महोदय, दलित साहित्यका बारेमा विमर्श गर्दैमा को सानो भएको छ हँ ?

आरम्भमा आफ्नै कुरा

म जातले नेवार हुँ, यसकारण पनि जात व्यवस्थाका आधारमा म गैर दलित वर्गमा पर्छु । म आजभन्दा साँढे पाँच दशक अगाडि तनहुँ जिल्लाको पुर्कोटमा पर्ने केवल नेवारको बस्ती भएको खरीपानी गाउँमा जन्मेको हुँ । मेरो गाउँमा भएका १०–१२ घर पुरै नेवारका भएको हुँदा मेरो भोगाइ दलितका भोगाइसँग मेल नखानु स्वाभाविक हो । मेरो वरिपरि दलित नभएका कारण मलाई दलितहरुका कतिपय भोगाइका कुरा थाहा छैन । त्यति हुँदा पनि मैले दलितका बारेमा बोल्नै हुँदैन, लेख्नै हुँदैन भन्ने सङ्कीर्ण मानसिकताबाट भने म पर छु भन्ने कुरामा भने म ढुक्क छु ।
म सानो हुँदादेखि दलितका बारेमा विभिन्न उखान र लोकोक्तिहरु सुन्दै आएको हुँ । त्यसो त समाज र संस्कृतिका बारेमा सिक्ने भनेकै लोकोक्ति र उखानटुक्काका माध्यमबाट हो । ग्रहण लाग्दा मेरो गाउँका पाकाहरु घाम र जून हेरेर “छोड्दे चमारे छोड्दे !” भनेर कराएको सुन्दा मेरो बालमस्तिष्कमा अनौठो छाप परेकै हो । अझ कसैलाई केही दिन मन नलागे “कामीको पालो पुसमा !” भन्ने गरेको सुन्थेँ, त्यो किन भनेको होला भन्ने जिज्ञासा मनमा उठिरहन्थ्यो । मेरो जिज्ञासाको समाधान कसैले गरिदिएनन् । पछि आफैँ जान्ने र बुझ्ने भएपछि अझ भनौँ स्नातकोत्तर तहमा पुगेर विभिन्न वादका बारेमा सैद्धान्तिक कुरा पढ्न थालेपछि बल्ल दलितका समस्या केकस्ता हुन्छन् ? भन्ने बारेमा धेरथोर जान्न थालेको हुँ । त्यहाँ पढेकै आधारमा म दलितका बारेमा जान्ने भने भएको छैन ।

अलिकति दलितहरुसँग बसउठका कुरा

हाम्रो परिवार तनहुँ अर्थात् पहाडबाट मधेस अर्थात् चितवन बसाइँ झर्दा मेरो उमेर नौ वर्षको मात्र थियो । त्यतिबेलासम्म पहाडमा मेरा एक जना पनि दलित साथी थिएनन् । त्यतिबेला हाम्रोतिर एक जातका मान्छेहरुको बसोबास एउटा गाउँमा हुन्थ्यो । स्कुल जाँदा ओरालो झर्ने क्रममा ढकाल गाउँ कटेर जानुपथ्र्यो । हाम्रो गाउँको पूर्वपट्टि राना गाउँ थियो भने पश्चिमपट्टि नेवारहरुकै बस्ती रहेको काउरेपानी थियो । हाम्रो गाउँबाट केही माथि महत गाउँ र थापा गाउँ थियो । ती कुनै पनि गाउँ दलितहरुको बस्ती थिएन । त्यसो त हाम्रोमा लुगा सिउने र हात हतियार अर्चाप्ने कामका लागि बालीघरेहरु थिए । उनीहरु हिउँदमा बाली उठाउन आउँथे । हाम्रो परिवार आफूलाई खान पुग्ने मध्यम आर्थिक हालतको भएको हुँदा जुत्ता बनाउनका लागि भने बालीघरे थिएन ।

यतिबेला कपडा सिउने र हतियार अर्चाप्नेहरुको नाम सम्झिन्नँ म । बालीघरे नभए पनि बारी जोत्नका लागि भने एक जना चर्मकार बुढा आउने गरेको सम्झन्छु । घटना हामी बसाइँ हिँड्नु अघिल्लो वर्षको चैततिरको हो । शनिबार भएको हुँदा स्कुल जानु नपरेकाले म त्यो दिन घरमै थिएँ । ती चर्मकार दिउँसो फुर्सद भएकाले मेरो हजुरबासँग गफ गर्न भनेर दिउँसोतिर आए, अझ भनौँ उकालो लागे । उनको घर कतै बेसीतिर थियो । उनले मेरो हजुरबालाई “जदौ मालिक !” भन्दै अभिवादन गरेर ढुङ्गाको पर्खालमा टुसुक्क बसे । कुरा अगाडि बढाउने क्रममा उनले थपे, “दसैँ तिहार कुरा गर्नुस् न बराजु, नखाए पनि खाएजस्तै हुन्च ।” त्यतिबेला मैले उनको कुराको मेसो पाइनँ । यतिबेला अलिअलि बुझ्न खोज्दै छु । पुरै बुझ्नेचाहिँ अझै भएको छैन ।

दलितका बारेमा मेरोभन्दा फरक अनुभूति रहेछ लेखक पूर्णबहादुर अधिकारीको । उनी आफ्नो पछिल्लो कृति ‘देब्र हात’ निबन्ध (२०८३) मा समाविष्ट ‘कोही अछूत कसरी र किन ?‘ शीर्षकको निबन्धमा दलितसँग बसउठका बारेमा यस्तो लेखेका छन् :
“म जन्मे–हुर्केको समाजमा दमै, कामी र सार्कीहरु थिए । ती बाहुन, क्षेत्रीका घरमा आए पनि आँगनमै बस्थे, उनीहरुलाई खाजा, खाना र पानी पिउन पनि आँगनमै दिइन्थ्यो । तिनै अछूतहरुमध्ये दमैले कपडा सिलाउँथे र बाहुन–क्षेत्रीहरु लगाउँथे । कामीले पकाउने भाँडा बनाउँथे र तिनै भाँडाहरुमा बाहुन–क्षेत्रीहरु पकाएर खान्थे, सार्कीहरु छालाका जुत्ता बनाउँथे, तिनै जुत्ता बाहुन–क्षेत्रीहरु लगाउँथे । तिनै अछूतहरु बाहुन–क्षेत्रीका हली र गोठाला हुन्थे । ती हलीले जोतेर उत्पादन गरी दिएको धान, मकै आदि अन्नहरु पनि नछोइने भएरै तिनका भकारीमा भित्रिन्थे ।” (पृ. ३९)
सोही निबन्धमा छोइछिटो हाल्ने सन्दर्भलाई लिएर उनी यस्तो थप्छन् :
“बाल्यकालमा मेरा असाध्यै मिल्ने साथीहरु थिए– दामोदर दमाइका छोराहरु काले र गाइने । उनीहरुको वास्तविक नाम के थिए, अहिले मैले भुलेँ । हामी सँगै स्कुल पढ्थ्यौँ । …. हाम्रो हल्ला–खल्ला सुनेर हजुरआमा पनि अङ्खोरा लिएर आउनुहुन्थ्यो पिँढीमा र हत्केलामा पानी खन्याएर कानको सुन (मारवाडी)मा छुवाएर हामीलाई छर्किदिनुहुन्थ्यो र त्यसपछि हामी (भाइहरुसमेत) चोखा हुन्थ्यौँ ।” (पृ. ४०)
साँच्चै हाम्रा पुर्खाले यसरी दलितसँग छोइँदा छोइछिटो हालेपछि के हामी चोखो भयौँ त ? सुनपानी छर्केर अरु कथित उच्च जातिका मान्छे मात्रै कसरी चोखो हुन्छ ? दलितचाहिँ किन चोखो हुँदैन । यसका बारेमा कुनै नयाँ–पुराना ’मनुस्मृति‘मा लेखिएको छ कि छैन होला ?

नेपाल प्रज्ञाप्रतिष्ठानले ल्याएको तरङ्गका कुरा

हिजोआज मैलेचाहिँ दिनमा केही घन्टा सामाजिक सञ्जालका लागि छुट्याउने गरेको छु । त्यसो त अचेल सूचनाको मुख्य स्रोत नै त्यही बनेको छ । हामी लेखक–पाठकहरु अपडेट त हुनैपर्‍यो नि हैन त पाठकबृन्द ? यस्तैमा सायद प्राज्ञ दीपक समीपले हो क्यार, मिति २०८३-०६-१२ मितिमा तयार पारिएको नेपाल प्रज्ञा प्रतिष्ठानको सूचना सार्वजनिक गरेको देखेँ । त्यसमा कर्णाली प्रदेशका स्थायी बासिन्दा र दलित समुदायका व्यक्तिले निवदेन दिन पाउने खालको सूचन थियो । के रहेछ ? भनेर पढ्दा त्यो त दलित साहित्य विमर्श पो रहेछ । त्यसपछि त्यो सूचनालाई लिएर पक्ष र विपक्षमा थुप्रै स्टाटसहरु आए । विपक्षमा लेख्नेहरुले बाहुन साहित्य, त्यसमा पनि उपाध्याय बाहुन साहित्यको बारेमा पनि चर्चा गरेको पाएँ । यहाँ म त्यस्ता छुद्र विचारलाई साभार गर्न असमर्थ छु । अझ केही लेखक साथीहरु आफूले दलितका बारेमा लेखेको छु, मेरो फलानो किताब पढ् भन्ने आदेश दिँदै दलित साहित्य आवश्यक छैन भन्ने कुतर्कमा उभिएको पनि पाएँ । साथीहरुको त्यस्तो दरिद्र मानसिकता देखेर दया लागेर आयो ।

बहस सुरु भएपछि विपक्षमा मात्र होइन पक्षमा पनि कोही न कोही त उभिन्छ नै । हो, तिनमा कविहरुमध्ये गैरदलित वर्गका अभय श्रेष्ठ, भूपिन, उषा शेरचन, मनु मञ्जिल, छवि अनित्य, जीवन जीवन्त तथा दलित समुदायका सतिसालले यसका पक्षमा खुलेरै प्रशंशा गरे । भारतीय नेपाली कवि, निबन्धकार तथा पत्रकार मनोज बोगटीले त भारतीय पत्रिका तथा पुस्तकको फोटो नै राखेर ती किताब पढ्न सुझाउ समेत दिए । पाठकवृन्द, म यहाँ एउटा गाँठी कुरा गर्छु ल, हिजोआज हामी नेपाली लेखकहरु पढ्छौँ कम, बोल्छौँ ज्यादा । यो रोग हटेसम्म स्वस्थ बहस कसरी होला र ?

नेपाली साहित्यमा दलितका मुद्दाका कुरा

नेपाल प्रज्ञाप्रतिष्ठानको सूचनापछि यतिबेला फेसबुकमा नेपाली साहित्यमा दलितका सन्दर्भमा चर्को बहस चल्ने गरेको छ । इतिहासको कुरा कोट्याउँदै कतिपय साथीहरु २०११ मा प्रकाशित ‘को अछूत ?’ उपन्यासलाई भुसुक्कै बिर्सेर २०१५ सालको ‘चिसो चुल्हो’लाई पहिलो र उत्कृष्ट दलित साहित्य प्रमाणित गर्न लागिपरेको पनि पाएँ । ती साथीहरुले अर्को वर्षको ‘मदन पुरस्कार’ पाउने लालसा त राखेका छैनन् कतै ? नत्र इतिहास यसरी बङ्ग्याउन पाइन्छ ?
अनि प्रज्ञाप्रतिष्ठानले सङ्ख्यात्मक सीमा कारण होला, दलित नै हुनुपर्ने सर्त अघि राखेको । नत्र त दलित साहित्य भनेको दलितले मात्रै लेखेको हुनुपर्ने हो कि ? अन्य जातिकाले पनि लेख्दा हुने हो ? त्यसो त दलितले लेखेको सबै साहित्य हुन्छ र ? अनि गैर दलितले दलितका मुद्दामा लेखेमा त्यो दलित साहित्य नबनेर के बन्छ ? मेरो विचारमा दलितका मुद्दामा दलितले राम्रो बहस गर्न सक्छ, तर अरु कसैले त्यो मुद्दामा काम गरेको छ भने त्यो पनि त दलित साहित्य हो ।

पाठकवृन्द, तपाईंले पछिल्लो चोटि पढेको दलित साहित्य कुन हो नि ? मैले पढेकोचाहिँ नवीन अभिलाषीको ‘दहाड’ कथासङ्ग्रह हो । मलाई मनपरेका केही दलित साहित्यको कुरा गर्ने हो भने किसान प्रेमीको ‘चेतना’ खण्डकाव्य सबैभन्दा मन परेको कृति हो भने आहुतिको वार्तासङ्ग्रह ‘जात वार्ता’ पनि त्यतिकै मन परेको कृति हो । त्यसो त नेपालमा दलित वर्गका लेखकै कति छन् र ? त्यसमा पनि तिनले लेखेका सबै कृति दलितका मुद्दामा छन् कि छैनन् ? त्यसका बारेमा हेर्नुपर्‍यो नि हैन र ?

चितवनको दलित साहित्यका कुरा

त्यसो त चितवन आदिवासी थारु र चेपाङलाई छाडेर बाँकी बसाइसराइँ गरेर आएका व्यक्तिहरुको जिल्ला हो । त्यसरी बसाइँ आएका यहाँका दलित जातिमा बराली, रसाइली, सुनार, विश्वकर्मा, परियार, नेपाली, गायक, अछामीलगायतका विभिन्न थरका मानिसहरु बस्ने गर्छन् । यतिबेला बजारमा पनि उनीहरुको व्यापारिक उपस्थिति राम्रै छ । तर साहित्यमा भने निकै पातलो उपस्थिति रहेछ भन्ने कुरा यो लेख्ने क्रममा बल्ल थाहा भयो । मेरो खोज साँघुरो होला, तर मैले भेटेका चितवनका दलित जातिबाट साहित्यमा लागेका महानुभावहरु यतिभन्दा भेट्न सकिनँ :
१ं स्व. रुपलाल विश्वकर्मा ः उनी मूलतः राजनीतिकर्मी हुन्, तर पनि उनका केही फुटकर कविता र गीतहरु पत्रपत्रिकामा छरिएर रहेका छन् ।
२. स्व. प्रेमकुमार बराइली : उनी पुराना पुस्ताका कवि हुन् । उनले नेपाली फुटकर कवितामा काम गरेका छन् । उनको एउटा कविता सङ्ग्रह प्रकाशित भएको जानकारी पाइन्छ ।
३. रणेन्द्र बराली : उनी राजनीतिकर्मी, दलित मुक्तिका अभियन्ता तथा स्वतन्त्र व्यवसायीजस्ता विविध परिचय बनाएका व्यक्ति हुन् । त्यसो त नेपाली साहित्यमा उनी साहित्यकार तथा अन्वेषकसमेत हुन् । उनी दलित विमर्शमा समेत लामो समयदेखि क्रियाशील छन् । उनले नेपाली कविता, नाटक र आख्यानमा निकै काम गरेका छन् । उनको ‘इतिहासको एक पैका’ उपन्यासले रुपलाल विश्वकर्माका बारेमा उठान गरी दलितका विषयमा चर्चा गरेको छ ।
४. किसान प्रेमी : पेसाले सेवानिवृत्त निजामति कर्मचारी, पूर्व फुटबल खेलाडी तथा राष्ट्रिय कोचसमेत रहेका किसान खाती नेपाली साहित्यमा किसान प्रेमीका नामले सुपरिचित छन् । उनी कविता, गीत, गजल, लघुकथा, खण्डकाव्यजस्ता गद्य र पद्यका विविध विधामा सक्रियतापूर्वक कलम चलाइरहेका छन् । आधा दर्जनभन्दा बढी एकल कृति प्रकाशित गराइसकेका उनको साहित्यिक सक्रियता निकै लोभलाग्दो देखिन्छ । उनको ‘चेतना’ खण्डकाव्य पूर्णतः दलित विषयक लेखन हो भने अन्य कृतिमा दलितका बारेमा केही मात्र उठान गरिएको पाइन्छ ।
५. कृष्ण बि.क.‘सतिसाल’ : फरक धारको राजनीतिमा सक्रिय कमरेड सतिसाल नेपाली साहित्यमा कृष्ण बि.क., सतिसा आदि नामले क्रियाशील स्रष्टा हुन् । उनी मूलतः कविता र गजलमा क्रियाशील स्रष्टा हुन् । उनको काव्यलेखन र गायन दुबै प्रभावकारी छ । उनको ‘भोकको लय’ शीर्षकको कविताकृति प्रकाशित छ ।
६. अमृता रसाइली रामदाम : पेसाले व्यवसायी अमृता रसाइली रामदाम गीत, गजल र नेपाली नयाँ विधाका रुपमा सङ्घर्षरत चारुमा क्रियाशील स्रष्टा हुन् । उनका तीज गीतका अतिरिक्त, ‘खण्डित इन्द्रेणी’ नामको चारुसङ्ग्रह प्रकाशित छ ।
७. राजेन्द्र हमाल : रत्नगगर नगर निवासी राजेन्द्र हमाल मूलतः कलाकार हुन् । यतिबेला आफ्नै पेसा व्यवसाय गरेर बसेका उनी राजनीतिक रुपमा रत्ननगर नगर परिषद्का सदय रहेका छन् । उनी राम्रो गायक हुनुका साथै कविता, गीत र गजलको सिर्जनामा पनि तल्लीन छन्, तर पनि आजका मितिसम्म उनको एकल कृति भने प्रकाशित भएको पाइँदैन ।
८. गोविन्द विश्वकर्मा : बाम राजनीतिमा सक्रिय गोविन्द विश्कर्मा रत्ननगर नगरपालिकाको सौराहा निवासी हुन् । उनको कृति प्रकाशित नभए पनि दलित विषयक थुप्रै फुतकर कविताहरु पत्रपत्रिकामा प्रकाशित रहेका छन् ।
९. बाबुराम प्यासी : भरतपुर महानगरपलिकाअन्तर्गत मङ्गलपुर निवासी बाबुराम प्यासी आजीवन बाम राजनीतिमा क्रियाशील व्यक्ति हुन् । उनले आफ्नो दलित वर्गको मुक्तिका लागि फुटकर रुपमा गीत र कविताहरु रचना गरी त्यतिबेलाका विभिन्न पत्रपत्रिकामा प्रकाशित गराएको भए पनि एकल कृति भने आजका मितिसम्म प्रकाशित भएको पाइँदैन ।

१०. शिवजी गायक : चितवनको माडीमा जन्मी हुर्केका शिवजी गायकले सञ्चारकर्मीको रुपमा लामो समय काम गरेको भए पनि यतिबेला उनी समाजसेवामा लागिपरेका छन् । उनको कृति प्रकाशित नभएको भए पनि फुटकर कविताहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित भएको पाइन्छ ।
११. स्व. महावीर विश्वकर्मा : युवाअवस्थामै मोटरसाइकल दुर्घटना ज्यान गुमाएका चितवनका चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माका केही गजल र मुक्तकहरु फुटकर रुपमा पत्रपत्रिकामा छरिएर रहेका छन् । तिनले कृतिगत आकार भने पाउन सकेका छैनन् ।

यो सूची यतिमै सीमित राख्ने कि नयाँ पुस्ता पनि यसमा थपिँदै जाने हो ? चितवनका दलित महिलाहरु साहित्यका माध्यमबाट कहिले उजागार हुने हो ? यसका लागि स्वयम् दलितहरु, दलित अभियन्ताहरु र जातीय मुक्तिका लागि काम गर्ने संस्थाहरुले के गर्नसक्छन् ? यसका बारेमा अब खुलेर बहस गर्ने बेला भएन र ? रणेन्द्र बरालीजस्ता पाका तर क्रियाशील स्रष्टाहरु जाग्ने कतिबेला हो ? म गैर दलित भएर पनि व्यघ्र प्रतीक्षामा छु । अनि तपाईं नि पाठकवृन्द ?

चितवनका साहित्यिक संस्थाले गर्नुपर्ने दलित साहित्यको विमर्शका कुरा

अन्त्यमा, पाठकवृन्द, चितवन अरुभन्दा पृथक् छ भन्ने कुरा यहाँलाई थाहै होला । यहाँ नेपालका छवटा महानगरपालिकामध्ये एउटा भरतपुर महानगगरपालिका छ । यही पालिकाको बजेटले चल्ने भरतपुर महानगर प्रज्ञाप्रतिष्ठान भन्ने भाषा, साहित्य र कलासँग सम्बन्धित काम गर्ने संस्था वि.सं. २०७८ देखि क्रियााशील छ भन्ने कुरा यहाँलाई थाहा छ कि छैन ? यदि छैन भने थाहा पाइराख्नु होला । त्यो संस्थाले साहित्यिक कार्यक्रम गर्ने मात्र नभएर दर्तावाल संस्थालाई कार्यक्रम गर्नका लागि केही आर्थिक सहयोग पनि गर्ने गरेको छ । पत्रिका प्रकाशनदेखि पाण्डुलिपि प्रोत्साहनसम्मका यसका कार्यक्रमहरु निकै रुचाइएका छन् । प्रकारान्तले स्थापना कालदेखि आजका मितिसम्म यसको सदस्य सचिवका रुपमा बालकृष्ण थपलिया कार्यरत छन् ।

अब पाठकलाई किनाराको साक्षी बनाएर उनलाई मेरो एउटा अहम् प्रश्न छ, “बालकृष्णजी, तपाईं लामो समयदेखि चितवनमा हुनुहुन्छ । यहाँलाई थाहा छ, चितवन भनेको समावेशीहरुको नमुना जिल्ला हो । यहाँ थारु र चेपाङ मात्र होइन, दलितको पनि राम्रो उपस्थिति छ । यस्तोमा भरतपुर प्रज्ञाप्रतिष्ठानले दलित साहित्य विमर्शचाहिँ कहिले गर्छ ? कि केन्द्रले कर्णालीमा गर्दै छ त । त्यति भए पुगिहाल्यो भनेर हात बाँधेर बस्ने हो ?”

म भरतपुर महानगरको मात्र मुख ताक्ने पक्षमा छैन । दलित मुक्ति मोर्चा के हेरेर बसेको छ ? के दलितसँग सम्बन्धित विभिन्न संस्थाको काम एनजिओ चलाउने मात्र हो कि ? साहित्यमा लगानी पनि गर्ने हो ? नयाँ लेखक उत्पादन गर्नका लागि दलित बस्तीमा कहिले जाने ? लखेर थन्किएका दलितका कृतिलाई प्रकाशन गराउन कहिले तात्ने ? यसका बारेमा बहस हुनुपर्छ । अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ? यसलाई बेलैमा सोच्ने कि त ? बढी बोलेको भए माफ पाऊँ । चरैवेति । चरैवेति ।

भरतपुर, चितवन
२०८३ असोज १९ गते

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट