नारायणी कटान र बाढी प्रभावित क्षेत्रको मुख्यमन्त्री थापाद्वारा निरीक्षण

चितवन, १३ असोज ।
अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढी र कटानबाट भएको क्षतिको मुख्यमन्त्री किरण थापाले स्थलगत अवलोकन गरेका छन् । बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि मंगलबार चितवनको भरतपुर पुगेका मुख्यमन्त्री थापाले विपद्को कठिन घडीमा प्रदेश सरकार पीडितको साथमा रहेको बताए ।

उनले विपद्जन्य घटनाका कारण प्रभावित भएका परिवारलाई धैर्य रहन आग्रह गर्दै तत्काल उद्धार, सुरक्षित स्थानान्तरण र राहत वितरणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । ‘यो विपद्को घडीमा म सम्पूर्ण पीडित परिवारलाई धैर्य रहन आग्रह गर्दछु । प्रदेश सरकार तपाईंहरूको साथमा छ । बाढी प्रभावितहरूको तत्काल उद्धार, सुरक्षित स्थानान्तरण र राहत वितरण हाम्रो पहिलो प्राथमिकता हो । त्यसलगत्तै हामी पुनर्निर्माणको काममा जुट्नेछौँ,’ उनले भने ।

क्षतिको विवरण संकलन हुँदै
मुख्यमन्त्री थापाले बाढीका कारण क्षति पुगेका सडक, पुललगायतका भौतिक पूर्वाधार तथा नष्ट भएको खेतीयोग्य जमिनको विवरण संकलन भइरहेको जानकारी दिए । क्षतिको यकिन विवरण प्राप्त भएपछि प्रभावितलाई आवश्यक सहयोग तथा पुनस्र्थापनाका कार्यक्रम अघि बढाइने उनको भनाइ छ ।

नारायणी नदीबाट हरेक वर्ष हुने कटान र डुबानको समस्या दीर्घकालीन रूपमा समाधान गर्न ठोस पहल गरिने उनले बताए । नारायणीको कटान तथा डुबानबाट प्रभावित क्षेत्रको संरक्षणका लागि संघीय सरकारसँग आवश्यक समन्वय गरेर गुरुयोजनासहित काम अघि बढाउने उनले बताए ।

छुट्टै विपद् व्यवस्थापन प्राधिकरण बनाउने तयारी
मुख्यमन्त्री थापाले विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार र राहत वितरणको कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश सरकारले छुट्टै ‘विपद् व्यवस्थापन प्राधिकरण’ गठन गरेर काम गर्ने तयारी गरिरहेको जानकारी दिए । ‘नारायणीको यो दीर्घकालीन समस्या समाधानका लागि केन्द्र सरकारसँग आवश्यक समन्वय गरेर गुरुयोजनासहित काम अगाडि बढाइनेछ । हामी प्रदेशमा नै छुट्टै विपद् प्राधिकरण बनाएर काम गर्ने तयारीमा छौँ,’ मुख्यमन्त्री थापाले भने ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट