चितवन, २१ असोज ।
थारू भाषा, साहित्य, कला, संस्कृति र इतिहासको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले ११औँ थारू साहित्य राष्ट्रिय सम्मेलन आगामी २०८३ पुस १० र ११ गते चितवनको माडी नगरपालिका–३, बघौडामा आयोजना हुने भएको छ । सम्मेलनको तयारीलाई आयोजकले तीव्रता दिएको छ ।
थारू लेखक संघ नेपाल केन्द्रीय समितिको आयोजनामा गत वर्ष २०८२ माघ १५, १६ र १७ गते पर्साको पटेरवामा सम्पन्न १०औँ राष्ट्रिय सम्मेलनका क्रममा आगामी सम्मेलन चितवनमा आयोजना गर्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार माडीमा सम्मेलन आयोजना गर्न तयारी अघि बढाइएको हो ।
सम्मेलनको तयारीका लागि थारू लेखक संघ नेपालका केन्द्रीय पूर्वअध्यक्ष तथा संरक्षक एवं साहित्यकार प्रा. डा. कृष्णराज सर्वहारीको संयोजकत्वमा बैठक सम्पन्न भएको छ । बैठकले सम्मेलनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन तथा जिम्मेवारी बाँडफाँट गरेको छ ।
बैठकले स्मारिका प्रकाशन समिति तथा कार्यक्रम र आर्थिक उपसमितिको संयोजकमा चन्द्रमणि महतो, भोजन व्यवस्थापन उपसमितिको संयोजकमा हिरामति गुरौ, आवास व्यवस्थापन उपसमितिको संयोजकमा लिलकुमार महतो र प्रचार–प्रसार उपसमितिको संयोजकमा मनोज अज्ञात थारूलाई जिम्मेवारी दिएको छ ।
त्यस्तै, अतिथि स्वागत तथा सत्कार, राष्ट्रिय कविता प्रतियोगिता, हल तथा मञ्च व्यवस्थापन, कार्यक्रम सञ्चालन, स्वयंसेवक परिचालन र स्टल व्यवस्थापनलगायतका उपसमिति गठन गर्न बाँकी रहेको जनाइएको छ । बाँकी उपसमिति पनि शीघ्र गठन गरी सम्मेलनको तयारीलाई थप तीव्रता दिने आयोजकले जनाएको छ ।
सम्मेलनको तयारीकै क्रममा माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारीसँग भेटघाट तथा छलफलसमेत गरिएको छ। स्थानीय साहित्यिक, सांस्कृतिक तथा सामाजिक संस्थासँग समन्वय गरी सम्मेलनलाई भव्य र प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ ।
बैठकमा नेपाल प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य तथा थारू लेखक संघ नेपाल केन्द्रीय समितिका पूर्वअध्यक्ष एवं हालका सल्लाहकार डा. कृष्णराज सर्वहारी, थारू लेखक संघ चितवनका सल्लाहकार डा. सञ्जय चौधरी, थारू कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललितकुमार चौधरी, थारू पत्रकार संघ चितवनका अध्यक्ष तथा थारू लेखक संघ चितवनका सदस्य मनोज थारू ‘अज्ञात’ लगायत थारू कल्याणकारिणी सभा क्षेत्र नं. १ माडीका पदाधिकारीको उपस्थिति थियो । बैठकमा माडी नगरपालिका–३ का वडाध्यक्ष पुरन महतोको समेत सहभागिता थियो ।
साहित्य, कला र संस्कृतिमाथि विमर्श
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा थारू भाषा, साहित्य, कला, संस्कृति र इतिहासका विविध विषयमा छलफल तथा विमर्श हुने आयोजकले जनाएको छ ।
सम्मेलनमा सिर्जना वाचन, राष्ट्रिय कविता प्रतियोगिता, साहित्यकार तथा सिर्जनशील पुरस्कार वितरण, कार्यपत्र प्रस्तुति, प्यानल छलफल तथा अन्तरक्रियालगायतका कार्यक्रम समावेश गरिनेछन् ।
थारू साहित्यको दायरा नेपालमा मात्र सीमित नराखी छिमेकी मुलुक भारतको बिहार क्षेत्रका थारू लेखक तथा साहित्यकारलाई समेत सम्मेलनमा सहभागी गराउने योजना रहेको आयोजकले जनाएको छ । देशका विभिन्न स्थानका साथै देशबाहिरबाट समेत स्रष्टा, पाठक, साहित्यप्रेमी तथा शुभेच्छुक माडीमा आउने अपेक्षा गरिएको छ ।
विभिन्न संस्थाको सहकार्य, माडी नगरपालिका प्रवर्द्धक
सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठान, थारू लेखक संघ नेपाल केन्द्रीय समिति, थारू कल्याणकारिणी सभा चितवन, बुद्धिजीवी सभा चितवन, थारू पत्रकार संघ चितवन, थारू कलाकार संघ चितवन, महिला सभा चितवन, युवा सभा चितवन, थारू कल्याणकारिणी सभा क्षेत्र नं. १ माडी, माडी प्रज्ञा प्रतिष्ठान, माडी साहित्य परिवार, भरतपुर प्रज्ञा प्रतिष्ठान र गैँडाकोट प्रज्ञा प्रतिष्ठानको सहकार्य रहनेछ।
माडी नगरपालिका सम्मेलनको प्रवर्द्धकका रूपमा रहने आयोजकले जनाएको छ ।
माडीमा राष्ट्रियस्तरको थारू साहित्य सम्मेलन आयोजना हुनुले स्थानीय थारू भाषा, साहित्य तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका स्रष्टा, साहित्यकार र पाठकको जमघटले माडीलाई थारू साहित्यिक तथा सांस्कृतिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्नसमेत सहयोग पुग्ने आयोजकको विश्वास छ ।





