वैदिक ज्योतिषशास्त्रमा सूर्यादि गरिएका ग्रहहरूद्वारा विभिन्न राजयोगको कुरा शास्त्रमा वर्णित गरेको पाइन्छ । विशेषतः विपरीत राजयोगको सन्दर्भमा तृक् भावको विशेष भूमिका रहन्छ । विपरीत अर्थात् असम्भव स्थानबाट निर्माण हुने राजयोग हो ।

अष्टमस्थान र द्वादशस्थान अशुभ अर्थात् दुःस्थान हो । कुनै पनि जातकको जन्मकुण्डलीमा यदि षष्ठेश तृक् भावमा नै विद्यमान भएको अवस्थामा विपरीत राजयोगको निर्माण हुन्छ । ज्योतिषशास्त्रमा विभिन्न प्रकारका विपरीत राजयोगको व्याख्या गरेको पाइन्छ । विपरीत राजयोगको प्रकारमा शास्त्रले तिन प्रकारको बताएको छ ।

हर्ष नामक राजयोग

यदि कुनै पनि जातकको जन्मकुण्डलीमा षष्ठेश, अष्टम वा व्ययभावमा गएर बस्छ भने यस्तो अवस्थामा हर्ष नामक विपरीत राजयोग बन्छ । यदि शुभ ग्रहको सम्बन्ध भयो भने विपरीत राजयोग प्रभावशाली हुँदैन । पूर्ण रूपमा पाप पीडित, अस्त, शत्रुक्षेत्री (शत्रुक्षेत्री अर्थात् शत्रु ग्रहमा बसेको ग्रहहरूको आपसी सम्बन्धमा दोषयुक्त सम्बन्ध । जस्तै :- चन्द्रमा १० अङ्कमा भए १० अङ्कको स्वामीग्रह शनि हो । शनि चन्द्रमालाई शत्रु मान्छ त्यस्तै हो ।) भएको सन्दर्भमा पूर्ण प्रभावशाली हर्ष योग बन्छ भने यस्तो अवस्थामा सकारात्मक फल प्राप्त हुन्छ । जति षष्ठेश कमजोर रहन्छ वा पापसम्बन्धमा रहन्छ यस्तो अवस्थामा बलवान् हर्ष योग मानिन्छ किनभने जति विष कमजोर वा जति विष थोरै त्यही नै उत्तम मानिन्छ । यहाँ पनि विष शब्दलाई त्रिक् भावसँग जोड्न सकिन्छ । मन्त्रेश्वर महाराजले फलदीपिका ग्रन्थमा यसलाई यसरी व्यक्त गर्नु भएको छ :-

सुखभोगभाग्यदृढगात्रसंयुतः ।
निहताहितो भवति पापाभीरुकः ।।
प्रथितप्रधानजनवल्ल्भो धन ।
द्धुतिमित्रकीर्तिसुतवांश्च हर्षजः ।।

हर्षयोगमा जन्मेको व्यक्ति सुखभोगी, भाग्यवान्, बलियो शरीरयुक्त, शत्रुहरूलाई परास्त गर्ने, पापकर्मदेखि भयभीत, प्रतिष्ठित तथा प्रधान व्यक्तिहरूको प्रिय हुन्छ । धन, तेज, मित्र, कीर्ति र सन्तानले सम्पन्न भई जीवनमा सुख, सम्मान र समृद्धि प्राप्त गर्दछ भन्ने कुरा शास्त्रमा वर्णन गरिएको पाइन्छ ।

सरल नामक राजयोग

कुनै पनि जातकको जन्मकुण्डलीमा अष्टमस्थानको स्वामी (अष्टमेश) षष्ठस्थानमा वा व्ययभावमा गएर पाप पीडित, पापग्रहको दृष्टि वा कमजोर भएको सन्दर्भमा सरल नामको विपरीत राजयोग निर्माण हुन्छ ।

दीर्घायुष्मान् दृढमतिरमयः श्रीमान्विद्ध्यासुतधन्सहितः ।
सिद्धारम्भो जितरिपुरमलो विख्याताख्यःप्रभवति सरले ।।

सरल नामक राजयोगमा जन्मेको व्यक्ति दीर्घायु, दृढबुद्धि, सुखी, श्रीसम्पन्न, विद्या, सन्तान र धनयुक्त हुन्छ । आफ्ना कार्यमा सफल, शत्रुहरूमाथि विजयी, निष्कलङ्क, निर्मल आचरणयुक्त तथा प्रसिद्ध नाम र प्रभाव भएको व्यक्ति हुन्छ ।

विमल नामक राजयोग

कुनै पनि जातकको जन्मकुण्डलीमा व्ययेश यदि षष्ठस्थान वा अष्ठमस्थानमा पाप पीडित भएर बसेको अवस्थामा विमल नामक विपरीत राजयोगको निर्माण हुन्छ ।

किञ्चिद् व्ययो भुरिधनाभिवृद्धिम् ।
प्रयात्ययं सर्वजनानुकूल्यम् ।।
सुखी स्वतन्त्रो महनीयवृत्तिः ।
गुणैः प्रतीतो विमलोद्भवः स्यात् ।।

विमलयोगमा जन्मेको व्यक्ति थोरै खर्च गर्ने, प्रशस्त धन वृद्धि गर्ने, सबैको अनुकूलता प्राप्त गर्ने, सुखी र स्वतन्त्र हुन्छ । उसको आचरण सम्माननीय तथा गुणयुक्त हुन्छ र ती गुणहरूका कारण समाजमा प्रतिष्ठित, प्रसिद्ध एवम् आदरणीय बन्छ भन्ने कुरा फलदीपिकाग्रन्थमा व्याख्या गरिएको पाइन्छ ।

विपरीत राजयोग क्षेत्र सम्बन्धबाट पनि सिर्जना भएको पाइन्छ । यदि षष्ठेश र अष्टमेशसँग वा व्ययेशसँग व्यत्यस्ताश्रयसम्बन्ध निर्माण भएको छ भने यस्तो अवस्थामा प्रभावशाली विपरीत राजयोगको निर्माण हुन्छ । यदि अष्टमेश व्ययेशसँग वा षष्ठेशसँग स्थानपरिवर्तन गरेको सन्दर्भमा यो योग निर्माण हुन्छ र व्ययेश षष्ठसँग वा अष्ठमेशसँग भावपरिवर्तन गरेको सन्दर्भमा विपरीत राजयोग हुन्छ र अन्यभावेश शुभग्रहको दृष्टि नभएको अवस्थामा, पापपीडित भएको सन्दर्भमा विशेष योगकारी रहन्छ । शास्त्रप्रमाण यस प्रकार रहेको छ :-

रन्ध्रेशो व्ययषष्ठगो रिपुपतौ रन्ध्रे व्यये वा स्थिते ।
रिःफेशोऽपि तथैव रन्ध्ररिपुभे यस्यास्ति तस्मिन् वदेत् ।।
अन्योन्यर्क्षगता निरीक्षणयुताश्चान्यैरयुक्तेक्षिताः ।
जातोऽसौ नृपतिः प्रशस्तविभवो राजाधिराजेश्वरः ।।

अष्टमेश षष्ठ वा द्वादश भावमा, षष्ठेश अष्टम वा द्वादश भावमा तथा द्वादशेश षष्ठ वा अष्टम भावमा स्थित हुँदा विपरीत राजयोग बन्छ । यी त्रिकेशहरूबीच परस्पर राशि-सम्बन्ध, युति वा दृष्टि हुनुपर्छ र अन्य ग्रहको युति वा दृष्टि हुनुहुँदैन । यस्तो योगले विपरीत परिस्थितिबाट उन्नति, वैभव, प्रतिष्ठा तथा अधिकार प्राप्त गराउने शास्त्रीय सङ्केत गर्दछ । जातक प्रशस्त वैभवयुक्त भई राजाधिराजसमान प्रभावशाली हुने भन्ने फल कालिदासले कालामृत ग्रन्थमा वर्णन गर्नुभएको पाइन्छ ।

विशेषतः विभिन्न प्रकारका जति राजयोग निर्माण भए पनि लग्न र लग्नेश बलवान् हुनुपर्छ । यदि लग्न र लग्नेश कमजोर भएको सन्दर्भमा कुनै पनि राजयोग सफल हुनसक्दैन । षड्वर्ग कुण्डली र षड्बलको विचार गरेर शास्त्रीय प्रमाणसहित फलादेश गर्नुपर्ने कुरा शास्त्रमा व्याख्या गरिएको पाइन्छ ।

(लेखक वेद वेदाङ्ग संस्कृत विद्यापीठ देवघाटधाममा अध्ययनरत हुनुहुन्छ ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट