त्रिवेणी, १७ असोज ।
नवलपुरको त्रिवेणीमा श्री वैदिक विश्वविद्यालय स्थापना गर्ने लक्ष्यसहित एकमहिने अष्टाचल धनधान्याचल श्री गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ आयोजना हुने भएको छ ।
त्रिवेणीमा रहेको श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई विस्तार गरी महाविद्यालयका रूपमा विकास गर्ने र त्यसैलाई आधार बनाएर वैदिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले आगामी मंसिर १ गतेदेखि २९ गतेसम्म महायज्ञ आयोजना गर्न लागिएको हो ।
परमश्रद्धेय मुक्तिनाथ पीठाधीश १००८ स्वामी कमलनयन आचार्यको सत्सङ्कल्पमा सञ्चालन हुँदै आएको वेदविद्याश्रमलाई वैदिक शिक्षा, संस्कार, संस्कृति तथा अध्यात्मको अध्ययन–अनुसन्धानको प्रमुख केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। विश्वविद्यालय स्थापनाका लागि आवश्यक स्रोत व्यवस्थापनसँगै जनसहभागिता जुटाउने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको स्वामी आचार्यले जानकारी दिनुभयो ।
महायज्ञलाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी वैदिक धर्म, संस्कृति, शिक्षा र सामाजिक एकताको अभियानका रूपमा अघि बढाइने आयोजकको भनाइ छ । महायज्ञ अवधिमा आर्थिक सहयोग संकलनसँगै दैनिक रूपमा विभिन्न धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक कार्यक्रम सञ्चालन गरिने गजेन्द्रमोक्ष दिव्य धामका पीठाधीश कृष्ण प्रपन्नाचार्यले बताउनुभयो ।
महायज्ञका क्रममा सनातन वैदिक धर्म महासम्मेलन, कन्या तथा बटुक पूजन, पाँच करोड दीप प्रज्वलन, गण्डकी पूजन, सामूहिक शालिग्राम पूजन र सयौँ गौमाताको सामूहिक पूजन लगायतका कार्यक्रम हुनेछन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त धर्माचार्य, विद्वान् तथा आचार्यहरूबाट शास्त्रीय प्रवचनसमेत हुने आयोजकले जनाएको छ ।
महायज्ञको मुख्य आकर्षणका रूपमा विशेष संरचनासहित धनधान्याचल र अष्टाचल मौलो स्थापना गरिने भएको छ। यज्ञस्थलमा २५ फिट अग्लो धनधान्याचल मौलो तथा पाँच–पाँच फिट अग्ला आठ वटा अष्टाचल मौलो स्थापना गरिने स्वामी कमलनयन आचार्यले जानकारी दिनुभयो ।
विश्वविद्यालय स्थापनाजस्तो दीर्घकालीन अभियानका लागि समाजका सबै वर्ग, क्षेत्र र समुदायको सहभागिता आवश्यक रहेको भन्दै आयोजकले ‘मुठीदान’ अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेको छ। महायज्ञलाई व्यवस्थित रूपमा सञ्चालन गर्न देशका विभिन्न स्थानमा समिति तथा उपसमिति गठन गर्ने कामसमेत भइरहेको जनाइएको छ ।
महायज्ञको तयारी तथा यज्ञ सम्पादनसम्बन्धी जानकारी गराउन आयोजित भेलामा अखण्ड ज्योति बाबा श्रीजी च्यारिटेबल ट्रस्टका अध्यक्ष एवं उद्योगपति कृष्ण शर्मा, त्रिवेणीधाम विकास समितिका अध्यक्ष झपेन्द्रस्वर भुसाल, ट्रस्टका पदाधिकारी, विभिन्न वडा तथा पालिकाका प्रतिनिधि, उद्योगी–व्यवसायी, शिक्षाकर्मी, पत्रकार तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो।
भेलामा सहभागीहरूले त्रिवेणीमा वैदिक विश्वविद्यालय स्थापना गर्ने अभियान महत्वपूर्ण रहेको भन्दै महायज्ञ सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा विश्वविद्यालय स्थापनाका लागि आवश्यक पूर्वाधार, शैक्षिक वातावरण र संस्थागत विकासका विषयमा समेत छलफल भएको थियो ।
आयोजकका अनुसार विश्वविद्यालयलाई वैदिक शिक्षा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनसँगै आधुनिक शिक्षासँग जोडेर अध्ययन–अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
यज्ञ मूल आयोजक समितिका संयोजक एवं मुक्तिनाथ पीठाधीश स्वामी कमलनयन आचार्यले त्रिवेणीमा वैदिक विश्वविद्यालय स्थापना गर्ने अभियानलाई सबैको साझा अभियान बनाउनुपर्ने बताउँदै महायज्ञ सफल बनाउन विभिन्न समिति तथा उपसमितिमा रहेर जिम्मेवारी निर्वाह गर्न इच्छुक व्यक्ति तथा संस्थालाई आग्रह गर्नुभयो।
महायज्ञमा देश तथा विदेशमा रहेका धर्मप्रेमी, शिक्षाप्रेमी, उद्योगी–व्यवसायी, सामाजिक व्यक्तित्व तथा सर्वसाधारणलाई सहभागी भई सहयोग गर्न आयोजकले अपिल गरेको छ ।





