएर जिउन खोज्ने मजस्ता प्रेमीहरू यहाँ लाखौँ, करोडौँ छन्, जसले पीडा भुलाउन पिएका छन् । समयले धोका दिएपछि फाटेको मन आफैँ सिउन बाध्य छन्, होइन र किसान प्रेमीजी ?

यादै यादमा तड्पिएर जिएका छन् कोही ।
यादलाई भुलाउन पिएका छन् कोही ।
समयले धोका दियो भन्दै टोलाउँदै !
फाटेको मन आफैँले सिएका छन् कोही । (पृष्ठ ४/ मुक्तक ८)

त्रेतायुगका हनुमान अर्थात् जिन्दगीभर रामको मात्रै सेवा गरी बसेका एक पौराणिक पात्र । लोभ, लालचका लागि, स्वार्थसिद्धिका लागि नेताहरूको पछि लाग्ने, उनीहरूकै महिमा गाउने प्रवृत्ति भएकाहरूलाई व्यङ्ग्य गर्दै मुक्तक लेख्न खप्पिस छन् । यतिमात्रै होइन, मानव र मानवतालाई घृणा–तिरस्कार गरेर ढुङ्गा र ढेँडुलाई अबिर लगाएर पुज्नेहरूकै गुणगान गाउने परिपाटी अझै कायम रहेको अवस्थाको चित्रण गर्दै यसरी सुनाउँछन् किसान प्रेमी :-

हराए कि देखिन्छन् खै हनुमानहरू ।
कसैको त पक्कै मिल्ला अनुमानहरू ।
ढुङ्गोलाई, ढेँडुलाई लाएका छन् अबिर ।
सुन्छु जताततै तिनकै गुनगानहरू । (पृष्ठ १४/ मुक्तक २८)

जिन्दगीरूपी यात्रामा पटकपटक असफल भइन्छ, सफलता चुम्न अग्रसर हुँदै गर्दा पटकपटक लड्न पुगिन्छ । सङ्घर्ष गर्दै गर्दा कहिलेकाहीँ अभावसँग, गरिबीसँग, समस्यासँग र आफैँसँग पनि जुध्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा आफन्तहरू पराई हुन सक्छन्, प्रेयसीले साथ छाड्न सक्छिन्, तर किसान प्रेमी धैर्यतालाई आत्मसात् गर्दै अविचलित, अनवरत रूपमा यात्रारत छन् । कोसिसलाई नै आफ्नो कर्तव्य ठान्ने उनले आफूले सफलताको हिमाल चढेको खण्डमा कसैलाई आश्चर्यचकित नहुन आग्रह गर्छन् यसरी :-

आश्चर्य केही मान्दिनँ म हिँड्दा ढलेँ भने ।
धैर्यताका बाँध लाउँछु एक्लै परेँ भने ।
कोसिस मेरो कर्तव्य हो, कोसिस गरिराख्छु ।
नौलो केही नमान्दिनु हिमाल चढेँ भने । (पृष्ठ २८/ मुक्तक ५६)

जेजस्तो भए पनि बाबुआमालाई आफ्नो सन्तानको माया लागिहाल्छ । तिनै सन्तानलाई हुर्काउन, बढाउन, पढाउन र योग्य बनाउन बाबुआमाले गरेका दुःखहरू, भोगेका पीडाहरू, झेलेका सास्तीहरू अवर्णनीय छन् । तर तिनै सन्तान हुर्केपछि कमाउनका लागि, जीविकोपार्जनका लागि, छोराछोरीको शिक्षादीक्षा, पालनपोषणका लागि घर छाडेर पर पुग्छन् । अन्तिममा घर रुघ्ने भनेकै बूढा बाबुआमाले मात्रै । बुढेसकालमा आफूसँगै बसोस् भन्ने चाहना कुन बाबुआमालाई हुँदैन र ? तर हुन्छ उल्टो, धर्तीलाई ढोगेर चित्त बुझाउन विवश छन् उनीहरू :-

बाआमाले गर्छन् माया सधैँ बोकीबोकी ।
हुर्काउँछन्, बढाउँछन् माया पोखीपोखी ।
हुर्केपछि छोराछोरी जान्छन् गुँड छाडी ।
यस्तै रै’छ यो संसार भन्छन् धर्ती ढोगी । (पृष्ठ ४३/ मुक्तक ८५)

अरूको गल्ती देख्ने आँखीझ्यालहरू जोकोहीको घरमा भएको जिकिर गर्छन् उनी । स्यालका प्रवृत्ति भएकाहरूले सिंहको खोल ओढेर अरूलाई डराउने, धम्काउने र फाइदा लिनेहरूको पनि कमी छैन भन्न डराउँदैनन् । विपक्षमा बस्दा वा संसद्मा प्रतिपक्षमा बस्दा सरकारको घोर विरोध गर्नेहरू पनि आफू र आफ्नो पार्टी सत्तामा पुगेपछि कहाँ, के, कसरी धनसम्पत्ति कुम्ल्याउन सकिन्छ भनेर र्‍याल काढ्ने प्रवृत्तिप्रतिको कटाक्ष गरिएको मुक्तक यस्तो छ :-

सहरभित्र पनि आँखीझ्याल देखिँदैछ ।
सिंहको खोल ओढेको त्यो स्याल देखिँदैछ ।
जसले सधैँ विपक्षी भई विरोध गर्दै हिँड्यो ।
आज उसकै मुखभरि र्‍याल देखिँदैछ ।

“जन्मेपछि मर्नैपर्ने रीत जिन्दगीको ।
बाँचुञ्जेल गर्नुपर्छ हित जिन्दगीको ।”

कुनै बेला यस्तै शेर लेखेको थिएँ, किनकि प्रेमीहरूलाई थाहा हुन्छ संसारमा जति पनि सजीव प्राणी, वनस्पति छन्, सबै एक दिन मर्नैपर्ने हुन्छ । यदि यो संसार छाडेर जानैपर्ने भएपछि किन लोभ गर्ने, एकअर्कालाई क्षति किन पुर्‍याउने, अरूको कुभलो किन चिताउने ? अरूको भाग खोसेर लिनेहरू, सम्पत्ति हडप्नेहरूलाई सन्देश पनि दिन चाहन्छन् उनी । डेराजस्तो यो संसारमा बाँच्नका लागि एक छाक खाने नै त हो । जन्मिँदा के लिएर आएका थियौँ र के नै लिएर जान्छौँ भन्ने भाव प्रस्तुत गरिएको मुक्तक यस्तो रहेको छ :-

संसार डेराजस्तो छ, आउनु छ, जानु छ ।
जे गरेरै भए पनि बाँच्नका लागि खानु छ ।
बलियो छु भन्दैमा खोसेर खानेहरू हो, सोच ।
के लिएर आयौ तिमीले, के लिएर जानु छ ?

परिवर्तनका लागि क्रान्ति अवश्यम्भावी हुन्छ । गत वर्ष मात्रै (२०८२ भदौ २३ र २४ गते) नेपालमा एउटा ऐतिहासिक क्रान्ति भयो । ‘जेन-जी’ अर्थात् युवापुस्ताले भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनले नेपालको राजनीतिक धरातल नै उथलपुथल गराइदियो । सरकारले घुँडा टेक्यो, प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू लगायतका नेताहरूको भागाभाग भयो, ज्यान जोगाउन हम्मेहम्मे पर्‍यो । शीर्ष नेताहरूले कुम्ल्याएर राखेको अर्बौँ, खर्बौँ रुपैयाँ जले, घर, पसलहरू जले, लुटिए, संसद् भवन मात्रै होइन, सिंहदरबार, सर्वोच्च अदालतसमेत जलाइए ।

व्यवस्था परिवर्तन भयो अर्थात् परिवर्तनका लागि क्रान्ति आवश्यक छ र क्रान्तिका लागि एकजुट भएर व्यवस्थाविरुद्ध धावा बोल्न सक्नुपर्छ । मतलब यथास्थितिवादलाई निरन्तरता दिँदै दासत्व स्वीकार्ने कि एकजुट भएर क्रान्ति गर्ने भन्ने प्रश्नको जवाफ खोज्न किसान प्रेमी तल्लीन छन् :-

दापमा कति बस्छौ तिमी दुःख पचाएर ।
अरूको सामु तिमी सधैँ आँसु खसाएर ।
एकतामा बल हुन्छ, एकजुट हुनु सबै ।
अगाडि बढ्नु क्रान्तिको पोसाक लगाएर । (पृष्ठ ७९/ मुक्तक १५७)

नेपालमा धर्मकै नाममा सतहमै त्यस्तो विवाद वा सङ्घर्षका पदचापहरू देखिएका छैनन्, तर छुवाछुत अझैसम्म पनि कायमै छ । कथित ठूलो जात भएकोमा अहम् प्रकट गर्नु गलत भएको जिकिर गर्छन् किसान प्रेमी । जाजरकोटमा केही वर्षअघि भएको अन्तरजातीय प्रेमसम्बन्धका कारण नवराज विकलगायत ६ जनाको सामूहिक हत्या भएको घटनाले कुरीति र कुसंस्कारको भयावह स्थिति अझैसम्म जरा गाडेर बसेको प्रतीत हुन्छ ।

धर्म र जातको नाममा लडिरा’छ मान्छे ।
अहम्‌मा डुबेर युद्ध गरिरा’छ मान्छे ।
सहिष्णुता छैन यहाँ, मानवता बिर्से ।
कुरीति र कुसंस्कारमा गडिरा’छ मान्छे । (पृष्ठ ८३/ मुक्तक १६६)

किसान प्रेमी निजामती सेवाबाट अवकाशप्राप्त कर्मचारी हुन् । उनी सरल छन्, सरस छन्, मिलनसार छन् । उनलाई कसैलाई लडाएर न कहिल्यै माथि पुग्ने चाहना थियो, न अरूको निन्दा गरेर राम्रो हुने चाहना राख्छन् । न त जागिरको क्रममा कसैको चाकरी गरेर पदोन्नतिको प्रयत्न नै गरे । उनी आकाशको जुनसँग गुनासो गर्दैनन्, किनकि उनलाई थाहा छ, जुनलाई छुन सकिँदैन भन्ने कुरा । उनको एउटा महलजत्रै घर छ, छोराबुहारी कमाउने भइसकेका छन्, तल्लो तलामा कोठा, फ्ल्याटहरू भाडामा दिएका छन्, यसबाट पनि घरखर्च चलेकै छ । सायद यसकै कारण हुन सक्छ पछिल्ला तीन कृतिहरू वर्षैपिच्छे प्रकाशित भएका । यसरी हेर्ने हो भने उनलाई कुनै कुराको लोभलालच छैन । श्रीमती गीता खाँतीसँग रमाइरहेका छन् । अब उनलाई अध्ययन र लेखनमा पूरा समय खर्चिने अवसर छ र उनी यसमै निमग्न लागिपरेका पनि छन् । कलमलाई असल मित्र मानेर कापीकलमबाहेक कसैको हुन नसकेको प्रसङ्ग प्रस्तुत सङ्ग्रहको अन्तिम मुक्तकमा समेट्ने प्रयास गरेका छन् किसान प्रेमीले :-

आकाशको जुनसँग गुनासो केही छैन ।
म धरती आकाशलाई छुन सक्ने हैन ।
किताब मेरो असल मित्र, त्यसैसँग बोल्छु ।
कापीकलमबाहेक म कसैको नि भइनँ । (पृष्ठ ९१/ मुक्तक १८२)

जाँदाजाँदै :
किसान प्रेमी विशेषतः दलित तथा सीमान्तकृत समुदायको पक्षमा लेख्ने स्रष्टा हुन् । यसकारण पनि उनका धेरैजसो सिर्जनाहरूले क्रान्तिको बिगुल फुक्ने प्रयास गरिरहेका पाउन सक्छौँ । तथापि उनी एक सच्चा देशप्रेमी पनि भएकोले राष्ट्र र राष्ट्रियताप्रति समर्पित लेख, रचनाहरू पनि लेखिएका, लेखिरहेका हुन्छन् । साथसाथै मानवीय मूल्य र मान्यताको वकालत गर्नु उनले आफ्नो कर्तव्य पनि ठानेका छन् । जातीय विभेद र छुवाछुतविरुद्ध लेखिएको खण्डकाव्य ‘चेतना’ ले समाजमा व्याप्त कुरीति र कुसंस्कृतिलाई हटाउने चेष्टा, प्रयत्न गरेको छ ।

किसान प्रेमीको पछिल्लो कृति, मुक्तकसङ्ग्रह ‘पीडाको पहाड’ ले नेपाली मुक्तककाशमा एउटा चम्किलो नक्षत्रको रूपमा आफूलाई उपस्थित गराउने प्रयास गरेको छ र उनी सफल पनि भएका छन् । यत्ति भन्छु, “‘पीडाको पहाड’ किनेरै पढ्नुपर्ने र घरको पुस्तकालयमा सङ्ग्रह गरेर राख्नुपर्ने हैसियत बोकेको छ ।”

अब किसान प्रेमीका कृतिहरू निरन्तर प्रकाशन हुने सङ्केत देखिएको छ, जुन राम्रो कुरा हो । उनका जुनसुकै विधाका सिर्जनाहरू पनि अध्ययन, लेखन र अनुभवले खारिएका छन् र त उत्कृष्ट छन्, राम्रा छन् र त सबैको मन जित्न सफल छन् ।

उनको पारिवारिक, व्यक्तिगत, साहित्यिक एवम् सामाजिक व्यक्तित्व अझै निखारिँदै जाओस् भन्ने शुभकामना व्यक्त गर्दछु । ‘पीडाको पहाड’ चढ्दै गर्दा भेटिएका सहयात्रीहरूसँगको सामीप्यबाट नतमस्तक भई एउटा मुक्तक राख्दै म प्रकृति प्रेमी पनि ओझेलिएँ है त :-

पीडाको पहाड चढेपछि नै हो मान्छे बन्ने ।
हारेको, लडेको मान्छे नै हो शिखर चढ्ने ।
जातीय विभेद र छुवाछुत बन्द गरौँ सबै मिली ।
मानवता र मानवीयता नै हो ठूलो धर्म भन्ने ।

जय मुक्तक, जय साहित्य।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट