‘भेटी’ : समसामयिक नेपाली परिपाटीलाई उजागर गर्न सफल

के हो ‘भेटी’ ?

‘भेट’ शब्दमा ‘ई’ प्रत्यय लागेर बनेको ‘भेटी’ शब्दले देवदेवी वा पूज्य व्यक्तिलाई आदरपूर्वक चढाइने नगद, सुनचाँदी वा अन्य वस्तुलाई जनाउँछ । यही अर्थ बोकेको ‘भेटी’ विष्णु पन्थी ‘विनु’को पहिलो लघुकथासङ्ग्रह हो ।

को हुन् विष्णु पन्थी ‘विनु’ ?

पिता बुद्धिराम तथा माता धनकला पोख्रेलकी सन्तानका रूपमा अर्घाखाँचीको मालारानी–३, हाँसियाडाँडामा जन्मिएकी विष्णु पन्थी ‘विनु’ तिलकराम पन्थीसँग वैवाहिक सम्बन्धमा बाँधिएपछि उच्च शिक्षालाई निरन्तरता दिँदै साहित्यिक क्षेत्रमा समेत सक्रिय रहँदै आएकी छन् । ईशान र प्रशान्त दुई सुपुत्रसहित गैँडाकोट–२, नवलपुरमा स्थायी बसोबास गर्दै आएकी उनी नेपाली विषयमा एमए तथा बीएड उत्तीर्ण गरी हाल शिक्षण पेसामा आबद्ध छन्ब। उनले ‘सृजनात्मक ब्रह्माण्ड’ पत्रिकाको २०७३ देखि २०७५ सम्म सम्पादनसमेत गरेकी छन् ।

विषयप्रवेश

‘भेटी’ (२०८१) विष्णु पन्थी ‘विनु’द्वारा रचित पहिलो कृति तथा लघुकथासङ्ग्रह हो । ‘नमस्ते आधुनिक लघुकथा मञ्च, चितवन’ले प्रकाशन गरेको यस कृतिमा कुल ९२ पृष्ठ छन् । प्रारम्भिक १२ पृष्ठमा लघुकथा वन्दना, आलोकाचरण, मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को प्रकाशकीय, डा. विदुर चालिसेको भूमिका, लेखकको आफ्नो कुरा र लघुकथाक्रम समेटिएका छन् । बाँकी ८० पृष्ठमा ४० वटा लघुकथा समाविष्ट छन् ।

कसरी जन्मियो ‘भेटी’ ?

कुनै सार्वजनिक संस्थामा कामको सिलसिलामा पुग्दा घुमाउरो पाराले घुस मागिएको घटनाबाट आफू विचलित भएको र त्यसै घटनाले व्यङ्ग्यात्मक लघुकथा लेखनतर्फ अग्रसर गराएको कथाकारले बताएकी छन् ।

त्यसैगरी कोभिड–१९ महामारी, त्यसले सिर्जना गरेको त्रासदीपूर्ण समय र लकडाउनका क्रममा देखिएका सामाजिक विकृतिले पनि उनको लेखनीलाई प्रभावित गरेको देखिन्छ । राहत वितरणका नाममा केही पोका चाउचाउ, नुन, दाल–चामल बाँडेर त्यसलाई ठूलो उपलब्धिजस्तो प्रस्तुत गर्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्ने प्रवृत्तिले समेत उनको व्यङ्ग्यचेतलाई थप धार दिएको पाइन्छ ।

कथाहरूको अन्तर्य

‘भेटी’भित्रका ४० लघुकथा नेपाली समाजका विविध पक्ष, विसङ्गति, विकृति, पारिवारिक सम्बन्ध, राजनीतिक प्रवृत्ति, शैक्षिक अवस्था, गरिबी, श्रमशोषण, भ्रष्टाचार र बदलिँदो सामाजिक मूल्य–मान्यताका वरिपरि केन्द्रित छन् ।

‘जाल’मा फुलन्दे पात्रमार्फत छिमेकीको घरमा झगडाको बीउ रोप्ने, कुलतमा फसाउने र ऋण दिएर अन्ततः जग्गा हडप्ने प्रवृत्तिको चित्रण गरिएको छ ।

‘तिहार’ले निम्नवर्गीय परिवारको आर्थिक अवस्था र चाडपर्वमा देखासिकीका कारण बढ्ने पारिवारिक दबाबलाई प्रस्तुत गरेको छ। ‘दशैँ’मा छोरी मात्र जन्मिएका कारण महिलामाथि हुने विभेद, माइतीको गरिबीका कारण हुने अपमान र श्रीमान्बाट हुने दुर्व्यवहारलाई विषय बनाइएको छ ।

‘दर’ले तीजका नाममा महिनौँअघिदेखि दर खाने र रमाइलो गर्ने बढ्दो प्रवृत्तिलाई विकृतिका रूपमा प्रस्तुत गर्छ। ‘प्रदर्शन’ले वर्षभरि बाबुलाई बेवास्ता गर्ने तर कुशेऔँसीका दिन फलफूल दिएर सार्वजनिक रूपमा अपनत्व देखाउने ढोङमाथि व्यङ्ग्य गरेको छ ।

‘अँध्यारो कोठा’ प्रेम, विश्वास र धोखाको मनोविज्ञानसँग सम्बन्धित कथा हो भने `पीडित’ले समाजसेवाको आवरणमा हिंसात्मक व्यवहार लुकाउने पात्रको दोहोरो चरित्रलाई उजागर गर्छ ।

‘नेता’मा सरसफाइ अभियानमा खटिएका बालबालिकालाई फोहोर नफाल्न आग्रह गर्ने तर आफूले त्यसको पालना नगर्ने नेताको विरोधाभासपूर्ण चरित्र प्रस्तुत गरिएको छ ।
‘मालिक’मा हलिया रणेले भोग्नुपरेको श्रमशोषण तथा मालिकप्रतिको बाध्यतापूर्ण बफादारी देखिन्छ ।

‘चुनाव’ले निर्वाचनमा पैसा बाँड्ने, बाटोखर्च दिने र भोजभतेर गर्ने राजनीतिक संस्कारलाई कोभिडकालीन परिवेशसँग जोडेको छ । ‘अभिभावक’ले अभिभावकको गलत आचरण कसरी सन्तानमा प्रतिबिम्बित हुन्छ भन्ने देखाउँछ ।

‘चन्दा’मा मन्दिरको शिलालेखमा नाम लेखाउन प्रतिस्पर्धा गर्ने तर सिकिस्त आमाको उपचारका लागि खर्च गर्न पछि हट्ने दाजुभाइको व्यवहारमाथि तीखो व्यङ्ग्य गरिएको छ ।

‘न्याय’मा नाबालिका बलात्कार, हत्या, विरोध प्रदर्शन, प्रहरीको गोली र न्यायको मागजस्ता समसामयिक विषयलाई समेटिएको छ। ‘आसन ग्रहण’ले सामान्य कार्यक्रममै मर्यादाक्रम र कुर्सीका लागि हुने विवादमार्फत हाम्रो सामाजिक तथा राजनीतिक मानसिकतामाथि व्यङ्ग्य गर्छ ।

‘अलच्छिन’ले शारीरिक अपाङ्गता वा विधवापनका कारण कसैलाई ‘अलच्छिन’ मान्ने अन्धविश्वासलाई प्रश्न गर्छ। ‘नि:शब्द’मा पाँच वर्षीय बालकको सरल संवादमार्फत बाबुको मृत्यु र आमाछोराको मनोवेदना अत्यन्त मार्मिक रूपमा अभिव्यक्त भएको छ ।

‘अर्को बाटो’मा श्रीमतीले बिरामी श्रीमान्को उपचारका लागि गरेको संघर्ष र पछि श्रीमती बिरामी हुँदा श्रीमान्को स्वार्थी मानसिकता प्रस्तुत गरिएको छ । ‘चिन्ता’ले एउटै समय र परिवेशमा धनी तथा गरिब मानिसले भोग्ने फरक चिन्तालाई चित्रण गरेको छ ।

‘आशीर्वाद’ले छोरीको बालविवाह गराउने परम्पराविरुद्ध शिक्षा र आत्मनिर्भरतालाई अघि सार्छ । ‘गुनासो’मा शिक्षण पेसासँग सम्बन्धित विद्यालय, विद्यार्थी, अभिभावक, प्रधानाध्यापक र शिक्षकबीचका विविध समस्या प्रस्तुत गरिएको छ ।

`बिर्खेको सम्झौता’ले अरूको भलोका लागि आफूलाई जोखिममा पार्ने मानिस अन्ततः कसरी स्वार्थी समाजबाटै ठगिन सक्छ भन्ने देखाउँछ । `एकान्तप्रेमी’मा मोबाइललाई प्रेमीसँग तुलना गर्दै आधुनिक प्रविधिप्रतिको मानिसको बढ्दो आसक्तिलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ ।

‘नन्दलाल सर’ शिक्षक–विद्यार्थी सम्बन्ध, अभिभावकीय हस्तक्षेप र शिक्षकको मानवीय भूमिकामाथि केन्द्रित छ ।
‘आमाको झोला’ले पारिवारिक सम्बन्धमा पुरुषले समेत भोग्नुपर्ने मानसिक दबाबलाई उजागर गर्छ ।

‘आमाछोरी’ले पारिवारिक काममा सबैको सहभागिताले घरमा खुसी ल्याउने सन्देश दिन्छ । ‘आमाको मन्दिर’ले मन्दिरमा ठूलो रकम दान गरेर प्रचार गर्नुभन्दा मन्दिर परिसरमै दुःख पाएका मानिसलाई सहयोग गर्नु नै वास्तविक मानव धर्म भएको बताउँछ ।

‘बुहारीको व्रत’ले धार्मिक आस्था र सामाजिक सञ्जालमा देखिने प्रदर्शनबीचको अन्तरलाई व्यङ्ग्य गर्छ । ‘हुलिया’मा वैदेशिक रोजगारीका कारण परिवारमा सिर्जना हुने सामाजिक जोखिम, यौन हिंसा र अपराधको भयावह पक्ष प्रस्तुत गरिएको छ ।

‘सम्बन्धविच्छेद’ले दाम्पत्य सम्बन्धमा बढ्दै गएको अविश्वास, परस्त्री तथा परपुरुष सम्बन्ध र त्यसबाट उत्पन्न विघटनलाई विषय बनाएको छ । ‘बेरोजगार भत्ता’ले राजनीतिक दलसँगको आश्रित मानसिकता र कामभन्दा सुविधाको अपेक्षा गर्ने प्रवृत्तिमाथि व्यङ्ग्य गरेको छ ।
`पागल बूढो’मा सार्वजनिक रूपमा समाजसेवाको प्रदर्शन गर्ने तर आफ्नै अगाडि दुःखमा परेको वृद्धप्रति असंवेदनशील हुने प्रवृत्तिलाई प्रश्न गरिएको छ । ‘आमाको भोक’ आमाछोराको आत्मीय सम्बन्ध र विछोडको पीडाले भरिएको मार्मिक कथा हो ।

सङ्ग्रहको शीर्ष कथा `भेटी’मा भ्रष्टाचारबाट प्राप्त रकम बाँडफाँडमा कुरा नमिल्दा भण्डाफोर हुने अवस्थालाई प्रस्तुत गरिएको छ । मन्त्री, व्यापारीलगायत भ्रष्ट कारोबारमा संलग्न पात्रहरूको भयमार्फत कथाले भ्रष्टाचारको जालोमाथि व्यङ्ग्य गरेको छ ।

`चमेलीको चरित्र’मा भ्रष्टाचार, कमिसन, मिलेमतो र यौनिक प्रभावका माध्यमबाट शक्तिशाली व्यक्तिहरूलाई प्रभावित पार्न सक्ने पात्रको चित्रण छ । ‘स्वाभिमान’ले सार्वजनिक रूपमा युवालाई स्वदेशमै बस्न आह्वान गर्ने तर आफ्नै सन्तानलाई विदेश जान दबाब दिने दोहोरो चरित्रमाथि व्यङ्ग्य गरेको छ ।

‘टिटानस’मा गरिब परिवारको बालकको पढ्ने चाहना र छोराको भविष्यका लागि बाबुले गरेको त्याग अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत भएको छ । ‘नागरिकता’ले किशोरावस्थाको आकर्षण, अनैतिक सम्बन्ध र त्यसले परिवारमा निम्त्याउने दुःखद परिणाम देखाउँछ ।

‘अन्तिम इच्छा’मा छिमेकीबीचको सामान्य विवादभन्दा माथि उठेर मानवीयता र सहयोगको भावना प्रस्तुत गरिएको छ । ‘दशैँको दिन’ वैदेशिक रोजगारी तथा बसाइँसराइका कारण वृद्ध बाबुआमा र विदेशमा रहेका सन्तानबीच बढ्दै गएको दूरीको हृदयविदारक कथा हो ।

सङ्ग्रहको अन्तिम कथा ‘ज्याला’ले श्रमिक वर्गमाथि हुने शोषणलाई विषय बनाएको छ । श्रम गरेबापत पाउनुपर्ने ज्यालासमेत कटौती गरिने अवस्थाले नेपाली समाजमा अझै विद्यमान श्रमशोषणको कठोर यथार्थलाई देखाउँछ ।

सङ्ग्रहका विशेषता

‘भेटी’को सबैभन्दा महत्वपूर्ण विशेषता यसको समसामयिकता हो । कथाकारले वरिपरि देखिएका सामान्य घटना, सामाजिक व्यवहार र विसङ्गतिलाई लघुकथाको विषय बनाएकी छन् । भ्रष्टाचार, राजनीतिक विकृति, गरिबी, श्रमशोषण, पारिवारिक विघटन, शिक्षा क्षेत्रका समस्या, महिला हिंसा, अन्धविश्वास, देखासिकी, सामाजिक सञ्जालको प्रभावलगायत विषय कथासङ्ग्रहमा आएका छन् ।

भाषाशैली सरल, सहज र सामान्य बोलीचालीको छ। जटिल विषयलाई पनि सहज रूपमा प्रस्तुत गर्न सक्नु कथाकार ‘विनु’को खुबी हो । अधिकांश कथामा व्यङ्ग्यात्मक चेतना देखिन्छ भने कतिपय कथाले पाठकलाई भावुक पनि बनाउँछन् ।

यद्यपि…

पहिलो कृतिका रूपमा ‘भेटी’का केही सीमाहरू पनि छन्। कतिपय कथामा भाषाशैली तथा वाक्यगठनमा सामान्य त्रुटि देखिन्छ । केही स्थानमा कथाको प्रस्तुति अझ कसिलो र प्रभावकारी बनाउन सकिने ठाउँ छन् । कतिपय कथाको अन्त्य अपेक्षाकृत पूर्वानुमान गर्न सकिने खालको पनि छ । यस्ता पक्षलाई आगामी कृतिमा सुधार गर्दै कथाकारले आफ्नो लेखनलाई थप परिष्कृत बनाउने अपेक्षा गर्न सकिन्छ ।

अन्त्यमा

पहिलो कृति प्रकाशन गर्नु आफैँमा चुनौतीपूर्ण काम हो । पहिलो प्रसव पीडा जस्तै पहिलो कृतिको प्रकाशन पनि स्रष्टाका लागि कठिन र महत्त्वपूर्ण अनुभव हुन्छ । त्यस अर्थमा ‘भेटी’को प्रकाशन आफैँमा सकारात्मक उपलब्धि हो ।

सामान्य जीवनका घटना, समाजका विकृति–विसङ्गति र समसामयिक नेपाली परिवेशलाई लघुकथामार्फत प्रस्तुत गर्दै ‘भेटी’ले लघुकथा साहित्यमा आफ्नो सम्मानजनक उपस्थिति जनाएको छ भन्न सकिन्छ । अझ महत्त्वपूर्ण कुरा, यस कृतिले कथाकार विष्णु पन्थी ‘विनु’मा रहेको सामाजिक संवेदना, व्यङ्ग्यचेत र साहित्यिक सम्भावनालाई उजागर गरेको छ ।

यही भदौ २७ गते विष्णु पन्थी ‘विनु’को कविता सङ्ग्रह ‘जेन्जीकी आमा’ पनि प्रकाशित भएको छ । २०८२ भदौ २३ र २४ गते देशमा घटेको विध्वंसकारी आन्दोलन तथा त्यस क्रममा भएको मानवीय क्षतिलाई आधार बनाएर लेखिएको उक्त कृतिको पनि सफलताको कामना गर्दछु ।

कथाकार विष्णु पन्थी ‘विनु’को शैक्षिक पेसाप्रतिको इमानदारिता तथा साहित्यिक–सामाजिक क्षेत्रप्रतिको लगनशीलता अझ बढ्दै जाओस् । उनको साहित्यिक यात्रा निरन्तर उन्नत र समृद्ध बन्दै जाओस् । व्यक्तिगत तथा पारिवारिक सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ।

लेखनी थामेँ है ।

“सर्वे भवन्तु सुखिनः´´

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट