कर्णाली याक्स विरुद्ध काठमाडौं गोर्खाजको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको पहिलो खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। काठमाडौंले अन्तिम दुई बल बाँकी छँदै लक्ष्य भेट्टाएको हो।

काठमाडौंको जितमा राशिद खानले सर्वाधिक ५० रन बनाए। उनले ३३ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। कप्तान करण केसीले आक्रामक ब्याटिङ गर्दै २० बलमा ४४ रन जोडे। उनले चार चौका र तीन छक्का प्रहार गरे।

त्यस्तै, जाहान्दाद खानले अविजित २२ तथा मोहम्मद आदिल आलमले २० रन बनाए। डेभिड वार्नरले १६ र स्मित पटेलले नौ रन जोडे।

कर्णालीका सोमपाल कामी र हुसेन तलतले समान दुई विकेट लिए। मार्क वाट र नन्दन यादवले एक-एक विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले बलिङ रोजेको काठमाडौंविरुद्ध ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो।

कर्णालीका लागि अरिफुल इस्लामले २२ बलमा ४४ रन बनाए। उनले पाँच चौका र तीन छक्का प्रहार गरे। हुसेन तलतले ३० बलमा ४० तथा पवन सर्राफले अविजित २४ बलमा ३० रन जोडे। गुल्सन झाले १२ बलमा २० रन बनाए।

काठमाडौंका करण केसी र सोमपाल कामीले समान दुई विकेट लिए। शाहाब आलम र देव शाहले एक-एक विकेट हात पारे।

जितसँगै काठमाडौंले प्रतियोगितामा महत्त्वपूर्ण दुई अंक जोडेको छ । दुई खेलमा एक खेल जितेको काठमाडौं दुई अङ्कका साथ छैठौँ स्थानमा छ भने तीन खेलमा दुई जित र एक हार भोगेको कर्णाली तालिकामा शीर्ष स्थानमा छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट