काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै जनकपुर बोल्ट्स अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
जनकपुरले तीन खेलबाट दुई जितसहित चार अंक जोडेको छ। जितसँगै टोलीले दुई अंक थपेको हो।
पोखरा एभेन्जर्स भने लगातार दोस्रो हारपछि अंकतालिकाको सातौँ स्थानमा पुगेकाे छ। पोखराले अहिलेसम्म २ खेल खेलेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो।
पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए। बिपिन आचार्यले २०, बिपिन खत्रीले अविजित १७ तथा किरण ठगुन्नाले १५ रन जोडे।
जनकपुरका मोइन अलीले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए। हरमीत सिंह र सैफ हसनले समान २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो। उसका लागि त्रितराज दासले सर्वाधिक ६१ रन बनाए। उनले ५५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। उनी प्लेयर अफ दि म्याच पनि घोषित भए । यस्तै मोइन अलीले २१ तथा अभिषेक तिवारीले अविजित २४ रन जोडे।
पोखराका शाकिब अल हसनले ३ विकेट लिए। चमिका करुणारत्नेले २ विकेट हात पारे।





